|

  • मणिकुमार श्रेष्ठ-

 धरान : २०२८ साल कात्तिक १९ गते जन्मिएका कवि विमल गुरुङको स्मृतिमा उनका बुबा पूर्णबहादुरले आफ्नै लगानीमा २ करोडको विमल स्मृति पुस्तकालय खोलेका छन्। २०४८ साल वैशाख २४ का दिन काठमाडौंबाट धरान आउँदा गाडी दुर्घटनामा परी कवि गुरुङको निधन भएको थियो। उनैको स्मृतिमा धरानको बुद्धचोकमा ०४८ सालमा नै विमल स्मृति पुस्ताकालय खोलिएको हो।

जब म क्षितिजपारिको

संसारमा हुन्छु

त्यतिवेला मात्र म

तिमीलाई भेट्छु

समय भएन अहिले

तिमिलाई भेट्न

त्यसैले म एक्लै रोइरहन्छु…

माथिका यी हरफहरु स्वर्गीय कवि विमल गुरुङको स्मृतिमा धरान-१२ का अम्बिका शाक्यद्वारा रचना गरिएका कविताबाट लिइएका हुन्। अहिले पनि धरानका युवादेखि वृद्धसम्मका कवि मनहरुले विमल गुरुङलाई सम्झिरहेका छन्। साथै देश विदेशमा रहेका स्रस्टाहरुले उनको सम्झानामा विभिन्न कार्यक्रमहरु समेत गर्दछन्। स्वर्गीय कवि विमल गुरुङ अर्थात् पूर्व-बेलायती गोरखा सैनिक पूर्ण बहादुर गुरुङका छोराको स्मृतिमा।

चर्चित साहित्यकार तथा राजनीतिज्ञ मोदनाथ प्रश्रितले उद्घाटन गरेका यस पुस्तकालयको पूर्व-प्रधानमन्त्री मनमोहन अधिकारी, पूर्व-मन्त्री प्रदीप नेपाल, सिपी मैनाली, कुन्ता शर्मा लगायतले अवलोकन गरिसकेका छन्। पठन संस्कृतिको विकास गर्न र कवि विमलले अध्ययन गरेका पुस्तकहरुलाई संरक्षण गर्ने उद्देश्यले खोलिएको यस पुस्तकालयमा अहिले विभिन्न व्यक्तिको सहयोगबाट प्राप्त भएका सात हजार भन्दा बढी पुस्तकहरु रहेका छन्।

यस पुस्तकालयमा साहित्य, इतिहास, जीवनी, दर्शनलगायत विभिन्न विधाका पुस्तकहरु राखिएको छ। पहिले-पहिले पुस्तकालयमा पुस्तक अध्ययनका लागि पाठकहरु प्रयाप्त मात्रामा आउने गरे पनि अहिले त्यसमा कमी आएको पुस्तकालयका संरक्षक तथा विमल स्मृति पुस्तकालयका अध्यक्ष पूर्णबहादुर गुरुङले बताए। उनका अनुसार अहिले पत्र पत्रिका हेर्नका लगि बढी मान्छेहरु आउने गरेका छन्।

पठन संस्कृति कम भएकोमा पूर्ण बहादुरको चिन्ता

प्रसिद्ध साहित्यकारहरु एवं राजनीतिज्ञहरुले समेत अध्ययन अवलोकन गरिसकेको विमल स्मृति पुस्तकालयमा पाठकहरु कम आउन थालेपछि पुस्तकालय सञ्चालक पूर्णबहादुर गुरुङलाई चिन्ता लाग्न थालेको छ। उनी भन्छन्, ‘पहिले-पहिले पाठकहरुको घुइँचो लाग्ने गर्दथ्यो। तर, अहिले इन्टरनेटको जमना आएर होला पाठकहरुको संख्यामा कमी आएको छ।’

उनले यसरी पठन संस्कृतिमा कमी आए पनि आफ्नो छोराको नाममा पुस्तकालय खोल्न पाएकोमा गौरवान्वित भएको बताए। उनले भने, ‘उमेर हुँदा ब्रिटिसको सेवामा समय बिताइयो। जीवनको साहरा छोरा थियो त्यो पनि २०४८ सालमा गुमाउन पुगे। तर, मलाई केही चिन्ता छैन। छोराको नाममा पुस्तकालय खोलेर समाजको सेवा गर्ने अवसर पाएको छु।’

