|
रोयर्टस

सुडानी सेना र र्‍यापिड सपोर्ट फोर्सेज (आरएसएफ) बीच भएको युद्धले करिब २ लाख सुडानी जनताले मुलुक छोड्न बाध्य भएका छन्।

संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्‍यालय (ओसीएचए)ले जारी गरेको प्रतिवेदनअनुसार गत अप्रिल १५ देखि हालसम्म द्वन्द्वका कारण नौ लाख ३६ हजारभन्दा बढी मानिस विस्थापित भएका छन्, जसमध्ये करिब सात लाख ३६ हजार २०० आन्तरिक रूपमा विस्थापित भएका छन् भने करिब दुई लाखले छिमेकी मुलुकमा शरण लिएका छन्।

सुडानमा सेना प्रमुख अब्देल फत्ताह अल–बुहारन र उप–प्रमुख मोहम्मद हमदान डागलोप्रति वफादार सुरक्षा बल (र्‍यापिड सपोर्ट फोर्सेज) बीचको द्वन्द्वले एक महिना नाघिसकेको छ।

‘सुडानको सशस्त्र बल र र्‍यापिड सपोर्ट फोर्सेजबीच लगातार ३० दिनसम्म जारी द्वन्द्वमा विशेष गरी खार्तूम र आसपासका क्षेत्रमा कम्तीमा ६७६ जनाको मृत्यु भएको छ भने पाँच हजार ५७६ जना घाइते भएका छन्’, ओसीएचएले उल्लेख गरेको छ।

गत अप्रिलको मध्यमा भएको झडपपछि सुडानको राजधानी खार्तूमका बासिन्दाले खाद्यान्नको चरम अभाव झेल्दै आएका छन्। झडपमा विशेष गरी दर्जनौँ कारखानाहरू लुटिएका वा जलाइएका छन्।

संयुक्त राष्ट्रसंघका अनुसार सन् २०२३ मा करिब एक करोड ५८ लाख सुडानी अर्थात् सुडानको जनसंख्याको करिब एक तिहाइलाई मानवीय सहायताको आवश्यकता पर्ने अनुमान गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.