लोप हुँदै चैनपुरे करुवा

|
चैनपुरे करुवा (बीचमा) र पार्कमा राखिएको करुवाको प्रतिमा (बायाँ) र विवादित भएपछि छोपिएको प्रतिमा (दायाँ)।।

विराटनगर : चैनपुरको करुवाको प्रसिद्धी यस्तो छ कि कुनै सभा समारोह होस् या पाहुनालाई मायाको चिनो दिनुपर्ने होस् सबैको रोजाइमा चैनपुरे करुवा पर्छ।

घर सजावटका लागि पनि चैनपुरे करुवाको माग खुबै हुने गर्छ। मेहनतपूर्वक राम्रो काँसमा कुँदिएको चैनपुरे करुवाको सुन्दर बुट्टाले जो सुकैलाई पनि लोभ्याउँछ।

तर पछिल्लो समय करुवा बनाउने सिपमूलक कामको पुस्तान्तरण नहुँदा बनाउने दक्ष जनशक्ति र कच्चा पदार्थको अभावमा चैनपुरे करुवाको व्यवसाय घट्दो छ। 

यसले गर्दा करुवासँग नाम जोडिएको संखुवासभा जिल्लाको चैनपुरको परिचय कायम राख्न र यसको अस्तित्व जोगाउन निकै समस्या पर्न थालको छ। 

चैनपुरे करुवाको परिचय कायम राख्न चैनपुर नगरपालिकाले जिरोप्वाइन्टमा बुधबार करुवाको प्रतिमा स्थापना गरेको थियो।

तर उदघाटन पनि हुन नपाई स्थानीय स्तरबाट चौतर्फी विरोध आएपछि नगरपालिकाले विज्ञप्ति जारी गर्दै करुवाको प्रतिमालाई त्रिपालले छोपेको छ।

पार्कमा निर्माण भएको करुवाको आकार र बनावट चैनपुरे  करुवाको जस्तो नभएको भन्दै स्थानीय युवराज ताम्राकारले असुन्तुष्टि पोखे। बचेको एउटा पहिचान, चैनपुरको सम्पत्ति, चिनो, पुर्खाको इतिहास नै गुमाएको महसुस भएको उनले बताए।

करुवाको लागि प्रसिद्ध ठाउँ भनेर चिनिएको ऐतिहासिक ठाउँ चैनपुर जिरो प्वाइन्टमा निर्माण भइसकेको करुवाले चैनपुरकै इतिहास मेट्ने काम भएको बताउँदै उनले चैनपुरे करुवाको अस्तित्व र मेहनती हातहरुको हात काट्ने काम भएको बताए।

उनले सम्बन्धित निकायले यो विषयमा गहन रुपले सोच्नुपर्ने र गलत कामलाई सच्याउनुपर्ने देखिएको समेत बताए।

पुरानै बजेटलाई प्राथमिकता दिएको हो : कृष्णकुमार तामाङ

यता, चैनपुर नगरपालिकाका प्रमुख कृष्णकुमार तामाङले आर्थिक वर्ष ०७९/८०  को कार्यक्रमलाई प्राथमिकता दिएको बताए।

अघिल्लो नगरप्रमुखको कार्यकालमा चैनपुर जिरोप्वाइन्टमा करुवासहितको पार्क निर्माण गर्ने भन्ने निर्णय गरिएको र सोहीअनुसार काम गरिएको उनले बताए।

‘यो अघिल्लो कार्यकालको योजना हो, ०७९/८० को कार्यक्रमअनुसार चैनपुर नगरपालिकाले जिरोप्वाइन्टमा चैनपुरे कुरुवासहितको पार्क निर्माण गर्ने निर्णय गरिएको रहेछ। सोहीअनुसार पार्क निर्माण गर्न उपभोक्ता समिति गठन पनि गरेको रहेछ,’ उनले भने, ‘उपभोक्ता समितिले काठमाडौं ललितपुरको इमाडोल भन्ने ठाँउमा रवि शाक्यलाई निर्माण गर्न दिएको रहेछ, म निर्वाचित भएपछि उपभोक्ता समितिलाई खोजेर काम सुरु गराएको हो।’

अघिल्लो कार्यकालमा यहीँको स्थानीय कालिगढलाई भन्दा नसक्ने भनेपछि ललितपुरमा करुवा बनाउन दिएको बताउँदै उनले सम्झौताअनुसार काम नभएको स्विकार गरे।

‘सम्झौतामा काँस भनिएको रहेछ, बनेछ पित्तलको अनि १ हजार केजी भनिएको रहेछ ठूलो भएकाले जोख्न सकिएन अनुमानित ५ देखि ६ सय केजी होला भन्ने छ,’ उनले भने, ‘सम्झौताअनुसार निर्माण नभएकाले नमुना दिएर पठाएका छौँ, उहाँहरुले त्यस्तै बनाएर ल्याउने विषयमा सम्झौता भएको छ।’

२० लाख रुपैयाँको लागतमा निर्माण हुने करुवाको सम्झौता गर्दै ९ लाख रुपैँया पेस्कीस्वरुप  कालिगढले लगिसकेको उनले बताए। 

पछिल्लो समय चैनपुरमा करुवा निर्माण हुन छोडिसकेको र ऐतिहासिक कुरालाई स्थायित्व दिन र यसलाई संरक्षण गर्न नगरपालिकाको योजना रहेको उनले बताए।

धरानको करुवा चैनपुरे भन्दै बेच्ने प्रवृत्ति रहेको बताउँदै एक जनप्रतिनिधिले भने,‘यहाँका स्थानीयहरु पहिचान खोज्छन् तर धरानको करुवा ल्याएर चैनपुरे भन्दै बेच्ने गर्छन्।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.