|

विराटनगर : खाँदबारी नगरपालिका–८ की कम्प्युटर अपरेटर सुशीला थपलियाले बिदा बसेर तलबभत्ता बुझ्ने गरेको पाइएको छ।

नेपाल सरकारको सामुदायिक क्याम्पस वरुण बहुमुखी क्याम्पसकी स्थायी कर्मचारी रहेकी उनी खाँदबारी नगरपालिका प्रमुख महेश थपलियाकी श्रीमती हुन्।
लामो समयसम्म कार्यालयमा हाजिर नहुँदा सेवाग्राहीलाई असहज हुने गरेको सर्वसाधारणको गुनासो छ।

सोही वडाका राजमणि भण्डारीले उनी दुईतीन महिनासम्म कार्यालयमा अनुपस्थित रहने तर तलब लिइरहने गरेको बताउँछन्।

करार कर्मचारी कार्यक्षेत्रमा हाजिर नभई लामो समय बिदामा बसेर पनि सेवा सुविधा लिएको बताउँदै उनले भने, ‘मेयर साबको आड भरोसामा लिइरहनुभएको छ।’

क्याम्पसका स्थायी (पूर्णकालीन) कर्मचारी बिहान ११ बजेसम्म अनिवार्य क्याम्पसमै रहनुपर्ने बताउँदै उनले नगरपालिकामा १० बजे हाजिर हुनुपर्ने भए पनि समयमा हाजिर नहुने गरेको उनले बताए।

‘उहाँ वरुण क्याम्पसमा ११ बजेसम्म रहँदा १० बजे नगरपालिकामा हाजिर हुन सक्नुहुन्न भने नगरपालिकामा १० बजे हाजिर हुँदा ११ बजेसम्म क्याम्पसमा रहन सक्नुहुन्न’, उनले भने, ‘तैपनि नगरप्रमुखकी श्रीमती भएको फाइदा उठाउँदै मिलिभगतमा दुबैतिर मिलाएर जागिर खाइरहनुभएको छ।’

उनले करारको जागिर खाएर लामो समय कार्यालयमा हाजिर नभई निरन्तर सेवा सुविधा लिइरहनु भ्रष्टाचार भएको बताए।

राज्यका दुईवटा निकायमा कसैको सोर्स लगाई पूर्णकालीन नियुक्ति खानु अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरी मुद्दा हाल्नुपर्ने विषय हो कि हैन प्रश्न गर्दै उनले भने, ‘म यो नगरपालिकाको सेवाग्राही र अहिलेका मेयरलाई भोट हालेको मतदाता पनि भएका कारण यो विषय उठाउने मेरो अधिकार हो।’

यसको विषयमा धेरै अघिदेखि गुनासो आए पनि बेवास्ता गरिएको स्थानीयको गुनासो छ। यो विषयमा वडानम्बर ८ का वडाध्यक्ष डम्मर कटुवाललाई बुझ्न खोज्दा थपलिया विरामी भएकाले बिदामा रहेको बताए।

बिदा कसरी स्वीकृत भयो थाहा छैन
वैशाख ३ गतेदेखि हाजिर भएयता थपलिया बिदामा रहेको वडा सचिव राधा कटुवालले बताइन्। उनले फोन सम्पर्कमार्फत बिरामी भएकाले काठमाडौँ जाने भन्ने जानकारी गराएको र त्यसयता अरू थाहा नभएको बताइन्।

‘उहाँ वैशाख ३ गतेदेखि हाजिर हुनुहुन्न, काठमाडौँ जानुअघि मलाई फोनबाट बिरामी भएँ, काठमाडौँ पुगेर आउँछु भन्नुभएको  थियो’, उनले भनिन्,‘त्यति मात्रै थाहा छ अरू केही थाहा छैन।’ त्यस दिनदेखि यता कार्यालयमा सम्पर्क समेत नगरेको उनले बताइन्।

वडा कार्यालयमा बिदा स्वीकृत अहिलेसम्म नगरेको बताउँदै उनले बिदा नगरपालिकाले नै स्वीकृत गर्ने गरेको बताइन्।

बैठकमा पनि वडा समितिमा बारम्बार कुरा भएको बताउँदै अहिलेसम्म बिदाको जानकारी नआएको बताउँदै उनले भनिन्, ‘कसरी मिलाउनुभयो, कसरी जानुभयो, हामीलाई थाहा छैन।’

वडामा जनसम्पर्कमा आउने सेवाग्राहीले धेरै गुनासो गर्ने गरेको समेत बताउँदै उनले वरुण क्याम्पसमा शिक्षण पेसा पनि गर्ने भएकाले धेरैपटक गुनासो आएको बताइन्।

थपलिया नहुँदा कहिलेकाहीँ कार्यालय सहयोगीलाई राखेर भए पनि काम गर्ने गरेको बताउँदै उनले धेरै काम आफूले नै गर्ने गरेको बताइन्।

अहिले पाँचौँ तहको कर्मचारी राखेर सेवा प्रवाह गर्दै आइरहेको जानकारी दिँदै उनले कर्मचारीको दरबन्दी हुँदा पनि सास्ती बेहोर्नुपरेको भन्ने गुनासो जनस्तरबाट आइरहेको उनले बताइन्। तलबको विषयमा भने नगरपालिकाले नै तलब हालिदिने हुँदा यो विषयमा जानकार नभएको उनले बताइन्।

यो विषयमा थपलियासँग बुझ्न खोज्दा उनी बोल्न चाहिनन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.