|
sketch- www.loksatta.com

महोत्तरी :मिथिलाञ्चलका महिला सुख–समृद्धि र पतिको दीर्घायुको कामना गर्दै शुक्रबार बरसाइत (बटसावित्री) पर्व मनाउँदै छन्। 

जेठ कृष्ण पक्ष औँसीमा मनाइने बरसाइत पर्व नवविवाहिता र सामान्य महिलाले फरक विधिअनुसार मनाउने चलन छ। नवविवाहिता महिलाले पहिलो वरसाइत (बिहेपछि आउने पहिलो पर्व) अनिवार्यरूपमा श्रीमानको घरमै मनाउनुपर्छ। तर अघिल्ली दिन स्नान गरी सात्विक भोजन गरेपछि सोह्र र लगाउने लुगादेखि चुरासम्मका सबै श्रृंगार र पहिरनका सामग्री माइतबाटै पठाइन्छ। 

शुक्रबार आज एकाबिहानै नुहाइ रातो, पहेँलोसहित विभिन्न रङको पहिरनमा नजिकको वर (बट)को रुखमुनि बसेर नवविवाहितले आफ्ना पतिका साथ पूजा गर्दैछन्।  उपलब्ध भए वर र पीपल दुवैसँगै भएको ठाउँमा वा नभए वरको रुखमुनि पीपलको हाँगा गाडेर भए पनि वर र पीपल दुवैको उपस्थितिमा पति र पत्नी मिलेर पूजा गर्ने परम्परा छ।  

पति र पत्नीले पूजा गरिरहँदा पत्नीको भाइ छाता ओढाएर साक्षीको रूपमा उभिन्छन्। महिला पुरोहितले पर्वको मन्त्र उच्चारण गरी वरको जरामा पूजा गर्छन्।  अंकुरी (पानीमा भिजाएर उमारिएको चना, मुंग र चामल) काँक्रो, केरा, स्याउ, अङ्गुर, आँप, लिची र नरिवल प्रसादको रुपमा वरको जरामा चढाएर सिन्दूरले रगाउँछन्। प्रसाद चढाइसकेपछि बर्तालुले पतिलाई उभिन लगाएर वरको रुखमा सात फेरो पहेँलो र रातो धागोले बेर्छन्। 

आँप र कलश लिएर तीनपटक वरको रुख र पतिको परिक्रमा गर्छन्। परिक्रमा गरिरहेको बेलला व्रतालुले एकपटक वरको जरामा र अर्को पटक पतिको गोडामा जल चढाउँछन्। 

यस पर्वको दिनमा बिहानै विवाहित महिला उठेर नदी अथवा पोखरीमा स्नान र स्वच्छ तन मन धनले बट वृक्षमुनि सावित्रीको आराधना र अर्चना गरेर धुमधामसहित यसलाई मनाउने गर्दछन्। नयाँ साडी लगाएर आफ्नो सिउँदोमा सिन्दूर हालेर विधिविधानसहित यस पर्वलाई मनाउने परम्परा रहेको छ। विभिन्न फलफूल, अक्षता, धुप, दीपसहित विवाहित महिला गीत गाउँदै गाउँ बाहिर जहाँ बट वृक्षको अवस्थिति हुन्छ। त्यस ठाउँमा गएर सावित्रीको पूजा गर्छन्।
 
पर्वमा पार्वती, सावित्री र नागको पनि पूजा गरिन्छ। सावित्रीले मृत पति सत्यवानको पुनर्जीवनका लागि यसरी नै पूजा गरेको धार्मिक मान्यता छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.