न्यायका लागि विराटनगरमा शान्तिपूर्ण आन्दोलन शुरु

|

विराटनगर : इटहरी उपमहानगरपालिका–१९ ब्रह्मपुरका लालबहादुर विक तरहराको सिंहदेवी ज्वेलर्समा ज्यालामजदुरीमा काम गर्थे। रोजीरोटीका लागि ३ वर्ष मलेसिया बसेर नेपाल फर्किएका उनी ०७३ सालदेखि सिंहदेवी ज्वेलर्समा काम गर्दै आइरहेका थिए।

आफूले काम गर्दै आइरहेको ठाँउमा लगनशिलता र इमान्दारिपूर्वक जिम्मेवारी वहन गर्दै आइरहेका उनलाई मालिकले दिएको जिम्मेवारी पूरा गर्दा‚ कुनै बदमासी र बेइमानी नगर्दा जेल जीवन भोग्नु पर्छ भन्ने कल्पनासमेत गरेका थिएनन्। तर नसोचेको कुरा उनले अहिले भोगिरहेका छन्।

लालबहादुर विश्वकर्माले काम गर्दै आइरहेको मालिक दिपक गजमेरले गरेको ठगी धन्दाको सिकार भएका छन्। उनी यतिबेला १८ महिना जेल र ३ करोड १४ लाख रूपैयाँभन्दा बढी बिगो सजाय बेहोरिरहेका छन्।

यता, दीपक गजमेरका बाबु कृष्णबहादुर विश्वकर्माले पनि अदालतमा लालबहादुर निर्दोष रहेको बयान  दिएका छन् तर पनि सुनसरी जिल्ला अदालतले भने हचुवाको भरमा फैसला गर्दा न्यायको आशमा लालबहादुर र उनको परिवार छटपटाइरहेका छन्।

लालबहादुरले जिल्ला अदालत सुनसरीको फैसलाविरुद्ध विराटनगर उच्च अदालतमा पुनरावेदन गरेका छन् तर पटक पटक पेसी सरेको सरै गर्दा उनको मुद्दा किनारा लागेको छैन।

गत साउन २० गते उच्च अदालतमा निवेदन दिएका पीडित परिवारको पेसी गत पुस ३ गते राखिएको थियो तर विविध कारणले पेसी पुस २६ गतेलाई सर्‍यो। 

त्यसपश्चात् माघ ३ गतेलाई तोकिएको भए पनि फेरि सरेर माघ २४ मा पुगेको थियो। माघ २४ गते पनि  ‘हेर्न नमिल्ने’मा परेपछि पुनः २६ फागुन २०७९ सालका लागि उक्त मुद्दाको पेसी चढ्यो।

गोला प्रथाबाट मुद्दा भाग लगाउने विधिअनुसार उक्त मुद्दा सत्यमोहन जोशी थारू र रामबहादुर थापाको इजलासमा परेको थियो।

तर न्यायाधीश सत्यमोहन जोशी थारूको इजलासमा परेको भन्दै फेरि हेर्न नमिल्नेमा पर्‍यो। २६ फागुनपछि २८ चैत २०७९ सालमा सत्यमोहन जोशी थारू र किरणकुमारी गुप्ताको इजलासमा पेसी तोकियो तर थारूको इजलासले सुरुमा आदेश गरेको भन्दै मुद्दा हेर्न नमिल्नेमा पर्‍यो।

​पछिल्लोपटक १९ वैशाख २०८० को पेसीमा समेत हेर्न नमिल्नेमै मुद्दा बस्यो। दिनेशप्रसाद यादव र मुरारिबाबु श्रेष्ठको इजलासमा परेपछि फेरि पनि सो मुद्दा हेर्न नमिल्नेमा पुगेको हो। अब फेरि जेठ ९ गतेका लागि पेसी तोकिएको छ।

