सर्लाही : जिल्लाको बरहथवा–५,चोर्निया पुलबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। गोडैता नगरपालिका–११ का २२ वर्षीय अजय सहनी र सोही ठाउँका ३२ वर्षीय ताजबावु दर्जी बिहीवार पक्राउ परेका हुन्।
जिल्लाको मधुवनबाट काठमाण्डौ जाँदै गरेको यात्रुवाहक बसबाट लागुऔषधसहित पक्राउ परेका उनीहरूलाई आज (शनिबार) इलाका प्रहरी कार्यालय बरहथवामा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो।
छिमेकी मुलुक भारतसँग सीमा जोडिएको मधुवन गाउँबाट काठमाण्डौं जाँदै गरेको बागमती प्रदेश ०६–००१ ख ०००३ नम्बरको यात्रुबाहक बसलाई इलाका प्रहरी कार्यालय बरहथवा र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस सुन्दरपुरको संयुक्त टोलीले गाडी चेकजाँच गर्ने क्रममा सहनीको साथबाट लागूऔषध एक सय एमएलको कोडीवेल ८९ बोतल, नोफिन २ एमएलको ९१ थान, डाइजिपाम २ एमएलको ९१ थान, फेनरगन २ एमएलको २७४ थान, नाइट्रोभेट ३ सय थान,निट्जा केयर ९ सय थान र दर्जीको साथबाट कोडीवेल कफसिरप १सय एमएलको ९८ थान लागु औषध सहित पक्राउ परेको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए।
पक्राउ परेका सहनी गाडीको सहचालक र दर्जी कण्डक्टर रहेको बुझिएको छ। उनीमाथि थप अनुसन्धान भइरहेको छ प्रहरी नायव उपरीक्षक मिश्रले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।