|

काठमाडौं :बर्षात् सुरु नहुँदै झाडापखालाको जोखिम बढ्दै गएको छ। यति मात्रै होइन‚ झाडापखालाले डडेलधुरामा एक जनाको मृत्युसमेत भइसकेको छ।

डडेलधुराको पशुराम नगरपालिका–८ गुप्तगडामा झन्डै एक हप्तादेखि फैलिएको पखालाले एक जनाको मृत्यु भएको हो। पखालाले सिकिस्त भएकी गुप्तगडा गाउँकी १४ वर्षीया सङ्गीता धामीको उपचारका क्रममा मृत्यु भएको जोगबुढा अस्पतालले जनाएको छ।

गुप्तगडाका १४८ जना बासिन्दा पखालाबाट बिरामी भएका छन्। स्वास्थ्य निर्देशनालय दिपायलले १० महिनादेखि ९० वर्ष उमेरसम्मका बासिन्दा पखालाबाट प्रभावित भएको जनाएको छ।

यता हाल डडेलधुराको झाडापखाला नियन्त्रणमा आइसकेको दावी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गरेको छ। 

महाशाखाका अनुसार केही दिनयता डडेलधुराको परशुराम नगरपालिकामा फैलिएको झाडापखाला हाल नियन्त्रणमा आइसकेको छ। महाशाखाका झाडापखालासम्बन्धी फोकल पर्सन उपेन्द्र ढुङ्गानाका अनुसार काठमाडौंबाट परीक्षणका लागि ‘कलेरा किट’ पठाइसकिएको र अन्य प्राविधिक सहायता पठाएपछि डडेलधुरामा फैलिएको झाडापखाला नियन्त्रणमा आएको हो।

उनले भने‚ ‘खानेपानीको स्रोत नै प्रदूषित भएका कारण त्यहाँका ७० घरसम्म असर गरेको रहेछ‚ अहिले त स्थानीय तह प्रदेश स्वास्थ्य निर्देशनालयको सहकार्यमा संक्रमण नियन्त्रणमा आएको छ हामीले पनि यहाँबाट टेक्निकल सपोर्टका साथै कलेरा किटसमेत पठाएका छौँ।‘

जोखिममा काठमाडौं पनि

डडेलधुराबाहेक हालसम्म यो वर्ष अन्य जिल्लाहरुमा झाडापखाला हैजाजस्ता संक्रमण रिपोर्ट नभएको समेत ढुङ्गानाले बताए। उनका अनुसार गत वर्ष हैजाका बिरामी भेटिएको काठमाडौं उपत्यकामा यो वर्ष पनि संक्रमणको जोखिम रहेको छ।

अघिल्लो वर्ष हैजा संक्रमण फैलिएको काठमाडौं यस वर्ष पनि जोखिममा रहेको हुँदा त्यसका लागि सम्बन्धित निकायलाई सजग रहन आग्रह गरिएको समेत ढुङ्गानाले बताए।

देशभर गर्मी बढ्दै गएसँगै विभिन्न सरुवा रोगको जोखिमसमेत बढ्दै गएको छ। सामान्यतया जाडो याममा भन्दा पानी तथा कीटजन्य संक्रामक रोगहरु धेरै देखिने हुँदा सतर्कता अपनाउनुपर्ने भएकाले गत वर्षजस्तै यस वर्ष काठमाडौंमा हैजा तथा झाडापखाला नदेखियोस् भनेर सम्बन्धित निकायलाई सजग गराइएको ढुङ्गानाले बताए।

‘गत वर्ष काठमाडौंका विभिन्न ठाउँमा हैजा देखियो। यो वर्ष पनि जोखिम बढी रहेको छ‚ त्यसैले हामीले काठमाडौं खानेपानी लिमिटेड तथा स्थानीय तहसँग निरन्तर छलफल गरिरहेका छौं‚’ ढुङ्गानाले भने।

विशेष गरी बर्षातका बेला ढल फुटेर खानेपानीमा मिसिँएर हैजा तथा झाडापखालालगायतका विभिन्न रोगको संक्रमण हुने गरेको छ।

गत वर्ष उपत्यकामा २७ जनाभन्दा धेरै हैजा संक्रमित भेटिएका थिए। नेपालमा पछिल्लो पटक हैजाका कारण २०७८ साल असोज दोस्रो साता कपिलवस्तुको कृष्णनगर नगरपालिकाका ७, ८ र ९ वडामा हैजा फैलँदा ४ जनाको मृत्युसमेत भएको थियो।

यो मौसममा झाडापखाला, हैजा तथा हेपाटाइटिस ए, बी जस्ता पानीजन्य संक्रमणबाट हुने रोगबाट जोगिनुपर्नेसमेत ढुङ्गानाले बताए।

