सुपर प्रधानमन्त्रीपछि अब सुपर अध्यक्ष बन्नुहुन्छः प्रवक्ता

|

काठमाडौं : जेठ २३ गते नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गरेदेखि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड 'फुर्सद' मा छन्। प्रधानमन्त्रीका रुपमा १० महिना कांग्रेससँगको गठबन्धन सरकार हाँकेका प्रचण्ड सिंहदरबारको कामबाट फुर्सदिला भएकाले उनले अब आफूलाई के मा केन्द्रित गर्लान् भन्ने जिज्ञासा छ।

सिंहदरबारबाट बिदा भएपछि प्रचण्ड दुई ठाउँ पुगे। जेठ २६ गते पार्टी कार्यक्रममा सहभागी हुन उनी सोलुखुम्बु पुगे भने जेठ २८ गते रिफ्रेस हुन पोखरा गए।

प्रचण्डको अबको प्लान

१० महिना सरकार सम्हाल्दा पार्टी गतिविधिमा ध्यान दिन नपाएका उनी अब पार्टीका काममा केन्द्रित भएको माओवादी केन्द्रका नेताहरु बताउँछन्। सरकारको नेतृत्व गर्दा आचार संहिताका कारण चुनाव प्रचारमा पनि जान नभ्याएका उनी असार १४ गते चारवटा प्रदेशमा हुने स्थानीय तह निर्वाचनको प्रचार प्रसारमा सहभागी हुन थालेका छन्। गत शुक्रबार उनी सोलुखुम्बु पुगेर पार्टीको सोताङ र महाकुलुङ गाउँपालिकाको संयुक्त कार्यक्रममा सम्बोधन गरे।

पहिलो चरणको स्थानीय चुनावमा ४६ स्थानीय तहमा जित हासिल गरेको माओवादीलाई दोश्रो चरणको चुनावमा कसरी बढी सफलता दिलाउने भन्नेमा प्रचण्डले ध्यान केन्द्रित गरेका छन्। यद्यपि कुन कुन ठाउँका चुनावी कार्यक्रममा सहभागी हुने भन्ने निर्क्योल नभएको पार्टी प्रवक्ता पम्फा भुसालले बताइन्।

स्थानीय पार्टीले आवश्यकताका आधारमा योजना निर्माण गर्ने र उनीहरुकै संयोजनमा प्रचण्डको कार्यक्रम बनाइने उनको भनाई छ। ‘हाम्रा अध्यक्ष सुपर प्रधानमन्त्री बन्नुभयो। त्यतिबेला उहाँले चाहेर पनि पार्टीलाई समय दिन सक्नुभएको थिएन। अब पार्टीमा ध्यान केन्द्रित गरेर सुपर अध्यक्ष बन्नुहुनेछ’, ठट्यौलो पारामा उनले सुनाइन्।

प्रधानमन्त्री हुँदासम्म प्रचण्ड पार्टीका धेरै गतिविधिमा सहभागी भएनन्। माओवादीको केन्द्रीय समिति पटक पटक विस्तार हुँदै चार हजार सदस्यीय पुगे पनि अहिलेसम्म बैठक बसेको छैन। माओवादीका धेरैजसो महत्वपूर्ण निर्णय ३४ सदस्यीय हेडक्वार्टर समितिबाटै भए। प्रधानमन्त्री हुँदा पार्टी कार्यालय पेरिसडाँडामा मुश्किलले ५/६ पटक मात्रै पुगे। सरकार छाडेपछि पनि उनी पार्टी कार्यालय भने पुगेका छैनन्। पार्टी हेडक्वार्टर बैठक र विभिन्न पार्टी छाडेर माओवादी प्रवेश गरेकालाई स्वागत गर्ने कार्यक्रम पनि प्रचण्डकै निवास लाजिम्पाटमा भए। 

अध्यक्ष प्रचण्डले विगतमा भन्दा पार्टीलाई बढी समय दिने नेता देव गुरुङ बताउँछन्। ‘प्रधानमन्त्रीको भूमिकामा अध्यक्ष सरकारमा हुँदा निकै दवाब थियो, पार्टीका बैठक बस्न पनि भ्याइनभ्याइ हुन्थ्यो' उनले भने 'तर अब त्यस्तो नहोला। राजनीतिक समीकरण र सरकार सञ्चालनमा उहाँको भूमिका आन्तरिक रुपमा उस्तै भएपनि बाह्य हिसाबले पार्टीलाई समय दिनुहुनेछ।’

२०७३ साल जेठ पहिलो साता १० माओवादी घटकको पार्टी एकता भेलामा प्रचण्डले पार्टीलाई शक्तिशाली बनाउने उद्घोष गरेका थिए। त्यसको दुई महिनामै प्रचण्ड सरकारमा सहभागी भए र पार्टी कामलाई कम प्राथमिकतामा राखे। अध्यक्ष सरकार सञ्चालनमा व्यस्त भएपछि माओवादीका धेरै कमिटीहरु निष्क्रिय रहे। ‘अध्यक्ष अब पार्टी बनाउने काममा केन्द्रित हुनुहुनेछ’, माओवादी हेडक्वार्टर सदस्य मणि थापा भन्छन्, ‘माओवादीलाई एक नम्बर पार्टी बनाउने उहाँको उद्घोष १० वर्षका लागि हो।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.