पुस्तकालय खोलेपछि सुरुमा कर्मचारी राखेर दैनिक खोल्ने गरिन्थ्यो। उनले कर्मचारीको लागि २ लाख ४० हजार तलभबाट भुक्तानी गरेको पनि बताए। अहिले पूर्णबहादुर उमेरले ७४ वर्ष पुगे। शनिबारदेखि बाहेक दैनिक उनी पुस्तकालय खोल्छन्। दिउँसोको समय त्यही बिताउँछन्।

स्मृति पुस्तकालय धरानको गहना

पुस्तकालयमा भेटिएका धरान उप-महानगरपलिकाका प्रमुख पदका उम्मेदवार एवं माओवादी केन्द्रका नेता अइन्द्र विक्रम बेघाले विमल स्मृति पुस्तकालय धरानको गहना भएको बताए। उनले भने, ‘म बेला-बेलामा यस पुस्तकालयमा पत्रपत्रिका हेर्न तथा विभिन्न पुस्तकहरु अध्ययन गर्नका लागि आउने गरेको छु। पुस्तकालय एकजनाले खोलिएको भए पनि यो सबैको साझा सम्पति हो। जसले धरानको साहित्यिक गरिमालाई उचो बनाएको छ। यसको संरक्षण तथा प्रवर्दनमा सबैले चासो दिन जरुरी छ।’

५० लाखको अक्षय कोष डेढ करोडको भवन

ब्रिटिस आर्मीमा छँदा दोस्रो विश्व युद्धसमेत लडेको अनुभव सुनाउने पूर्ण बहादुरले छोराको स्मृतिमा पुस्तकालय खोले। छोराको मृत्यु हुँदा उनी विदेशमा नै थिए। पछि नेपाल आएर छोराको नाममा पुस्तकालय खोलेपछि उनी विदेश भ्रमणमा समेत गएका छैनन्। बाँकी जीवन छोराको स्मृतिमा खोलिएको पुस्तकालयमा नै बसेर बिताउने संकल्प गरेका ७४ वर्षीय पूर्णबहादुरले पुस्तकालयको नाममा ५० लाखको अक्षयकोष समेत स्थापना गरेको बताए।

पुर्ख्यौली घर खोटाङ भएका पूर्ण बहादुरको १ छोरा र १ छोरीको जन्म भएको थियो। छोरी विवाह गरेर अहिले आफ्नै घरमा बस्दै आएकी छन् भने श्रीमतीको पनि दुई वर्षअघि मृत्यु भएको उनले बताए। अहिले उनी कान्छी श्रीमतीसँग बस्दै आएका छन्। कान्छी श्रीमती तिरको कुनै सन्तान छैनन्।

पेन्सन र ब्याजको पैसाले पुस्तकालयको मर्मत

पूर्णबहादुर अवकाश प्राप्त वेलायती आर्मी भएको हुदा उनको ४० हजारभन्दा बढी पेन्सन आउँछ। सोही पेन्सन र अक्षय कोषबाट आएको ब्याजबाट अहिले पुस्तकालयको मर्मत गर्ने काम पनि भइरहेको पूर्णबहादुर बताउँछन्।

भदौसम्ममा मर्मत सकिने बताउँदै पूर्णबहादुरले भने, ‘मैले एक्लो प्रयासबाट यो पुस्तकालय सञ्चालन गर्दै आएको छु। अब चाँडै भविष्यमा नेपाल सरकारलाई बुझाउने तयारी गर्दै छु। तर, आफूमा केही गर्ने क्षमता रहुन्जेलसम्म आफैंले यस पुस्तकालयको रेखदेख र संरक्षण गर्नेछु। बाँकी यहाँको समुदायको जिम्मा।’

वार्षिक साहित्यिक प्रतियोगिता 

२०४८ सालमा स्थापना भएको विमल स्मृति पुस्तकालयको आयोजनामा बर्सेनि राष्ट्रिय कविता महोत्सव हुँदै आएको छ। २०४८ सालमा प्रसिद्ध साहित्यकार तथा पूर्वमन्त्री मोदनाथ प्रश्रितको प्रमुख आतिथ्यतामा कविता प्रतियोगिता भएको थियो। त्यसपछि निरन्तर रुपमा कविता प्रतियोगिता हुँदै आएको छ। 

पुस्तकालयको भएको अभिलेख देखाउँदै पूर्णबहादुर गुरुङले भने, ‘२०४८ सालमा प्रथम हुनेलाई रु ५०१ पुरस्कार दिइएकोमा २०७३ सालसम्म आइपुग्दा बीस हजार रुपैयाँ पुरस्कार राशि पुर्‍याएका छौं।’ यसका साथै उनले अबका दिनमा यस प्रतियोगितालाई थप प्रभावकारी बनाउँदै लगिने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.