|

काठमाडौं : एसीसी प्रिमियर कप क्रिकेटमा ऐतिहासिक जित निकाल्दै नेपालले एसिया कपमा स्थान बनाएको छ।

मौसमका कारण सोमबार र मंगलबार गरी दुई दिन भएको उपाधि भिडन्तमा युएईलाई ७ विकेटले पराजित गर्दै नेपालले एसिया कपमा स्थान बनाएको हो।

युएईविरुद्ध १ सय १८ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको नेपालका लागि गुल्सन झाले नटआउट ६७ रनको अर्धशतकीय पारी खेल्दा भीम सार्कीले नटआउट ३६ रन बनाए।

त्यसअघि सोमबार र मंगलबार बिहान भएको फाइनल खेलको पहिलो इनिङ्समा नेपालले युएईलाई ३० दशमलब १ ओभरमा ११७ रनमाअलआउट गरेको थियो । नेपालका लागि ललित राजवंशीले सर्वाधिक ४ विकेट लिएका थिए भने करण केसी र सन्दीप लामिछानेले दुई–दुई तथा सोमपाल कामी र गुल्सन झाले एक–एक विकेट लिएका थिए।

योसँगै नेपालले घरेलु मैदानमा एसीसी प्रिमियर कपको उपाधि उचालेको छ भने आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कपमा स्थान सुरक्षित गरेको छ । एसिया कपमा स्थान बनाएको नेपालले समूह एमा भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.