|

इस्लामाबाद : पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान हाल पाकिस्तानमा सबैभन्दा लोकप्रिय नेता बनेका छन्। उनको लोकप्रियता आफ्नो प्रान्त खैबर पख्तुनख्वामा मात्र नभई देशभर बढेको छ।

खैबर पख्तुनख्वा प्रान्तमा खानको पार्टी दश वर्षदेखि सत्तामा छ। अहिले सरकार विरोधका साथ जनसभा, सामाजिक सञ्जालका माध्यमबाट उनी थप लोकप्रिय बनेका छन्।

पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई)का प्रमुख तथा पूर्व क्रिकेटर इमरान खानको लोकप्रियता अहिले देशको हरेक कुनामा फैलिएको छ। पाकिस्तानको सबैभन्दा ठूलो प्रान्त पञ्जाबका जनताले खानलाई भव्य समर्थन गरेका छन्।

इमरान खानले जे भन्छन् र जे गर्छन् त्यसलाई आफूहरूको समर्थन रहेको पञ्जावका बासिन्दाले बताएका छन्। उनीहरूले अहिले पनि स्वतन्त्र, गौरवमय र सम्मानित पाकिस्तानको एक मात्र आशा इमरान खान भएका बताउँछन्।

वरिष्ठ राजनीतिक विश्लेषक जावेद सिद्दिकीले भने, ‘इमरान खानको लोकप्रियता खैबर पख्तुनख्वामा मात्रै सीमित छैन। पञ्जाब, सिन्ध र बलुचिस्तानमा उनका कट्टर प्रशंसक बढेका छन्। उनीहरूले इमरानबिना पाकिस्तानको अस्तित्व नै नभएको बताउँछन्। इमरानसँग पाकिस्तानमा अहिले देखिएका समस्याको समाधान नहुन सक्छ तर जनताले उनलाई विश्वास गरेका छन्।

इमरानको लोकप्रियता सिन्ध र बलुचिस्तानमा पनि बढ्दो छ। इमरानको आह्वानमा प्रत्येकपल्ट लाखौँ मानिस प्रदर्शनमा बाहिर निस्किएका छन्। मानिसहरू उनलाई जवाफ दिन्छन्‚ उनको कुरा सुन्छन् र उनको छेउमा उभिन्छन्।

इमरान खानलाई जनताको व्यापक समर्थन हुनुको कारण छ। पाकिस्तानमा देशको शक्तिशाली सेना र अन्य प्रमुख राजनीतिक दलहरूको वंशवादी राजनीतिक संरचना विरुद्ध एक्लो योद्धा हुन्।

वरिष्ठ राजनीतिक विश्लेषक अदनान शौकतले इमरान खानले गरेको काम पाकिस्तानी इतिहासमा कसैले गर्न नसकेको स्पष्ट पार्छन्। उनले सैनिक शक्तिलाई चुनौती दिइरहेका छन्।

पाकिस्तानी जनताले व्यक्तिगत स्वार्थमा रमाएका वंशवादी नेताहरूले देशलाई लुटेको बताउँदै उनीहरूसँग लड्न सक्ने नायकको रूपमा इमरानलाई देख्ने गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.