|

पर्वत : नेकपा (एमाले)बाट प्रदेश गण्डकी प्रदेशसभा सदस्य बनेका नेता खगराज अधिकारीको नेतृत्वमा रहेको गण्डकी प्रदेश सरकार ढलेको छ।

गत मङ्सिर ४ मा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य पदको निर्वाचनका वेला नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) प्रमुख दलका रूपमा रहेको गठबन्धन अन्तर्गत गण्डकी प्रदेशमा सबैभन्दा ठूलो दल काँग्रेस बनेको थियो। काँग्रेसले मुख्यमन्त्री पाउने चर्चा चल्यो, मुख्यमन्त्री पाउने कुरा अन्तिम घडीमा आएर एकाएक ढल्यो।

नेपाली काँग्रेसबाट गोरखाबाट निर्वाचित सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री बन्ने चर्चा चलिरहेका वेला माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्ने कुराले गठबन्धनको केन्द्रीय समीकरणमा एकाएक परिवर्तन आयो। केन्द्रमा प्रचण्डले प्रधानमन्त्री बन्ने मौका पाउँदा गण्डकी प्रदेशमा कल्पना नै नगरेका अधिकारीले मुख्यमन्त्री बन्ने मौका पाए।

प्रचण्ड र एमालेका अध्यक्ष ओलीबीचको गठबन्धन राष्ट्रपतिको निर्वाचनको वेला फेरि ढल्यो। यसैको सिकारमा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी परेका छन्। मुख्यमन्त्री बनेको एक सय पाँच दिनमा नै उनी पदच्युत हुनु परेको छ।

गत पुस २५ गते राप्रपा र माओवादीको समर्थनमा मुख्यमन्त्री बनेका अधिकारीले राप्रपाको समर्थन भने अन्तिमसम्म पनि पाइरहे। केन्द्रीय सरकारलाई दिएको समर्थन फिर्ता लिएको राप्रपाले प्रदेश सरकारमा भने एमालेलाई सघाउन छाडेन। राप्रपाले समर्थन फिर्ता गरेमा मुख्यमन्त्री पद गुमाउने अवस्थामा रहेका अधिकारीले राप्रपाका कारण नभई माओवादीका कारण पद गुमाउनु परेको छ।

सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)ले गत चैत १० गते मुख्यमन्त्री अधिकारीलाई दिएको समर्थन फिर्ता लिएपछि वर्तमान सरकार अल्पमतमा परेको थियो। समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री अधिकारीले प्रदेशसभाबाट विश्वासको मत लिए पनि उनको पक्षमा बहुमत प्राप्त हुन सकेन।

संविधानको धारा १८८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने प्रावधानअनुसार गण्डकी प्रदेशसभाको दोस्रो अधिवेशनको पहिलो बैठकमा मुख्यमन्त्री अधिकारीले आफू नेतृत्वको सरकारले गरेका राम्रा कामको सूची सुनाउँदै आफ्नो सरकारलाई परीक्षाका रूपमा भए पनि काम गर्ने अवसर दिन अनुरोध गरेका थिए। उनको पक्षमा बोलेका सांसदले पनि सरकारले नतिजा दिने वेला समेत नभएको भन्दै पाँचै वर्ष नभए पनि केही समयका लागि साथ दिन अनुरोध गरे पनि अधिकारीले विश्वासको मत पाउन सकेनन्।

६० सदस्यीय प्रदेशसभाको विश्वास लिन मुख्यमन्त्रीलाई ३१ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ। शनिवारको बैठकमा मुख्यमन्त्री अधिकारीको पक्षमा २४ मत परे भने उनको विपक्षमा ३५ मत परे। मत परिणाम सार्वजनिक गर्दै सभामुख कृष्णप्रसाद धितालले तत्काल कायम रहेका सांसदको सङ्ख्याको बहुमत नपुगेकाले बहुमतले अस्वीकृत भएको घोषणा गरे।

बैठकको सुरुमै प्रदेशसभामा आफ्नो भनाइ राख्दै मुख्यमन्त्री अधिकारीले सरकार बनाउने वेला सघाएको माओवादीलाई धन्यवाद दिए पनि समर्थन फिर्ता लिएकोप्रति भने दुःख व्यक्त गरे। प्रदेश सरकार स्वायत्त अधिकारको प्रदेश भए पनि केन्द्रको राजनीतिले प्रत्यक्ष असर गरेको भन्दै उनले अस्थिरताको बाहक कि स्थायित्वको संवाहक भन्दै माओवादीमाथि प्रतिप्रश्न पनि गरे।

केन्द्रको छाया होइनौँ भन्ने माओवादीको औचित्य समाप्त भएको सावित भएको बताउँदै उनले काँग्रेसलाई भने धन्यवाद दिए। प्रमुख प्रतिपक्षी दलका नेताले बोलेका केही कुरामा विमति रहेको भए पनि प्रदेश सरकारमा काँग्रेसले निभाएको भूमिकामा आफू सन्तुष्ट रहेको उनको भनाइ थियो।

अधिकारीले आफ्नो कार्यकालमा चालु खर्च घटाएको, सीमित स्रोतमा धेरै काम गरेको, निजी क्षेत्रसँग समन्वय गरेको, प्रतिपक्षीलाई समेत सहकार्यमा ल्याएर काम गरेको, पूर्व सरकारले छाडेका सीमित स्रोत र साधनबाट सरकारले राम्रा काम गरेको बताउँदै मन्त्रालयपिच्छे नै राम्रा कामको सूची रहेको दाबी पनि गरे।

प्रदेशसभा बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ। अब गण्डकीमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी गठबन्धनको सरकार बन्नेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.