|

काठमाडौं :  नेपालमा करिब २४० वर्षे राजतन्त्र ०६५ जेठ १५ गते विधिवत् रूपमा अन्त्य भयो। ०४६ सालको जनआन्दोलनपछि देशमा नयाँ संविधान लागू गरिएको थियो र देश संवैधानिक राजतन्त्रात्मक राष्ट्रमा परिणत भएको थियो।

तर, १० वर्षे जनयुद्ध र ०६२/०६३ सालको जनआन्दोलनले राजतन्त्र अन्त्य गर्दै नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको थियो।

०७२ असोज ३ गते ल्याइएको संविधानले गणतन्त्रलाई संस्थागत गरेको थियो। नयाँ संविधान आएसँगै मुलुक पनि नयाँ व्यवस्था आयो। तर, जनताको जीवनशैलीमा फरकपन आएन।

उक्त संविधानले राजसंस्था र पूर्वराजाबारे केही पनि बोलेन। राजतन्त्रबारे संविधान नै मौन रहेका बेला राजनीतिक दलका शीर्ष नेताहरू भने बेलाबेला झस्किरहन्छन्। यतिबेला पूर्वराजा ज्ञानेन्द्र शाह नागरिक अभिनन्दनमा व्यस्त छन्। 

उनलाई नागरिकले अभिनन्दन गरिरहेका छन्। तर, नागरिकको असन्तुष्टिलाई दलहरूले विषयान्तर गर्न थालेका छन्। कहिले नेपालमा विदेश हस्तक्षेप बढेको तर कहिले मरिसकेको राजसंस्था सल्बलाउन थालेको भन्दै नागरिकलाई भुलभुलैयामा राख्ने प्रयास गरिरहेका छन्।

यद्यपि, उनीहरूले हालसम्म जनअसन्तुष्टिलाई सम्बोधन गर्ने काम कतै पनि गर्न सकेका छैनन्। पटकपटक सरकारमा जाँदा जनमुखी काम नगर्ने नेताहरू पूर्वराजाप्रतिको नागरिक मोहलाई विषयान्तर गर्न थालेका छन्। 

यसबारेमा बहालवाला प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरूले १५ वर्ष अगाडि नै निष्क्रिय भइसकेको राजसंस्थाविरूद्ध दिएको अभिव्यक्तिलाई लिन सकिन्छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताले फोहोरमा फ्याँकिसकेका सामन्तका छाउराहरू पूर्वबाट उठ्न खोजेको टिप्पणी गरे।  

सोमबार अखिल नेपाल ट्रेड युनियन महासंघले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले त्यस्ता प्रवृत्तिविरूद्ध खडा हुन पनि पार्टीका–नेता, कार्यकर्तालाई निर्देशन दिए। 

‘यो सरकारले र पार्टीले भ्रष्टचारविरूद्ध अलि कडा वक्तव्य दियो। सामाजिक न्याय, सुशासन र विकासलाई केन्द्रित गरेर काम गर्न थालेको छ। यति भएपछि तपाईंले हिजो इतिहासको कुडाकर्कटमा मिल्काइएका सामन्तका छाउराहरू बाहिर आएको देख्नुभएको छ। इतिहास र आमनेपाली जनताले फोहोर फाल्ने ठाउँमा फालिसकेकाहरू पनि पूर्वको मेचीबाट उठ्न थालेका छन्। त्यस्ता प्रवृत्तिविरूद्ध हामी खडा हुनुपर्दछ।’ 

यस्तै, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजाप्रति संकेत गर्दै मुसाले दुलोबाट बिरालो हेरेजसरी अनुकूल परिस्थितिको खोजी गरेको आरोप लगाए। पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले  अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै दुलोबाट मुसाले बिरालो हेरेजसरी अनुकूल परिस्थिति आयो कि भनेर हेर्न थालेको टिप्पणी गरे। 

‘हामी नेपाली जनता गम्भीर हुनुपर्ने अवस्थामा आएका छौँ। अहिले अनेक तत्वहरू लोकतन्त्र र जनताले पाएका अधिकारविरूद्ध सलबलाउन थालेका छन्,’ उनले भने, ‘कोही दुलोबाट मुसोले बिरालो हेरेजसरी अनुकूल स्थिति आयो कि भनेर हेर्न थालेका छन् । नेपाली जनता सजग हुनुपर्दछ।’

जनतामा निराशा, नेतामा बेचैन

व्यवस्था परिवर्तन भए पनि नागरिकको अवस्था झन् झन् खस्किँदै गएपछि जनतामा निराशा छाउन थालेको छ। व्यवस्था ल्याउन महत्वपूर्ण भूमिका खेलेका दलहरूप्रति नागरिकको असन्तुष्टि बढेसँगै नयाँ दल उदाउने क्रममा छन्।

गत मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति र जनमत पार्टीको उदय भयो। 

