|

पोखरा : पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट चीनका विभिन्न शहरमा चार्टर्ड उडान हुने भएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आगामी असारको पहिलो सातादेखि चीनका विभिन्न शहरमा चार्टर्ड उडान शुरु हुने बताए।

नेपाल एशोसिएशन अफ टूर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) को २४औँ राष्ट्रिय सम्मेलन तथा वार्षिक साधारणसभाका अवसरमा पर्यटनमन्त्री किरातीले यस्तो जानकारी दिएका हुन्। 

‘जुन २३ तारिखदेखि पोखराबाट चीनका विभिन्न शहरमा चार्टर्ड उडान गर्दैछौँ, हिजोमात्रै अन्तिम कुराकानी गरेका छौँ,’ उनले भने।

विसं २०७९ पुस १७ गतेदेखि व्यावसायिक रुपमा सञ्चालनमा आएको नेपालको तेस्रो अन्तरराष्ट्रिय विमानस्थलले सञ्चालनको ५ महिनासम्म एउटै पनि अन्तरराष्ट्रिय उडान गर्न सकेको छैन।

यो विमानस्थलबाट आन्तरिक उडान भइरहे पनि अन्तरराष्ट्रियतर्फ अहिलेसम्म कुनै पनि उडान भएको छैन। विमानस्थल उद्घाटनका दिन नेपालबाट अन्तरराष्ट्रिय उडान भरिरहेको हिमालय एयरलाइन्सले परीक्षण उडान गरे पनि अहिलेसम्म कुनै अन्तरराष्ट्रिय उडान नभएको विमानस्थल कार्यालयले जनाएको छ।

पर्यटनमन्त्री किरातीले पोखराबाट चीनका विभिन्न शहरमा चार्टर्ड उडान गर्ने बताए पनि कुन–कुन एयरलाइन्सका जहाजबाट उडान हुने खुलाएनन्।

जेठ २९ देखि गौतमबुद्ध विमानस्थलबाट नियमित उडान

पर्यटनमन्त्री किरातीले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले यही जेठ २९ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्ने पनि जानकारी दिए। 

उनका अनुसार काठमाडौं–क्लालालम्पुर–भैरहवा–काठमाडौं सेक्टरमा उडान हुने छन्। यसका लागि टिकट बुकिङ खुलिसकेको निगमले जनाएको छ।

पर्यटनमन्त्री किरातीले सञ्चालनमा नरहेका १८ विमानस्थलको व्यावसायिक सम्भावना हेरेर यथाशीघ्र सञ्चालन गरिने जानकारी गराए। 

नेपाल वायुसेवा निगमलाई व्यावसायिक रुपमा प्रतिस्पर्धी बनाउन आन्तरिक उडानमा बजार विस्तारका लागि थप जहाज खरिद गर्न लागेको र ‘हब’ विमानस्थलमा उडान भर्नेगरी ३ थान जहाज खरिद प्रक्रिया अघि बढाइएको उनको भनाइ छ।   

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले कोरोना महामारीपछि पर्यटन क्षेत्र पुरानै लयमा फर्केको सङ्केतले यो क्षेत्रमा उत्साह थपेको बताए।उनले पर्यटन क्षेत्रको दिगो विकासका लागि निजी क्षेत्र र सरकारको साझेदारी फराकिलो बनाएर पर्यटकीय पूर्वाधार विकासमा ध्यान दिनुपर्नेमा जोड दिए।

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा धनन्जय रेग्मीले पर्यटन क्षेत्रको सम्भावनालाई व्यवहारमा परिणत गर्न सबै क्षेत्रको सक्रियताको खाँचो औँल्याए।

​वरिष्ठ पर्यटन व्यवसायी कर्ण शाक्यले पर्यटन पूर्वाधार विकास र प्रवर्द्धन सँगसँगै अघि बढाइनुपर्ने धारणा राखे। नाट्टाका अध्यक्ष रमेश थापाले कोरोनापछिको पर्यटनलाई पुरानै लयमा फर्काउन अझै केही मेहनत जरुरी रहेको बताए।

सो अवसरमा संस्थाले पर्यटन क्षेत्रमा योगदान गर्ने व्यवसायी शाक्यलगायत विभिन्न व्यक्तिलाई कदरपत्रद्वारा सम्मान गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.