|

जनकपुरधाम : आज वैशाख शुक्ल नवमी, माता जानकी प्रकट भएको स्मरणमा जानकी नवमी जनकपुरधाममा धुमधामका साथ मनाइँदै छ।

सीताराम मन्दिरहरूमा मनाइने जानकी प्राकट्य महोत्सव राजर्षि राजा जनकको मिथिलाका राजधानी जनकपुरधाममा विशेष रौनक छ।

करिब एक सातादेखि जनकपुरधामका सीताराम मन्दिरहरूमा विभिन्न धार्मिक अनुष्ठान जारी रहे पनि आज शनिबार वैशाख शुक्ल नवमीका दिन बेग्लै चहलपहल र रौनक छ।

राजर्षि जनकका राज्यमा खडेरी परेपछि किसानहरूको हौसला बढाउन र वर्षाका लागि इन्द्रदेवलाई आग्रह गर्न स्वयं खेतमा हलो जोतिरहेका अवस्थामा आजकै दिन जानकी धर्तीबाट प्रकट भएको स्मरणमा जानकी जन्मोत्सवको रूपमा श्रद्धाभक्तिसाथ मनाइन्छ। जनकपुरधामको जानकी मन्दिर पूजापाठ र कीर्तनमय छ।
जानकी मन्दिरमा विशेष कार्यक्रम भइरहेका  छन्।

बिहानै छेउकै ऐतिहासिक दूधमती नदीमा शाही स्नान सम्पन्न भएको छ भने माता जानकी दिउँसो १२ बजे प्रकट भएकाले मन्दिरमा प्राकट्य महोत्सव, बेलुकी डोला शोभायात्रा, साँझ दीपोत्सव र राती बधैयागान सहितका विभिन्न कार्यक्रम गरी जानकी नवमी मनाइँदै छ।

जानकी मन्दिरका सहायक महन्त रामरोशन दासका साथै जनकपुरधाम उपमहानगरपालिकाले मन्दिरका साथै जनकपुरधाम, मिथिलाञ्चलका साथै सम्पूर्ण हिन्दु धर्मावलम्बीहरूलाई आज साँझ दीपोत्सव गर्न आग्रह गरेका छन्।

यस अवसरमा विभिन्न हिन्दु धर्मका अभियानी संघ संस्थाले आज जनकपुरधाममा धार्मिक र्‍याली निकाल्दै हिन्दु राष्ट्रको माग गरेका छन्।

गेरुवा रंगको झन्डा सहित जनकपुरधामको विभिन्न भाग हुँदै जानकी मन्दिर पुगेका उनीहरूले जय सियारामको नारा लगाउँदै नेपालमा हिन्दु राष्ट्र पुनःस्थापना र जानकी नवमीको अवसरमा राष्ट्रिय बिदाको माग गरेका छन्।

यसै अवसरमा जानकी मन्दिर प्राङ्गणमा कन्या पूजा एवं सम्मान समारोहको आयोजना गरेको छ। पाँच वर्षदेखि निरन्तर कन्या पूजा हुँदै आएकोमा यो वर्ष ३०१ कन्याको पूजा गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.