न्याय पर्खंदै लालबहादुर

​मुद्दा सुनुवाईको पर्खाइमा तडपिएका लालबहादुर ४ महिनादेखि रामधुनीस्थित क्षेत्रीय कारागार झुम्कामा छन्। मालिकको आदेश पालन गर्दा ठगी अभियोगमा मुछिएका लालबहादुरलाई सुनसरी जिल्ला अदालतले दोषी ठहर्‍याउँदै कारागार चलान गरेको थियो।

त्यसो त आफू निर्दोष रहेको भन्दै उच्च अदालत विराटनगर पुगेको ९ महिना बितिसक्दा पनि उनले न्याय पाउने छाँटकाँट भने छैन।

निर्दोष हुँदाहुँदै पनि जेल जीवन बिताइरहेको श्रीमानको रिहाइको माग राख्दै उनकी श्रीमती धेरैको अगाडि आफ्ना व्यथा सुनाए पनि न्यायको ढोका कसरी खुल्छ भन्ने मेसो अझै पाउन सकेकी छैनन्।

के थियो घटना ?

लालबहादुरले काम गर्दै गरेको सुन पसलमा सुनको व्यवसाय मात्रै थिएन। 

उनका मालिक अर्थात दीपक विश्वकर्माले सहकारीसमेत सञ्चालन गर्थे। दीपकले सेवाग्राहीको रकम बचत गर्ने र ब्याज अन्य सहकारी र बैंकलेभन्दा धेरै दिने गर्थे। 

जसले गर्दा उनको ज्वेलरीमा सञ्चालन गरेको सहकारीमा बचतकर्ताहरुले धेरै ब्याज पाउने आशले रकम जम्मा गर्ने गर्थे।  उनले झण्डै १९ करोड रूपैयाँभन्दा धेरै रकम सङ्कलन गरेका थिए।

दीपक नहुँदा उनका बुबा कृष्ण विश्वकर्माले पसलको कारोबारका साथै सम्पूर्ण कारोबार हेर्ने गर्थे। कृष्ण पढालेखा नभएकाले सेवाग्राहीहरुले बचत गर्न ल्याएको रकम बचतपछि पासबुकमा सही गर्न नजान्दा लालबहादुरलाई रकम बुझिलिएको हस्ताक्षर गर्न लगाएका थिए।

त्यही मालिकले दिएको जिम्मेवारी पूरा गर्दा अहिले लालबहादुर कानुनको कठघरामा उभिएका छन्। सेवाग्राहीले बचत गरेको रकम फिर्ता गर्न नसकेपछि १९ पुस २०७८ मा जिल्ला अदालत सुनसरीकी न्यायाधीश निर्मला योङ्वाको इजलासले दीपक, उनका बुबा कृष्ण, दिदी सीतासँगै लालबहादुरलाई पनि दोषी ठहर गरेको छ।

जिल्ला अदालतले  लालबहादुरलाई डेढ वर्ष कैद र ७० हजार जरिवाना तोकेको छ। यसबाहेक ठगी भएको १८ करोड ८४ लाख ६६ हजार ८८९ रूपैयाँ लालबहादुरसहित ४ जनाबाट प्रतिव्यक्ति अपराधको कसुरमा भराउने फैसला भएको छ। जसअनुसार लालबहादुरले ४ करोड ७१ लाख १६ हजार ७२२ रूपैयाँ २५ पैसा अपराध कसुर तिर्नुपर्ने छ।

जिल्ला अदालतले लालबहादुरलाई कैदसँगै झण्डै ५ करोडको बिगो तिर्नुपर्ने भनेको छ तर उनको परिवारको यति ठूलो रकम तिर्न सक्ने आर्थिक अवस्था छैन।

न्यायको लागि शान्तिपूर्ण अभियान

लालबहादुर विकको न्यायका लागि शान्तिपूर्ण अभियान थालिएको छ। विराटनगरका न्यायप्रेमी युवाहरुले विकको मुद्दामा चाँडोभन्दा चाँडो सत्यतथ्य छानबिन गरी निर्दोषलाई उन्मुक्ति र दोषीलाई सजाय दिन अनुरोध गर्दै शान्तिपूर्ण अभियान थालिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.