नेपालमा २०७८ साल असोजमा कपिलवस्तुको कृष्णनगर नगरपालिका–९ बाट असोज मध्यमा सुरु भएको झाडापखालाको प्रकोप शिवराज नगरपालिका, विजयनगर गाउँपालिका र यशोधरा गाउँपालिकाका बासिन्दामा समेत देखिएको थियो।

त्यसबेला अस्पतालमा भर्ना भएका बिरामीको दिसा परीक्षण गर्दा उनीहरूमा हैजा भएको प्रमाणित भएको थियो। कपिलवस्तु फैलिएको उक्त हैजा नियन्त्रणको लागि सरकारले डब्ल्युएचओसँग ‘ओरल कलेरा भ्याक्सिन’ दिएको थियो।

यसअघि २०६६ सालमा जाजरकोटमा हैजा फैलिँदा महामारीकै रूप लिएको थियो। त्यसबेला जाजरकोटबाट फैलिएको हैजा सुर्खेत, दैलेख, रुकुम, रोल्पालगायत ७ जिल्लामा देखा परेको थियो। काठमाडौं उपत्यकामा पनि सन् २०१५ र २०१६ यता हैजाका बिरामी फाटफुट देखिएका छन्।

वर्षाको समयमा नेपालमा हरेक वर्ष विभिन्न स्थानमा देखिने हैजा तथा झाडापखाला जस्ता संक्रामक रोग विशेषगरी दूषित पानीकै कारण हुने हुँदा यो समयमा खानेपानीमा विशेष ध्यान दिनुपर्ने महाशाखाका पानीजन्य संक्रामक रोगका फोकल पर्सन ढुङ्गानाले बताए। 

यी हुन् बर्षातमा देखिने पानीजन्य संक्रामक रोग

टाइफाइड:  यो मौससमा धेरैमा टाइफाइड ज्वरो देखिने गर्छ। साल्मोनेला समूहको जीवाणु मानव शरीरमा प्रवेश गरेपछि त्यसले टाइफाइड गराउँछ। साल्मोनेला समूहमा धेरै खालका जीवाणु हुन्छन् तर टाइफाइड भएका बिरामीमा बढी मात्रामा साल्मोनेला टाइफाइड र प्यारा टाइफाइडका जीवाणु भेटिन्छन्।

दूषित पानी र खाद्य पदार्थ सेवनबाट लाग्ने यो रोगका जीवाणु प्रायः गर्मी र बर्खाको समयमा बढी क्रियाशील हुने गर्छ। नेपालको सन्दर्भमा हेर्ने हो भने यो रोगबाट बढी मात्रामा १५ वर्षभन्दा कम उमेरका केटाकेटी प्रभावित हुने गरेको देखिएको छ। टाइफाइड भए शरीरमा हनहनी ज्वरो आउँछ। त्यसबाहेक रिँगटा लाग्ने, वाकवाकी लागेर कसै कसैलाई बान्ता पनि हुने, शरीर गल्ने, खान मन नलाग्ने हुन्छ।

झाडापखाला:  यो मौसममा देखिने पानीजन्य अर्को सरुवा रोग झाडापखाला हो। वर्षाको समयमा हामीले खाने धेरैजसो पानी दूषित हुने हुँदा झाडापखाला देखिने गर्छ। शहरको तुलनामा ग्रामीण भेगमा यस मौसममा झाडापखाला धेरै देखिने गर्छ। यस मौसममा खानेपानीको मुहान फोहोर हुने वा दिसामा पाइने कोलिफर्म पानीमा मिसिँदा झाडापखाला धेरै देखिने गर्छ।

हेपाटाइटिस ए र बी: हामीले खाने खाद्य पदार्थ र पानीले गर्दा यस मौसममा देखिने अर्को प्रमुख सरुवा रोग हेपटाइटिस ए र बी अर्थात जन्डिस पनि हो। बासी खानेकुरा र दूषित पानीले धेरैलाई जन्डिस हुने गर्छ। शरीरमा पानीको कमी हुनु तथा बजारमा राखिएका बासी खानेकुरा खाएमा पनि धेरैलाई जन्डिस देखिने गर्छ। सुरुमा ज्वरो आउने शरीर गल्दै जाने जन्डिसका प्रमुख लक्षण हुन्।

हैजा: हामीले खाने दूषित पानी र खानेकुराले गर्दा यस मौसममा धेरैलाई आउँ देखिने गर्छ। पेट दुख्ने, दिसामा रगत देखिने तथा ज्वरो आउने गर्छ। लामो समय उपचार नगरेमा शरीरमा पानीको मात्रा कम हुने र शरीरका महत्वपूर्ण अंगंहरुले काम गर्न छाड्छन्। जसले गर्दा यस मौसममा आउँबाट बच्न हामीले खानेपानी र खानेकुरामा विशेष ध्यान दिनु आवश्यक हुन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.