|

म्याग्दी : पर्यटकको आकर्षणको केन्द्र मुस्ताङमा वैशाख ८ गतेदेखि थासाङ गाउँपालिका २ बोक्सी खोलामा चौरीको आलो रगत पिउने मेला सुरु भएको छ। चौरीको आलो रगत पिउन र प्राकृतिक सुन्दरतामा रमाउन पर्यटकको घुइँचो लागेको छ।

वारिपारि सेताम्मे धौलागिरी र टुकुचे हिमाल, त्यहाँबाट बगेको कलकल गर्ने हिमछाँगो। हिमाली मरुभूमि भए पनि  धुपी र सल्लाका रुखको हरियाली। थाक्साङ गाउँको काखमा रहेको बोक्सीखोलाको किनारमा करिब ७०० याक र चौरीबाट आलो रगत निकालेर गिलासमा भरेर पर्यटक घुटुघुटु पिउँछन्। चौँरीको आलो रगत प्रतिगिलास ३०० रुपैयाँमा बिक्री हुन्छ। 

मेलामा मुस्ताङी भन्दा म्याग्दी, पोखरा, चितवन,नवलपरासी, तनहुँ, पर्वत, बुटवल, काठमाडौंबाट रगत पिउन आउनेको घुइँचो छ। आफ्नै गाडी, मोटरसाइकलमा जोडीमा, परिवारसहित रगत खान आउने प्रशस्त भेटिन्छन्। रोग सञ्चो हुने विश्वासमा बच्चा, बिरामी, वद्धसमेत बोक्सी खोलामा आउने गरेको स्थानीय गोविन्द शेरचनले जानकारी दिए।

हिमाली खर्कमा चरेका चौँरीहरूले पाँचऔले, निरमसी, जटामसी, यार्सागुम्बाजस्ता जटिबुटी खाने हुँदा त्यसको रगत सेवनले मानिसको पेटसम्बन्धी रोग निको हुने विश्वास गरिन्छ। ‘पहिले यसलाई चौँरीको रगत पिउने मेला मात्र भनिन्थ्यो। अहिले मेलाको रुपमा मात्र नलिएर प्राकृतिक चिकित्सा र चौंरीको स्वास्थ्यसँग पनि जोडेर यसलाई हेर्न थालिएको छ‘ स्थानीय नरबहादुर हिराचनले भने ‘चौरीको ताजा रगत पिएपछि यौनशक्ति बढ्ने, रक्त अल्पता कम हुने र  विभिन्न प्राणघातक रोग निको हुने विश्वास बढेको छ।’ 

रगत निकाल्नाले चौरी पनि स्वस्थ हुने विश्वास छ। यसैकारण वर्षमा दुई पटक रगत झिक्ने र मानिसले पिउने गरेको धौलागिरी चौँरी पालन समूहमा आवद्ध  गोविन्द शेरचनले जानकारी दिए।

रगत पिउने मेलाबाट किसानलाई आकर्षक आम्दानी हुनेगरेको छ। एउटा वयस्क चौरीबाट ३० गिलाससम्म रगत निकाल्न सकिने स्वंयसेवक बताउँछन्। हरेक दिन एक लाख रुपैयाँभन्दा बढीको रगत बिक्री हुने चौरीपालक बताउँछन्।

हिमाली क्षेत्रमा पाइने यार्सागुम्बा, पाँचऔँले, जटामसीलगायत जडीबुटी खाएका चौँरीगाईको रगत पिएमा ग्याष्टिक, कमलपित्त, सुन्नेको र छालासम्बन्धी रोगसमेत निको हुने बढ्ने विश्वास गरिन्छ। त्यही विश्वासमा रगत पिउनेहरु बढी आउने गरेका छन्। उच्च रक्तचाप भएकालाई रगत पिउन दिइँदैन।

पालो परेको गोठको चौँरी ल्याएर राखिन्छ मेलामा २०० रुपैयाँ दिएर नाम लेखाएर कम्तीमा १० जना भएमा चौँरी ल्याएर रगत निकालिन्छ। एउटा चौँरीको रगत निकाल्न चार जना व्यक्ति चाहिन्छ। चौँरीलाई अगाडिको दुई खुट्टा र जीउ बाँधेर घाँटीको रौँ निकालेर सानो चक्कुले नशा काटेर रगत निकालिन्छ। अनि गिलासमा थापेर बेचिन्छ। यसरी थापेको रगत कोही नाक थुनेर, आँखा बन्द गरेर रगत पिइरहेका हुन्छन्।

 जिउँदो चौँरीलाई नियन्त्रणमा लिई तालिम प्राप्त रगत निकाल्ने व्यक्ति (स्थानीय भाषामा आम्जी) ले चौरीको घाँटीमा सुइरो (चापो) ले नसामा कोपेर रगत निकाल्ने गर्छन्। यसरी निकालिएको आलो रगत पिउने भन्दै खर्क र लेकमा पुगेकाहरूले गिलास थापेर उतिखेरै घुटुघुटु पिउने गर्दछन्। तालिम नलिएका र अनुभव नभएका व्यक्तिले रगत निकाल्दा भने चौँरीको मृत्युसम्म हुन सक्ने भन्दै उनीहरूलाई रगत निकाल्न दिइँदैन। 

रगत निकाली सकेपछि माटो वा गोबरले रगत निस्कने भाग टालेर चौँरीलाई छाडिन्छ। मुस्ताङमा पालिएका चौँरीको प्रत्येक वर्ष वैशाख र साउनमा गरी दुई पटकसम्म रगत पिउने मेला सञ्चालन हुँदै आएको छ। 

चौँरीपालकका लागि आलो रगत निकालेर बेच्ने काम वैकल्पिक आम्दानीको स्रोत हो हिमाली क्षेत्रमा हुर्काइएका चौँरीको मासु स्वादिलो र पोसिलो मानिने भएकाले बजारमा मासुको समेत उच्च माग हुन्छ। चौँरीको दूधबाट दही, घिउ, चिज र छुर्पी लगायतका परिकार बनाएर बिक्री गरिन्छ। 

चौँरीको सिङलाई खच्चडको घाँटीमा झुण्ड्याइने घण्टीको रूपमा प्रयोग गरिन्छ भने पुच्छर धार्मिक पूजाआजामा चमरको रूपमा प्रयोग गर्ने गरिन्छ। चौँरीको मलमूत्र खेतबारीमा प्रयोग हुन्छ।

रगत निकाल्नु चौँरी र रगत पिउनु मानिसकै स्वास्थ्यका लागि कति हितकर छ र हिंसा झल्किने अमानवीय कामलाई परम्पराको नाममा निरन्तरता दिनु ठीक हो कि होइन भन्ने विषयमा सोच्नुपर्ने पशु अधिकारकर्मी बताउँछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.