भोलिदेखि रथयात्रा
भोलिदेखि रथयात्रा
ललितपुर : रातो मच्छिन्द्रनाथको रथ निर्माण कार्य लगभग सकिएको छ। अक्षय तृतीयाको भोलिपल्ट सोमबार पुलचोकबाट रथयात्रा सुरु गर्नुपर्ने भएकाले गुठीयार रथ तान्ने डोरी मिलाउन व्यस्त छन् ।
वैशाख शुक्ल प्रतिपदाका दिन मच्छिन्द्रनाथलाई पाटन तहःबहालबालबाट ल्याएर निर्माणधीन रथमा रथारोहण समेत गराइएको छ। रथारोहण नै गराइसकिएको अवस्थामा अब रथलाई सिंगार्ने र कला कौशल वरिपरि हाल्ने काम मात्र बाँकी रहेको गुठी संस्थान शाखा कार्यालय ललितपुरका प्रमुख लछुना शर्मा काफ्लेले जानकारी दिइन्।
रथ निर्माण गर्न विशेषगरी पाटनका यँवाल र बाराही थरका स्थानीयवासी तल्लीन छन्। बाराहीले रथलाई स्वरूप दिएर काठ हाल्ने काम गरेका छन्। यसैगरी यँवालहरू रथ बनाउन प्रयोग भएका काठलाई वेतले बाँध्न र कस्न लागिपरेका छन्।
रथको पुरै स्वरूप निर्माण भएर रथको माथिल्लो भागमा वेत र महावेतले बेरीसकेपछि डोरीले बाँध्ने काम यँवालहरुले गरिरहेको यँवालका नाइके नाति मर्हजनले बताए ।
यँवाल समुदाय भित्रैका गुठियार प्रेम मर्हजन रथ तान्नका लागि जोडीने डोरीको व्यवस्थापन गर्ने काम मात्र बाँकी रहेको बताउँछन्। ‘बेत र महावेतले रथलाई कस्ने काम गरिसकिएको छ’, उनले भने, ‘बाँकी रहेका स्थानमा आवश्यकता हेरेर डोरीले बाँध्ने र रथको घमा नजिकै रथ तान्नका लागि डोरी मिलाउने काम आइतबार हुन्छ।’
युवा पनि रथ बनाउन उत्साहित छन्। यँवाल समुदायकै प्रदीप मर्हजन उमेरले २८ मात्रै पुगेपनि रथ बनाउन उनी खटिरहेका छन्। ७० कटिसकेका यँवाल सहयोगी पूर्णलाल नयाँ पुस्तालाई सिकाउने काम गरिरहेका छन्।
वैशाख कृष्ण प्रतिपदाका दिन रातो मच्छिन्द्रनाथको महास्नान गरेपछि ३२ हात अग्लो रथ बनाउने काम सुरु भएको हो। काठकै चुकुल राखी बेत र महाबेतको डोरीले बाँधेर रथ निर्माण गर्ने परम्परा छ। गुठी संस्थान शाखा कार्यालय ललितपुरले रथ निर्माणमा सहयोग गर्ने गरेको छ ।
‘हामीले रथको संरचना काठबाट बनाएका छौँ, रथको तला–तला निर्माणका लागि काठ जोड्यौँ। काठसम्बन्धी काम गरेका हौँ’ ,एक बाराहीले भने, ‘महावेत ठाँउ–ठाँउमा कस्ने काम भएपछि हामीले तल्ला थप्ने गरेका छौँ।’
बाराहीले काठबाट रथका स्वरूप दिएपछि यवाल समुदायले यसलाई मजबुत बनाएर पाङ्ग्रा, घमा, घमापासा र देवता राख्ने स्थान बनाउन जोइन्टमा वेत र डोरीले कस्छन्। ‘तला–तलामा काठलाई बेतले बाँध्दै छौँ’, निर्माणमा खटिएका प्रदीपले भने, ‘एक हातले समाउँदै एक हातले कस्दै, ठोक्दै गर्नुपर्छ।
यता टंगालमा मीननाथको रथ पनि धमाधम निर्माण भइरहेको छ । यसको निर्माण पनि लगभग सकिने अवस्थामा छ। रथको तला निर्माण भइसकेपछि पाङ्ग्रा र ’घमा’ हालेपछि मच्छिन्द्रनाथको रथारोहण गर्ने परम्परा छ।
मच्छिन्द्रनाथको मूर्ति रथारोहण गरिएको चौथो दिन देशकै सबैभन्दा लामो जात्रा गर्ने परम्परा छ। वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको दर्शन गरेमा सुख शान्ति र समृद्धि मिल्ने विश्वास छ।
आमाको मुख हेर्ने दिनको भोलिपल्ट रथारोहण गरिएको रातो मच्छिन्द्रनाथको रथ पुल्चोकबाट तानेर गाःबहाल पुर्याइन्छ। प्रत्येक वर्ष अक्षय तृतीयाको भोलिपल्ट टंगालबाट मीननाथको समेत रथ तानी पुल्चोकसम्म पुर्याइन्छ। रथलाई पाटनका विभित्र स्थानमा परिक्रमा गराइन्छ। पुल्चोक, गाःबहाल, सुन्धारातफ महाबौद्ध र चाकुबहाल हुँदै लगनखेल, पोडेटोल, जावलाखेलमा परिक्रमा गराइन्छ।
मच्छिन्द्रनाथको जात्राका क्रममा नरिवल खसाल्ने जात्रा र भोटो देखाउने जात्रा पनि पर्छन्। जावलाखेल पु¥यापछि रथबाट भोटो देखाएर जात्रा समाप्त गरिन्छ। हरेक दिन रथ तानेर पुर्याइएका ठाउँमा जात्रा मनाउने गरिन्छ। रातो मत्स्येन्द्रनाथलाई ६ महिना बुङमती र ६ महिना ललितपुरमा राख्ने परम्परा छ। मच्छिन्द्रनाथको ३२ पानेजु, १२ यवाल र २४ बराही हुन्छन्। रथ रोक्ने (ब्रेक लगाउने) ‘घगु’ आठजना हुन्छन्। मीननाथको रथ जात्रालाई मच्छिन्द्रनाथको भन्दा पनि पुरानो मानिन्छ।
किंवदन्ती
किंवदन्तीअनुसार लिच्छवी राजा नरेन्द्रदेवका पालामा भारतको कामरूप कामाख्या गई ’वुंगद्य’ अर्थात् रातो मच्छिन्द्रनाथलाई काठमाडौं उपत्यकामा ल्याइएको थियो। गुरु गोरखनाथले नव नागको आसन बनाई बसिदिएका कारण १२ वर्षसम्म पानी नपरी अनिकाल लागेपछि राजा नरेन्द्रदेव, तान्त्रिक बन्धुदत्त आचाजु, ललित ज्यापु तथा कर्कोटक नागराजासमेत कामरूप कामाख्या गई ’वुंगद्य’ अर्थात् रातो मच्छिन्द्रनाथलाई काठमाडौं उपत्यकामा ल्याएका थिए।
गुरु मच्छिन्द्रनाथलाई देखेपश्चात् गोरखनाथ गुरुको दर्शनका लागि जाने क्रममा नवनाग मुक्त भई वर्षा भएको र सहकाल सुरु भएको विश्वास गरिन्छ। मच्छिन्द्रनाथको सम्पूर्ण जात्रा जीवित देवी ‘कुमारी’ले पनि अवलोकन गर्ने प्रचलन छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।