|

काठमाडौं : स्थानीय तहमा स्वास्थ्य सेवा समूहतर्फबाट फाजिलमा रहेका कर्मचारीलाई तलब खुवाउन भन्दै विभिन्न स्थानीय तहले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग २ अर्बभन्दा बढी रकम मागेका छन्।

स्थानीय तहले स्वास्थ्यअन्तर्गतका फाजिलमा रहेका, स्तरवृद्धि भएर तलब बढेका र अन्य कारणले तलब भत्ता नपुगेका कारण केन्द्रीय सरकारसँग २ अर्बभन्दा बढी रकम मागेका हुन्।

स्थानीय तहले पटक–पटक स्वास्थ्यअन्तर्गतका फाजिलमा रहेका कर्मचारीलाई आफ्नो पालिकाबाट तलब भत्ता खुवाउन नसक्ने भन्दै दरबन्दीभन्दा बाहिर भएको समायोजन मिलानका कर्मचारी फिर्ता गर्न स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेका थिए।

फाजिलमा रहेका स्वास्थ्यकर्मीलाइ खुवाउन नपुग्ने रकमबारे अपुग बजेट माग स्वास्थ्य मन्त्रालयले स्थानीय तहलाई सूचना आह्वान गरेको थियो। सोही आह्वानका आधारमा स्थानीय तहले स्वास्थ्य मन्त्रालयसँग २ सय ५२ पालिकाले २ अर्ब ५ करोड ५९ लाख २२ हजार रुपैयाँ मागेका छन्।

मन्त्रालयको योजना महाशाखाका अनुसार सोहीअनुसार अर्थ मन्त्रालयमा थप बजेटका लागि पठाइएको छ।

यसरी बजेट माग्नेमा सबैभन्दा धेरै रकम पोखरा महानगरपालिकाले ४ करोड ५० लाख रुपैयाँ, तिलोत्तमा नगरपालिकाले ३ करोड ८५ लाख रुपैयाँ, हेटौडा उपमहानगरपालिकाले ३ करोड रुपैयाँ, वीरेन्द्रनगर नगरपालिकाले ३ करोड रुपैयाँ माग गरेका छन्। १ करोडभन्दा बढी माग गर्ने पालिका ८१ वटा रहेका छन्।

यसअघि चालू आर्थिक वर्षका लागि ७ सय ७३ स्थानीय तहमा स्वास्थ्यकर्मीहरुलाई बजेट व्यवस्थापन गर्न १७ अर्ब ४५ करोड विनियोजन गरिएको थियो।

स्वास्थ्य मन्त्रालयले तयार पारेको तथ्यांकअनुसार थप ३ अर्ब ३३ करोड रुपैयाँ अपुग हुने अनुमान गरिएको छ। जसमा स्थानीय तहबाट माग भई आएको २ अर्ब ५ करोड ५९ लाख रुपैयाँ भने बजेट व्यवस्थापन गर्न अर्थमा पठाइएको छ।

स्वास्थ्यका कर्मचारी समायोजन र समायोजन मिलान गर्दा दुर्गममा दरबन्दी भए पनि सुगममा कर्मचारी पठाइएपछि प्रत्येक वर्ष तलब भत्तामा समस्या आउन थालेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरुको भनाइ छ।

‘अहिलेको ठूलो समस्या भनेको दुर्गममा समायोजन भएको व्यक्ति सुगमको स्थानीय तहमा काम गरिरहेको छ तर दुर्गममा भएको दरबन्दीमा तलब गएको छ तर मान्छे छैन अर्कोतर्फ सुगमका स्थानीय तहमा फाजिलमा रहेका तिनै स्वास्थ्यकर्मीलाई तलब पठाउनु परेको छ‚’ मन्त्रालयमा योजना महाशाखाका एक अधिकारीले भने।

दुर्गममा समायोजन भएका स्वास्थ्यकर्मीहरुले सुगमका स्थानीय तहमा समायोजन मिलान गरेर बस्दा अहिले समस्या सिर्जना भएको ती अधिकारीले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.