पुराना दलहरूले जनतालाई डेलिभरी दिन नसक्दा नयाँ दलको विकल्प आएको हो। साथै पूर्वराजा ज्ञानेन्द्र शाहलाई देशका विभिन्न ठाउँमा नागरिक अभिनन्दन भइरहेको छ।

दलहरूको विलाशी जीवनशैलीका कारण कतिपय नागरिकहरूले राजाप्रति थप मोह देखाएपछि राजनीतिक दलहरूले विभिन्न टिका टिप्पणी दिने गरेका छन्। यद्यपि विश्लेषकहरू दलहरूले लडेर ल्याएको व्यवस्था संस्थागत हुन नसक्दा नागरिकमा चरम निराशा हुनु स्वभाविक भएको टिप्पणी गर्छन्। 

राजनीतिक विश्लेषक उज्वल प्रसाईं अहिले नेताहरूमा पूर्वराजा ज्ञानेन्द्रका कारण नभई आफ्नै कारण डराएको बताउँछन्। 

‘शीर्ष नेताहरू हामीले राम्रो काम सकेनौँ। जनतामा प्रतिबद्धता गरे अनुसारका काम भएनन् भनेर डराउनुभएको हो। डरको कारण ज्ञानेन्द्र होइनन्। उहाँहरूले राम्रो काम गरे संविधानले नै अस्वीकार गरेको संस्था (राजा) माथि डराउनुपर्दैन,’ उनले भने। 

विश्लेषक प्रसाईंले दलहरूले कुनै व्यक्तिगत टिप्पणीलाई लिएर प्रतिवाद गर्नु आफैँलाई कमजोर बनाएको बताए। 

‘नेताहरूले यो व्यवस्था खराब छ भन्नेहरूसँग प्रतिवाद गर्नुमा दम छैन। राम्रो काम गरेर डराएको भए प्रतिवादमा दम हुन्थ्यो। तर, यस्ता टिप्पणीले आफैँलाई कमजोर बनाउँछ भन्ने कुरा नेताहरूले हेक्का राख्नुपर्छ,’ उनले भने। 

अर्का राजनीतिक विश्लेषक पुरूषोत्तम दाहालले १५ वर्ष अगाडि नै फ्याँकेको राजालाई नागरिकले किन मनपराए? भन्ने विषयमा दलहरूले सोच्नुपर्ने बेला भएको बताए। 

‘संसारमा नागरिकहरू सर्वोच्च हुन्। पहिला राजसंस्था फाल्न उत्रिएका नागरिकले अहिले किन अभिनन्दन गरे त्यो कुरा राजनीतिक दलहरूले बुझ्नुपर्छ। द्यलहरूले आफूलाई विजयी गराउने तीन नागरिक हुन तर, अहिले किन भड्किए भन्ने बेला भएको छ,’ उनले भने। 

आफूले लडेर ल्याएको पद्धतिप्रति नागरिकका असन्तुष्टि किन बढे? जनताको चाहना दलहरूले बुझे कि बुझेनन् भन्नेबारेमा नेताहरूले सोच्नुपर्ने विश्लेषक दाहालको भनाइ छ। 

‘आफूले लडेर ल्याएका पद्धतिप्रति सबैलाई मोह हुन्छ। अहिले सोही पद्धतिलाई नेताहरूलाई भएको त्यही हो। तर, आफूले ल्याएको पद्धति टिकोस् भनेर चाहनेले जनताको चाहनालाई बुझे कि बुझेनन्? यो मुख्य विषय हो,’ उनले भने। 

राप्रपाको प्रतिवाद

राष्ट्रिय प्रजातन्त्र पार्टीले शीर्ष नेताहरूको अभिव्यक्तिप्रति आपत्ति जनायो। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले विदेशी एजेण्डाको भरिया बन्नुभन्दा मूर्ख र फटाहा बन्नु नै वेश हुने टिप्पणी गरे।  

‘हामी त फटाहा र मूर्ख मात्र रहेछौँ। जापानी र बेलायती जनता त महाफटाहा महामूर्ख भए हैन त,’ ट्वीटरमा ओलीलाई मेन्सन गर्दै लिङ्देनले भनेका छन्, ‘हैन यस्तो भाष्य र अदभुत ज्ञान चाहिँ कहाँबाट प्राप्त हुन्छ तपाईंलाई? विदेशी एजेण्डाको भरिया बन्नुभन्दा त मूर्ख र फटाहा नै हुने।’

राप्रपा महामन्त्री धवलसमसेर जबरा नेताहरूले आफ्नो गल्ती ढाक्न अरूमाथि दोष थुपार्ने काम गरेको बताउँछन्। 

‘नेताहरूमा हतास मनपस्थिति देखिएको छ। अर्को व्यक्तिलाई दोष देखाएर आफू उम्किने दाउ हो। राजाको मौलिक अधिकार हामी सर्वसाधारणको जस्तै होइन? सामान्य नागरिक सरह पूर्वाराजाले अभिव्यक्ति दिन, सहयोग गर्न नपाउने हो?,’ उनले प्रश्न गरे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.