|

ढाका : परराष्ट्रमन्त्री एनपी साउद र उनका भारतीय समकक्षी डा एस जयशङ्करबीच भेटवार्ता भएको छ।

छैटौँ हिन्द महासागर सम्मेलनमा भाग लिन बङ्गलादेशको ढाका पुगेका दुवैबीच शुक्रबार भेटवार्ता भएको बङ्गलादेशस्थित नेपाली दूतावासले जनाएको छ।

दुवै मन्त्रीले नेपाल–भारत सम्बन्धको उत्कृष्ट अवस्थाप्रति सन्तोष व्यक्त गर्दै व्यापार, पारवहन, कनेक्टिभिटी, जलविद्युतलगायतका क्षेत्रमा सहयोगलाई थप सुदृढ बनाउने विषयमा छलफल गरेका थिए।

परराष्ट्रमन्त्री साउद बङ्गलादेशको ढाकामा यही वैशाख २९ र ३० गते हुने छैटौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुन शुक्रबार दिउँसो त्यसतर्फ प्रस्थान गरेका थिए। 

‘शान्ति, समृद्धि र उत्थानशील भविष्यका लागि साझेदारी’ नाराका साथ हुन लागेको उक्त सम्मेलनमा उनले वैशाख ३० गते सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

परराष्ट्रमन्त्री र उनी नेतृत्वको नेपाली प्रतिनिधिमण्डललाई ढाकाको हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा बङ्गलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारी र बङ्गलादेशको परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीले स्वागत गरेका थिए।

आजै परराष्ट्रमन्त्री साउद र उनका बङ्गलादेशी समकक्षी डा एके अब्दुल मोमेनबीच पनि भर्चुअल वार्ता भएको थियो। 

सो अवसरमा दुवै मन्त्रीले नेपाल–बङ्गलादेश सम्बन्धका विभिन्न पक्षको बारेमा जानकारी आदानप्रदान गर्नुका साथै व्यापार, पारवहन, लगानी, ऊर्जा, शिक्षा, जनस्तरको सम्बन्धलगायतका क्षेत्रमा सहकार्य अभिवृद्धि गर्न मिलेर काम गर्न सहमत भएका थिए।

परराष्ट्रमन्त्री साउद आज साँझ सम्मेलनको उद्घाटन सत्र र त्यसपछि बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले सम्मेलनमा सहभागी हुन आउने प्रतिनिधिमण्डलका प्रमुखको सम्मानमा आयोजना गर्ने सांस्कृतिक सोइरी र रात्रिभोजमा सहभागी हुनेछन्। उनले सम्मेलनका क्रममा जापान, सिङ्गापुर र संयुक्त राज्य अमेरिकाका प्रतिनिधिमण्डलका प्रमुखहरूसँग छुट्टाछुट्टै भेटवार्ता गर्नेछन्।

परराष्ट्रमन्त्री साउदका साथ उनकी पत्नी ज्योत्स्ना अधिकारी साउद, मन्त्रालयका सहसचिव रामप्रसाद सुवेदी, परराष्ट्रमन्त्रीका स्वकीय सचिव खुमान थापा क्षेत्री रहेका छन। उनी वैशााख ३१ गते आइतबार स्वदेश फर्कनेछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.