|

काठमाडौं : गर्मी लागेसँगै फेरि डेंगुका बिरामी भेटिन थालेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा. गोकर्ण दाहालले फागुन अन्तिम सातायता देशभर ५१६ जना डेंगुका बिरामी भेटिएको बताए।

गत साउनमा शुरुमा ललितपुरमा डेंगुका बिरामी धेरै भेटिए पनि फागुनयता ललितपुरबाट डेंगुका बिरामी न्युन रिपोर्ट भएको भए पनि देशका अन्य भागमा देखिन थालेको छ।

फागुनयता देशभर ५ सयभन्दा बढी केस रिपोर्ट भएको छ, हुन त केही दिनयता अलि कम केश रिपोर्ट भएको छ तर गर्मी बढ्दै गएको हुँदा संक्रमणको जोखिम धेरै छ। त्यसैले सबैले सजगता अपनाउनु पर्छ‚’ डा. दाहालले भने।

महाशाखाका अनुसार फागुनयता सबैभन्दा धेरै दार्चुलामा डेंगुका बिरामी ४० जनाभन्दा बढी भेटिएका छन् भने बाँकी काठमाडौं‚ भक्तपुरसहित देशभरका ४० जिल्ला रहेका छन्।

डेंगुका बिरामी पुनः देखिन थालेपछि सबै प्रदेश तथा सबै स्थानीय तहका स्वास्थ्य प्रमुखहरूलाई सावधानी अपनाउन आग्रह गरिएको महाशाखाका डा दाहालले बताए।

‘गत साउनदेखि कात्तिकसम्म हाम्रोमा यो वर्ष डेंगु धेरै देखियो। अहिले पनि संक्रमणको जोखिम देखिएको छ यस्तो अवस्थामा संक्रमण नियन्त्रण गर्न वेलैमा योजना बनाउन प्रदेश सरकारदेखि सबै स्थानीय तहका स्वास्थ्य प्रमुखहरूसँग छलफल गरिसकेका छौँ। शुरुमै सावधानी अपनाएर संक्रमण बढ्न नदिने रणनीति छ’‚ डा. दाहालले भने।

यो वर्षको साउनदेखि गत कात्तिकसम्म काठमाडौं उपत्यकासहित देशभर डेंगु संक्रमण तीव्र फैलिएको थियो। यो अवधिमा ५४ हजार ७८४ जनामा डेंगु संक्रमण भएको थियो भने डेंगुकै कारण ८८ जनाले ज्यान गुमाएका थिए।

गत वर्ष असारदेखि मंसिरसम्म काठमाडौं, ललितपुरमा डेंगुले महामारीकै रूप लिएको थियो। त्यस समयमा तीव्र गतिमा डेंगु फैलिएपछि इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाले स्वास्थ्य सङ्कटकाल लगाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई सिफारिससमेत गरेको थियो।

स्वास्थ्य सङ्कटकाल लगाउँदा अन्य विषयमा असर पर्ने देखिएपछि स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सङ्कटकाल घोषणा गरेको थिएन।

गर्मी मौसममा र तराईमा मात्र देखिने डेंगु बाह्रै महिना र उच्च हिमाली जिल्लामा देखिन थालेको छ। चिसो मौसममा शून्यमा झर्ने डेंगु सङ्क्रमण यस वर्ष जाडोमा पनि देखा पर्नुले स्वास्थ्य प्रणालीका लागि चुनौती नै बनेको छ।

सामान्यतः डेंगुअसारदेखि कात्तिकसम्म तीव्र गतिमा बढ्ने भए पनि हाल माघ फागुनमा नै डेंगुका बिरामी देखिन थालेका छन्। सन् २०१० मा तराईका रुपन्देही, नवलपरासीलगायतका जिल्लामा डेंगुले महामारीका रूप लिएको थियो। नेपालमा पहिलो पटक सन् २००६ मा चितवनमा पहिलो पटक डेंगु पुष्टि भएको थियो।

यता टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पनि फाट्टफुट्ट डेंगुका बिरामी आउन थालेका छन्। अस्पतालका अनुसार हाल मौसमी फ्लूका बिरामी धेरै आउने गरेको तर फाट्टफुट्ट डेंगुका बिरामी आउने गरेको बताएको छ।

अस्पतालका ओपिडी इन्चार्ज शंकर पाण्डेले भने ‘गर्मी र वर्षा सुरु भएको अवस्थामा डेंगुको जोखिम बढ्दै गएको छ, हालसम्म त डेंगुभन्दा पनि कडा खालका मौसमी फ्लूकै बिरामी धेरै आउनु हुन्छ। अहिले पनि दैनिक ६० जना सम्म कडा खालका मौसमी फ्लूका बिरामी आउनु भएको छ।’  

पुनः डेंगु संक्रमण देखिन थालेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुरक्षित रहन आग्रह गरेको छ। मन्त्रालयले पूरा बाहुला भएका लुगा लगाउन, झुलभित्र मात्र सुत्न, झ्यालढोकामा लामखुट्टे नछिर्ने जाली हाल्न, घर कार्यालय, विद्यालय वा सार्वजनिक क्षेत्रमा पानी जम्न नदिन आग्रह गरेको छ।

यसका साथै घरवरपरका खाल्डाखुल्डी पुर्ने र खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्न, गमलाको प्लेट, फूलदानी, कुलर आदिको पानी कम्तीमा हप्ताको एकपटक फेर्ने, पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोप्ने, साँझबिहान करेसाबारीमा जाँदा, घर बाहिर वा पार्कमा जाँदा, बालबालिकालाई लैजाँदा लामखुट्टेले नटोकोस् भनेर विशेष सावधानी अपनाउनसमेत मन्त्रालयले आग्रह गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.