|

पर्वत : गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र दुई जना बिना विभागीय मन्त्री गरेर तीन जनाले शुक्रवार पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्।

नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले आलोपालो गरेर मुख्यमन्त्री बन्ने तथा पहिलो अवसर कांग्रेसले पाउने सहमतिअनुसार बिहीबार कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

शुक्रबार मुख्यमन्त्री पाण्डेसहित बिना विभागीय मन्त्रीद्वय सरस्वती अर्याल तिवारी र सुशीला सिम्खडाले पनि शपथग्रहण गरेका छन्।

मुख्यमन्त्री पाण्डे नेपाली कांग्रेस गोरखाबाट, तिवारी नेपाली कांग्रेस स्याङ्जाबाट र सिम्खडा नेकपा (माओवादी केन्द्र) गोरखाबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्।

कांग्रेस र माओवादीको योगफलमा बनेको नयाँ सरकारमा कुन दलले कति मन्त्रालय पाउने भन्ने यकिन भएको छैन। विगतमा १२ ओटासम्म मन्त्रालयहरू राखिएको गण्डकी प्रदेश सरकारमा निवर्तमान मुख्यमन्त्री नेकपा (एमाले) का खगराज अधिकारीले मन्त्रालयको सङ्ख्या सातमा झारेका थिए।

गण्डकी प्रदेशमा सबैभन्दा ठुलो राजनीतिक दल कांग्रेस हो भने अहिलेको सरकार निर्माणमा निर्णायक भूमिका आफ्नो रहेकोले कांग्रेसभन्दा आफू कमजोर नरहेको माओवादीको तर्क छ।

दुई दलबीच मन्त्रालय बाँडफाँटको टुङ्गो लागेपछि मात्रै मन्त्रीहरूको टुङ्गो लाग्ने र शपथग्रहण हुने भए पनि मुख्यमन्त्रीले शपथ लिँदाको दिनमा दुई दलबाट मन्त्री पाउने निश्चित भएका दुईजना बिना विभागीय मन्त्रीहरूलाई शपथग्रहण गराइएको हो।

गण्डकी प्रदेश सरकारमा विगतदेखि नै मुख्यमन्त्रीले शपथग्रहण गर्दाको दिनमा मन्त्री बनाउने पक्कापक्की भएका सांसदहरूलाई बिनाविभागीय मन्त्रीको रूपमा शपथग्रहण गराउने क्रम चल्दै आएको छ।

गत वैशाख नौ गते निवर्तमान मुख्यमन्त्री नेकपा (एमाले) का नेता तथा एमाले संसदीय दलका नेता खगराज अधिकारी नेतृत्वको सरकार ढलेको थियो। त्यसपछि प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बिहीबार दिउँसो चार बजेभित्रमा सरकार गठन गरिसक्नुपर्ने गरी आह्वान गरेका थिए।

सोहीअनुसार नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) को सहमतिमा पाण्डे मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।

मुख्यमन्त्री पहिले को भन्ने? भन्ने विषय टुङ्गिएको भए पनि यी दुई दलबिच मन्त्रालय बाँडफाँटको कुरा पनि सहज छैन। नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता हरिबहादुर चुमानले निवर्तमान मुख्यमन्त्रीले जस्तै अहिले पनि दुई ओटा मन्त्रालय मात्रै आफूहरूलाई स्वीकार्य नहुने बताए।

यसमा पनि मनाङबाट स्वतन्त्र रूपमा चुनाव लडेर पछि नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका राजीव गुरुङ उर्फ दीपक मनाङले पनि सरकारमा जान चाहेको अवस्थामा उनलाई एक मन्त्रालय दिनुपर्ने अवस्था आउने छ। 

माओवादी संसदीय दलका नेता चुमानले थाहाखबरसँगको कुराकानीमा मनाङे पनि सरकारमा सहभागी हुने कुरा आफूले बुझेको बताए। ‘दीपक मनाङेजीको पनि सरकारमा जाने कुरा त चलेको छ। उहाँहरू पनि सहभागी हुने भन्ने कुरा बुझिरहेको छु मैले। मन्त्रालयको बाँडफाँट कसरी हुन्छ त्यही अनुसार उहाँहरूको पनि सहभागिता रहला भन्ने नै मैले सोचेको छु’, उनले भने।

६० सदस्यीय गण्डकी प्रदेशसभामा कांग्रेसका २७, एमालेका २२, माओवादीका सात (सभामुख बाहेक), राप्रपाका दुई र नेकपा (एकीकृत समाजवादी) का एकजना सांसद छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.