|

ललितपुर : नेपालको आयोजनामा मंगलबार एसिसी प्रिमियर कप क्रिकेटको प्रतिस्पर्धा काठमाडौंमा शुरु भएको छ। १० एशियाली राष्ट्र सहभागी प्रतियोगिता कीर्तीपुरस्थित त्रिवि क्रिकेट मैदान र मूलपानीस्थित क्रिकेट मैदानमा हुँदै छन्।

नेपालले उदघाटन खेलमा कीर्तिपुरस्थित त्रिवि मैदानमा मलेशियासँग खेलिरहँदा लामो समयदेखि चर्चामा रहेको मूलपानी क्रिकेट मैदानमा पहिलो पटक कुनै अन्तरराष्ट्रिय खेल हुँदैछ। हङकङ र सिंगापुरबीच यही मैदानमा मंगलबार प्रतिस्पर्धा भइरहेको छ। 

दुई दशकदेखि राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्रिकेटका सबै प्रतियोगिता आयोजना हुँदै आएको कीर्तिपुरस्थित त्रिवि मैदानले मात्र नेपालले आयोजना गर्ने राष्ट्रिय र अन्तरराष्ट्रिय प्रतियोगिता धान्न कठिन भएका वेला मूलपानी क्रिकेट मैदानमा एसिसी प्रिमियर कपका खेल हुनु खुशीको कुरा हो। 

केही समयअघि राष्ट्रिय प्रतियोगिता सञ्चालन भइसकेपछि मूलपानी क्रिकेट मैदान कीर्तिपुरको त्रिवि मैदानको गतिलो विकल्प बन्ने आशा जागेको थियो।

एसिसी प्रिमियर कप क्रिकेटका केही खेल यही मैदानमा हुने भएपछि अब त्रिवि मैदानले पनि विकल्प मात्र पाएको छैन‚ भविष्यमा अन्य अन्तरराष्ट्रिय प्रतियोगिता नेपालले आयोजनाका अवसर पाउने र आयोजना गर्न सहज पनि हुने अपेक्षा गर्न सकिन्छ। 

एसिसी प्रिमियर कपका खेल मूलपानीमा भएसँगै यो मैदानमा ओडिआई खेल खेलाउन मान्यता दिलाउने लक्ष्य नेपाल क्रिकेट संघ (क्यान)ले लिएको छ।   

क्यानका अध्यक्ष चतुरबहादुर चन्द अन्तरराष्ट्रिय खेलका लागि आवश्यक पूर्वाधार लगभग तयार भइसकेको दाबी गर्छन्।

‘पिचदेखि ड्रेसिङ रुम, चेन्जिङ रुम‚ शौचालयलगायतका मापदण्ड पूरा भएका छन्,’ उनले भने, ‘मलाई लाग्छ यहाँ खेल राम्रो हुन्छ, क्रिकेटप्रेमी एवं दर्शकले सुरुवाती चरण मानेर यहाँबाट पनि खेलको आनन्द लिने छन्।’ उनका अनुसार यो मैदानलाई ओडिआई खेलका लागि मान्यता दिलाउने लक्ष्य क्यानको छ। 

सरकारले अन्तरराष्ट्रिय स्तरको क्रिकेट रंगशाला बनाउने भनेर मूलपानीलाई राष्ट्रिय गौरवको आयोजनामा नै समावेश गरेको थियो। पछिल्लो समय यो मैदानलाई अन्तरराष्ट्रिय स्तरको बनाउन बजेटमै पनि निरन्तर समावेश गरिँदै आएको छ। 

मूलपानी मैदान तयार भएपछि एसिसीले वर्षमा एउटा दुइटा प्रतियोगिता नेपालमा गर्न दिनैपर्ने दबाब भएको क्यानका कोषाध्यक्ष रोशन सिंह बताउँछन्।

‘यो मैदानमा खेलाउन पाउनु भनेको नेपाली क्रिकेट एउटा अर्को फड्को मार्नु हो,’ उनले भने, ‘यसले कीर्तिपुरको व्यस्तता व्यवस्थापन गर्न सहज हुन्छ र अरु प्रतियोगिता गराउन सक्ने हैसियत पनि नेपालले बनाउँछ।’ 

अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को मापदण्डअनुसार मूलपानीमा साइट स्क्रिन, स्कोर बोर्ड, पवेलियनसँगै दर्शक र मिडिया बस्ने स्थान तथा मैदानबाहिर शौचालय र पार्किङको व्यवस्था भइसकेको क्यानको भनाइ छ। यहाँ १ सय ६० यार्डको आइसिसीको मापदण्डअनुसार मैदानको बाउण्ड्री पनि छ।

मूलपानीको माथिल्लो मैदान अन्तरराष्ट्रिय स्तरका खेलका लागि तयार भएसँगै तल्लो मैदानमा पनि उमेर समूहका प्रतियोगिता आयोजना गर्ने क्यानको तयारी छ।

अहिले निर्माण गरिएको स्टेडियमको ठाउँमा कुनै वेला काठमाडौं उपत्यकाको फोहोर फाल्ने (डम्पिङ साइट) ठाउँका रुपमा तत्कालीन स्थानीय विकास मन्त्रालय मातहतको फोहोरमैला प्रबन्ध तथा स्रोत परिचालन केन्द्रको स्वामित्वमा रहेको थियो।

स्टेडियम निर्माणका लागि २०६० सालमा राष्ट्रिय खेलकुद परिषद् (राखेप)को मातहतमा आएको थियो।

राखेपमा विनोदशंकर पालिखे तत्कालीन सदस्य सचिव र क्यानमा जयनाथ कुमार साह अध्यक्ष रहेका बेला अन्तरराष्ट्रिय क्रिकेट मैदान बनाउने कुरा चलेको थियो।

पालिखेपछि सदस्यसचिव भएका किशोरबहादुर सिंहको पालामा यसले मूर्त रुप पायो। जग्गा खोजी गर्दै जाँदा स्थानीय राजनीतिक दल र मूलपानीका तत्कालीन गाविस अध्यक्ष हरि फुयालको प्रयासमा राखेपमा त्यो जग्गा आएपछि त्यहाँ अन्तरराष्ट्रिय स्तरको रंगशाला बनाउने प्रयास थालिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.