|

म्याग्दी : स्पेनका ८३ वर्षीय कार्लोस सोरिया संसारकै सातौँ अग्लो (८ हजार १६७ मिटर) धौलागिरि हिमाल आरोहणका लागि बेसक्याम्प पुगेका छन्।

म्याग्दीको धौलागिरि गाउँपालिका –४ मुदीमा अवस्थित धौलागिरि हिमाल आरोहण कार्लोसको यो १३ औँ पटकको प्रयास हो। 

धवलागिरि हिमाल चढ्न सन् १९९८ मा पहिलो प्रयास गरेका कार्लोसको दुई दशक यता १२ औँ पटक आरोहण गर्दा पनि धौलागिरिको चुचुरोमा पुग्ने सपना पुरा हुन सकेको छैन । धौलागिरि आरोहण गर्ने सपना पूरा गर्न यसपालि कार्लोस पुनः बेसक्याम्प पुगेका कार्लोस संलग्न आरोहण दलको नेतृत्व गरेका मिङतेम्बा शेर्पाले जानकारी दिए।

अहिले धौलागिरि आरोहण क्रममा रहेका कार्लोसले यसअघि ६० देखि ८२ वर्षको हुन्जेलसम्ममा थुप्रै शिखर आरोहणे गरेका छन्। सन् २००१ मा सगरमाथा आरोहण गरेका उनले चोयु, मकालु, मनास्लु, लोत्से, कञ्चनजङ्घा, अन्नपूर्णसमेत ८ हजार मिटर अग्ला १२ वटा हिमालको आरोहण गरी विश्व रेकर्ड बनाएका छन्।

सन् २०२१ सेप्टेम्बर १४ मा पनि कार्लोस धौलागिरिको ७ हजार १०० मिटर उचाइको तेस्रो क्याम्प पुगेका थिए। गत वर्ष सन् २०२२ मा पनि १२ औँ पटकको प्रयासमा कार्लोस ७ हजार मिटरको उचाइमा रहेको पहिलो क्याम्पमा पुगेर फर्किएका थिए।

मौसम बिग्रेपछि त्यहाबाट अघि बढ्न नसकेर फर्किएका थिए । संसारका जेठा पर्वतारोहीलाई यो वर्ष धौलागिरि आरोहण गराउन लागेको सेभेन समिट ट्रेक्सले जनाएको छ ।

सबैभन्दा बढी उमेरमा विश्वका ८ हजार मिटर भन्दा अग्ला सबै १४ वटा हिमाल आरोहण गरेर कीर्तिमान राख्न कार्लोस सेभेन समिट ट्रेक्सको व्यवस्थापनमा धौलागिरि हिमाल चढ्न लागेका हुन्।

प्रतिकुल मौसमका कारण यतिखेर कार्लोसको आरोहण दल बेसक्याम्पमा रोकिएको छ । कार्लोसको आरोहण दलको नेतृत्व मिङतेम्बा शेर्पाले गरेका छन्। सेभेन समिटका तर्फबाट २५ विदेशी आरोही बेसक्याम्पमा पुगेको सेभेन समिटका प्रबन्धक थानेश्वर गुरागाईँले जानकारी दिए। अनुकूल मौसम भए २० देखि २५ दिन भित्रमा हिमाल आरोहण गर्ने उनले बताए।

‘स्पेनका ८३ वर्षीय पर्वतारोही कार्लोस सोरिया सहितको आरोही टिम १२ दिन अघि बेसक्याम्पमा पुगेको छ। अहिले त्यहाँ भारी हिमपात भइरहेको खबर आएको छ’, सेभेन समिटका गुरागाईँले भने, ‘आरोहीहरू अनुकूल मौसमको प्रतीक्षामा छन्, मौसममा सुधार आए लगत्तै आरोही धौलागिरिको चुचुरोतर्फ लाग्नेछन्।’

कार्लोसले यसपालि धौलागिरि हिमाल आरोहण गरेरै छाड्ने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.