बाहिर निस्कदा मास्क र चस्मा अनिवार्य प्रयोग गर्न सुझाव

|

काठमाडौँ : पछिल्लो एक हप्तादेखि काठमाडौं उपत्यका सहित देशको धेरै ठाउँको वायु प्रदूषण उच्च विन्दुमा पुगेको छ। वातावरण व्यवस्था विभागका, वातावरण निरीक्षक गोविन्दप्रसाद लामिछानेका अनुसार हाल काठमाडौँको वायु प्रदूषण १०३ माइक्रोग्रामभन्दा अधिक रहेको छ।

लामिछानेका अनुसार सामान्यतया हावामा ४० माइक्रोग्रामसम्मलाई सामान्य मानिए पनि विगत २४ घन्टामा काठमाडौंको वायु प्रदूषण १०३ माइक्रोग्रामभन्दा धेरै भएर प्रदूषण उच्च विन्दुमा पुगेको बताए।

‘सामान्यतया ४० माइक्रोग्रामसम्मलाई सामान्य मानिने भए पनि गत २४ घन्टामा काठमाडौंको समग्र प्रदूषण १०३ सम्म रहेको छ। यो एकदमै धेरै हो’‚ उनले भने‚ ‘दुई वर्षअघि पनि यो मौसममा काठमाडौंको प्रदूषण उच्च रहेको थियो। त्यस वेला काठमाडौं वायु प्रदूषण २३० सम्म मापन गरिएको थियो।’

उनका अनुसार हाल काठमाडौं उपत्यका सहित बारा, पर्सा, चितवन र गण्डकी प्रदेशमा वायु प्रदूषण उच्च रहेको छ। ‘एक हप्तादेखि उपत्यका सहित बारा, पर्सा, चितवन र गण्डकी प्रदेशमा वायु प्रदूषण उच्च रहेको देखिएको छ। अझै सोमबारदेखि देशको पश्चिम भागमा समेत प्रदूषण बढ्ने क्रममा रहेको देखिएको छ। पानी नपरी रहेको यो समयमा डढेलो लाग्न नरोकिदासम्म वायु प्रदूषण रोकिने अवस्था रहेको छैन’‚ वातावरण निरीक्षक लामिछानेले भने।

पछिल्ला दिनमा चितवन, पर्सा, बारा लगायतका क्षेत्रमा बढी डढेलो फैलिएको छ। तराई, पहाडी तथा भित्री मधेशका जिल्लाका वनमा पनि डढेलो लाग्ने क्रम बढ्नु नै हाल वायु प्रदूषण बढ्नुको मुख्य कारण रहेको लामिछानेले बताए।

उनले भने‚ ‘अझै अहिले लामो समयदेखि पानी परेको छैन। यसले गर्दा वायुमण्डल सुक्खा छ, यस्तो अवस्थामा हावामा धुलोका कणहरू अत्यधिक, त्यसमाथि पनि जंगलमा आगलागी पनि भइरहेको छ, काठमाडौंको भू-बनोटले पनि धुलो‚ धुँवा,तुवालो सहजै निस्किएर जान पाउँदैन। यसले गर्दा काठमाडौं उत्यका वायु प्रदूषण उच्च विन्दुमा पुगेको छ भने देशका अन्य क्षेत्रमा पनि प्रदूषण बढ्दो छ।’

यस्तै हावाको प्रदूषण मापन गर्ने एयर भिजुअल सूचक आइक्यु एयरले पनि काठमाडौंलाई संसारकै प्रदूषित शहरको सूचीको पहिलो स्थानमा राखेको छ। मंगलबार दिउँसोसम्म काठमाडौं संसारकै बढी प्रदूषण भएको शहरमा पहिलो, दोस्रो र तेस्रो स्थानमा घटबढ भइरहेको छ।

पछिल्लो दिनमा काठमाडौं उपत्यकामा वायु प्रदूषण कति धेरै बढेको छ भन्ने कुरा १२ दिनअघि विश्व स्वास्थ्य सेवा दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गेटमा राखिएको कृत्रिम फोक्सोको तस्वीरले समेत पुष्टि गरेको छ। २४ चैतमा मन्त्रालयमा राखिएको कृत्रिम फोक्सोको रंग १२ दिनमै फरक भइसकेको छ।  

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार एयर क्वालिटी इन्डेक्स (एक्यूआई) ५० भन्दा बढी रहेको वातावरण मानव स्वास्थ्यका लागि घातक मानिन्छ ।

प्रदूषणको असरले अस्पतालमा विरामी बढ्न थाले

यता काठमाडौंको वायु प्रदूषण उच्च रहेको समयमा अस्पतालमा रुघाखोकी, घाँटी र ज्वरोका विरामी बढेका छन्। त्रिवि शिक्षण अस्पतालका वरिष्ठ पल्मोनोलोजी एण्ड क्रिटिकल केयर मेडिसिन विभागका उपप्राध्यापक डा.निरज बमका अनुसार केही दिनयता अस्पतालमा श्वासप्रश्वास सम्बन्धी समस्या, रुघा लाग्ने, छाती दुख्ने तथा ज्वरोका बिरामी बढेका छन्।

‘केही दिनयता रुघाखोकी ज्वरोका विरामी बढ्नु भएको छ। मेरो ओपीडीमा दैनिक २५ जनासम्म यस्ता विरामी आउनु हुन्छ, विरामीको कुरा सुन्दा वातावरणीय रूपमा नै उहाँहरूमा समस्या भएको देखिन्छ’‚ डा. बमले भने।

डा बमले श्वासप्रश्वास समस्याको प्रमुख कारण नै प्रदूषित हावा रहेको हुँदा अहिले विरामी बढ्नुको कारण पनि यही रहेको बताए। प्रदूषित हावाले तत्काल श्वासप्रश्वास सम्बन्धी समस्या, रुघा लाग्ने, छाती दुख्ने तथा ज्वरो आउने जस्ता समस्या देखिने र दीर्घकालीन रूपमा फोक्सोको रोग (सीओपीडी) हुने हुँदा सतर्कता अपनाउनुपर्ने उनको भनाइ छ।

वायु प्रदूषणम व्यक्तिले एक्लै केही गर्न नसक्ने हुँदा राज्यले नै प्रभावकारी रूपमा काम गर्नुपर्ने उनले बताए। अहिलेको अवस्थामा घर बाहिर निस्कदा मास्क र चस्मा अनिवार्य प्रयोग गर्नुपर्ने समेत उनले बताए।

यस्तै स्वास्थ्य मन्त्रालयको आर्थिक वर्ष २००७८।०७९ माश्वासप्रश्वाससँग सम्बन्धित समस्या भएका १६ लाखभन्दा बढी विरामी अस्पताल पुगेको स्वास्थ्य सेवा विभागको एकीकृत स्वास्थ्य सूचना प्रणालीको तथ्यांकले देखाउँछ।

डब्लूएचओको एक तथ्यांकले १० मध्ये ९ जनाले उच्च स्तरको प्रदूषण भएको हावामा सास फेर्ने देखाएको छ। त्यसैगरी वातावरण तथा घरेलु वायु प्रदूषणका कारण प्रत्येक वर्ष ७० लाख मानिसको मृत्यु भइरहेको डब्लूएचओको तथ्यांक छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.