९४६ वटा कहाँ छन् सरकार बेखबर

|
फाइल तस्वीर

काठमाडौँ : देशभर २ हजार ४६८ एम्बुलेन्स भए पनि करिब १ हजार ५२६ वटा एम्बुलेन्स मात्रै सञ्चालनमा छन्। हालसम्म नेपालमा कति एम्बुलेन्स छन् र ती कहाँ  छन् भन्ने सरकारसँग कुनै तथ्याङ्क थिएन। यसले गर्दा विरामीहरूले सेवा पाउन अप्ठ्यारो भइरहेको थियो।

नेपालमा ​विसं २०४२ देखि एम्बुलेन्स सेवा शुरु भएको हो। त्यसयता धेरैजसो त मित्र देश‚ विभिन्न क्षेत्रबाट अनुदान र केही मात्रामा सरकारले खरिद गरेरै एम्बुलेन्स सञ्चालन हुँदै आएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार २०४२ सालदेखि नेपालमा २ हजार ४६८ वटा एम्बुलेन्स देशभर भए पनि हाल १ हजार ५२६ एम्बुलेन्सले मात्रै विरामीलाई सेवा दिने गरेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपत्‌कालीन तथा विपद् व्यवस्थापन एकाई (एचईओसी) प्रमुख डा. समीर अधिकारीका अनुसार नेपालमा कानूनअनुसार अनुदान प्राप्त भई नेपाल भित्रिएका एम्बुलेन्स राजस्व छुट गरेर आउने भएकाले १० वर्षसम्म मात्रै सञ्चालन गर्न पाइने हुँदा भएका एम्बुलेन्समध्ये कम मात्रै सञ्चालनमा छन्।  

एचईओसी प्रमुख डा. अधिकारीले भने‚ ‘राजस्व छुटमा भित्रिएका एम्बुलेन्स १० वर्षपछि चल्न पाउँदैनन्। अनुदानमा आएका एम्बुलेन्सहरूले राजस्व छुट पाउँछन्।१० वर्षयता भित्रिएका एम्बुलेन्सको संख्या १ हजार ५ सयको हाराहारी छ। त्यसकारण हाल कुल एम्बुलेन्सको संख्या २ हजार ४६८ वटा भए पनि १ हजार ५ सय मात्रै सञ्चालनमा छन्।‘

नेपालका सडकमा आकस्मिक साइरन बजाउँदै गुड्ने कतिपय एम्बुलेन्स दर्ता नै छैनन्। दर्ता भएकामध्ये थुप्रै एम्बुलेन्स नियमित नवीकरण भएका छैनन्। भएको संख्याभन्दा कम एम्बुलेन्सले सेवा दिइरहेका छन्।

अचम्मको कुरा २ हजार ४६८ मध्ये १ हजार ५२६ वटा बाहेकका एम्बुलेन्स अहिले कहाँ छन् र तिनीहरूले सेवा दिएका छन् कि थन्किएर बसेका छन् भन्ने यकिन जानकारी मन्त्रालयलाई छैन। एचईओसी प्रमुख अधिकारीले भने‚ ‘हामीले अनिवार्य दर्ता र नवीकरण गर्न आह्वान गरेका छौं। नवीकरणमा आएपछि हाम्रो सम्पर्कमा नआएका एम्बुलेन्सहरू कस्तो अवस्थामा छन् भन्ने जानकारी प्राप्त होला।‘

दर्ता वा नवीकरणमा आउने एम्बुलेन्सले अनिवार्य रूपमा जीपीएस सिस्टम जडान गर्नुपर्ने र र त्यसको कोड नम्बर केन्द्रदेखि प्रदेश तहमा खुलेका एम्बुलेन्स प्रेषण केन्द्रलाई उपलब्ध गराउनुपर्ने र त्यसपछि मात्रै एम्बुलेन्स सञ्चालनमा आउन पाउने व्यवस्था गर्न लागिएको अधिकारीले बताए।

हाल कुन प्रदेशमा कति एम्बुलेन्स सञ्चालन

मन्त्रालयको विवरणअनुसार हाल देशभर सञ्चालनमा रहेका १ हजार ५२६ वटा एम्बुलेन्समा हाल सबैभन्दा धेरै बागमती प्रदेशमा रहेका छन्। हाल बागमती प्रदेशमा ३७९ वटा एम्बुलेन्सले सेवा दिइरहेका छन्। यसैगरी गण्डकी प्रदेशमा २२४, कोशी प्रदेशमा २६८ वटा, सुदूरपश्चिम प्रदेशमा ८३ वटा, कर्णाली प्रदेशमा ८० वटा, लुम्बिनी प्रदेशमा २४८ र मधेश प्रदेशमा २४४ वटा एम्बुलेन्सले सेवा दिइरहेका छन्।

देशभर एम्बुलेन्सले दिइरहेको सेवाको रामशाहपथबाट निगरानी

यसैबीच स्वास्थ्य मन्त्रालयले देशभरका एम्बुलेन्स सेवामा एकरूपता ल्याउन केन्द्रबाटै एम्बुलेन्स ट्रयाकिङ गर्न सकिने सफ्टवेयर सञ्चालनमा ल्याएको छ।

एम्बुलेन्स ट्रयाकिङ गर्ने यो सफ्टवेयर जीपीएससँग कनेक्ट हुन्छ। सरकारले एम्बुलेन्सका लागि उपलब्ध गराएको टोलफ्री नम्बर १०२ मा कल गरेपछि पहिला प्रदेशका एम्बुलेन्स प्रेषण केन्द्रमा फोन जान्छ। त्यहाँ उसले विरामीको अवस्था हेरेपछि जीपीएसबाट एम्बुलेन्स ट्रयाकिङ गरी विरामीसमक्ष पठाउँछ।

प्रदेशमा फोन उठेन भने स्वास्थ्य मन्त्रालयमा रहेको विपद् व्यवस्थापन एकाइमा फोन उठ्छ र त्यहाँबाट आवश्यक सहयोग हुन्छ। त्यसका लागि हाल एम्बुलेन्स सम्बन्धी एप तयार गरेर प्लेस्टोरमा हाल्न बाँकी रहेको डा. अधिकारीले बताए।

यो स्वास्थ्य मन्त्रालय परिसरमा रहेको स्वास्थ्य आपत्‌कालीन तथा विपद् व्यवस्थापन एकाइ (एचईओसी)बाट सञ्चालनमा रहेको छ। ‘देशभर कहाँ कुन एम्बुलेन्सले सेवा दिइरहेका छन्‚ कुन के कस्तो अवस्थामा छन् भनेर एम्बुलेन्सले दिएको सेवालाई एकरूपता ल्याउन लागिएको हो। यसले एम्बुलेन्सको सेवा लिन विरामीलाई सहज हुन्छ’‚ डा. अधिकारीले भने‚ ‘नयाँ सफ्टवेयरमा आबद्धता भएपछि हरेक एम्बुलेन्सको रेकर्ड हुने र कहाँ कसरी चलिरहेको छ भने थाहा हुन्छ। पूर्णरूपमा यो सफ्टवेयर सञ्चालनमा आउन केही प्राविधिक काम बाँकी रहेको छ।‘

हाल देशभर सञ्चालनमा रहेकामध्ये ६ सय एम्बुलेन्समा जीपीएस जडान गरिएको र ८१ वटामा सफ्टवेयरमा जडान गरिएको समेत अधिकारीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.