|

काठमाडौं : प्रि–मनसुन शुरु भएसँगै काठमाडौं उपत्यकामा झाडापखालाका बिरामी देखिन थालेका छन्। टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा केही दिनयता दैनिक १० जनासम्म झाडापखलाका बिरामी उपचारका लागि जाने गरेका छन्।

अस्पतालका इमर्जेन्सी इन्चार्ज लीलानाथ भण्डारीका अनुसार केही दिनयता अस्पतालमा झाडापखालाका बिरामी आउन थालेका हुन्। ‘दुई तीन दिनयता झाडापखालाका बिरामी आउने क्रम बढेको छ’,उनले भने।

यता अस्पतालका सरुवा रोग विशेषज्ञ डा‍. शेरबहादुर पुनले पनि झाडापखालाका बिरामी उपचारमा आउन थालेको बताए। ‘झाडापखलाका बिरामी उपचार आउन थाल्नु भएको छ। हामीले के बुझ्नु पर्छ भने झाडापखला अहिले समुदायमा फैलिने क्रममा रहेको छ’, डा पुनले भने। उनका अनुसार अहिले आएका धेरै बिरामीमा दूषित पानीको कारणले भन्दा पनि गर्मी बढेसँगै धेरैमा अस्वस्थकर खानपानको कारणले गर्दा झाडापखला देखिएको हो। ‘ गर्मी  शुरु भएसँगै अस्वस्थकर खानपानको कारण झाडापखलाका बिरामी बढेको देखिन्छ तर अब पानी पनि पर्न थालेको छ अब विस्तारै झाडापखलाका बिरामी बढ्ने जोखिम बढेको छ’,उनले भने।

उनका अनुसार झाडापखलाका बिरामी देखिन थालेसँगै काठमाडौंमा यो वर्ष पनि हैजाको जोखिम बढेको बताए। विशेषगरी यो मौसममा वर्षाका कारण गर्दा खानेपानीमा दूषित पानी मिसिन जादा संक्रमण हुने जोखिम हुन्छ। झाडापखलाका बिरामी बढ्दा हैजाको जोखिम धेरै हुन्छ। ‘अहिलेदेखि नै काठमाडौंमा झाडापखालाका बिरामी देखिएको अवस्थामा यो वर्ष पनि गत वर्ष जस्तै काठमाडौंमा हैजा संक्रमण देखिने जोखिम उच्च छ’, उनले भने, ‘त्यसैले सतर्कता अपनाउन आवश्यक छ।’

काठमाडौँमा गत वर्ष असारको २ गते बागबजारका एकै घरका दुई जना दिदिबहिनीमा हैजा पुष्टि भएको थियो। यसरी बागबजारबाट फैलिएको हैजा गत वर्ष काठमाडौं उपत्यकाको विभिन्न ठाँउमा गरी ७६ जनामा हैजा संक्रमण पुष्टि भएको थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग, इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशखाका पानीजन्य संक्रमण रोग सम्बन्धी फोकल पर्सन उपेन्द्र ढुङ्गानाका अनुसार पनि गत वर्षहरूको तुलनामा यस वर्षको एक महिनायता देशभर झाडापखालाका बिरामी आँकलन गरिए भन्दा बढी देखिएकले सतर्कता अपनाउन थालिएको छ। उनका अनुसार दुई/तीन वर्षको  अवस्था हेर्दा नेपालमा हैजा र झाडापखाला संक्रमण बढेको छ। ‘काठमाडौं उपत्यकासहित देशका अन्य ठाउँमा पनि झाडापखालाका बिरामी अघिल्लोमा भन्दा अर्को वर्ष बढ्दै गएको देखिएको छ। यो वर्ष पनि यो संख्या बढ्ने अनुमानसहित संक्रमको जोखिम कम गर्न सरोकार निकायसँग निरन्तर छलफल गरिरहेका छौँ’, ढुड्गानाले भने।

कसरी जोगिने?

हैजा तथा झाडापखाला रोगबाट बच्न उमालेको वा क्लोरिन झोल हालेर शुद्ध बनाइएको पानी पिउनु पर्छ। खाना बनाउनुअघि,दिसापिसाब गरेपछि र फोहर चलाएपछि राम्रोसँग साबुनपानीले हात धुने उत्तम उपाय भएको डा. पुनको भनाइ छ। उनका अनुसार यसरी बच्न सकिन्छ झाडापखला तथा हैजाको जोखिमबाट

पानी सफा भाँडोमा राख्‍ने

पानी राख्‍ने भाँडो सफा हुनुपर्दछ। भाँडो सफा हुँदा हुँदै पनि बाहिरको धुलो र किटाणु पर्नसक्ने भएकाले पानीलाई सधैँ छोपेर राख्‍नुपर्छ।

उमालेको पानी पिउने

सकेसम्म पानी उमालेर पिउनु पर्छ। अझ काठमाडौं उपत्यकाका धेरै ठाउँमा खानेपानीको पाइपमा ढल मिसिने भएकाले सकेसम्म खानेपनी फिल्टर गरी उमालेर पिउनुपर्छ।

सकेसम्म काँचो खानेकुरा नखाने

काँचो खानेकुरा सकेसम्म खानु हुँदैन। गाँजर, मूला, काँक्रो र स्याउ जस्ता नपकाई खान मिल्ने खानेकुरा राम्ररी सफा पानीले पखाल्नुपर्छ। यसको अलावा घरबाहिरको खानेकुरा सकभर नखाएको राम्रो।

साबुन पानीले हात धुने

बाहिरबाट घर आउनेबित्तिकै हातधुने बानी बसाल्नु पर्छ। सकेसम्म खाना बनाउनुअघि साबुन पानीले हात धुने बानी गर्नुपर्छ। खाना खानुअघि धोएको हात सफा कपडाले सुख्खा बनाएर मात्रै खाना खाने। साबुन नलगाई धोएको हातबाट हैजा रोकिँदैन। त्यसैले साबुनको प्रयोग राम्ररी गर्नुपर्छ।

अन्य कुरा

धेरै पेट दुख्ने, पखाला लाग्ने, वाकवाकी हुने, टाउको दुख्ने जस्ता समस्या देखिए स्वास्थ्यकर्मीको सल्लाह लिने वा प्रत्यक्ष देखाउनुपर्छ। यस्तै खानेपानी शुद्धीकरण गरेर पिउने, धमिलो पानीमा उमालेर वा पीयूषको प्रयोग गर्ने गर्नुपर्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.