|

पर्वत : नेपालकै पर्यटकीय राजधानी पोखराबाट डाँडैडाडा पर्वतको सेतीबेणी हुँदै अर्को पर्यटकीय गन्तव्य गुल्मीको रिडीसम्म पुग्ने पोखरा–रिडी सडक निर्माणका लागि रूसले चासो देखाएको छ।

रूसले पोखरालाई आसपासका पर्यटकीय गन्तव्य जोड्ने रिडी–पोखरा पर्यटकीय सडक निर्माणका लागि नेपाल सरकारसँग विस्तृत परियोजना प्रस्ताव मागेको हो। राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको हालै सम्पन्न रूस भ्रमणका क्रममा रिडी-पोखरा सडक निर्माण गर्ने विषय छलफलमा उठेको थियो।

अध्यक्ष तिमिल्सिनालाई नेपालस्थित रूसी राजदूतावासले मे ४ मा पत्र लेख्दै यो सडक सहित १३ परियोजनामा सहयोग गर्ने गरी नेपाल सरकारबाट विस्तृत परियोजना प्रस्ताव अघि बढाउन आग्रह गरेको छ।

रूसको आग्रहपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जेठ २ गतेको सचिवस्तरीय निर्णयबाट परराष्ट्र मन्त्रालयलाई रूससँग थप प्रक्रिया अघि बढाउन पत्राचार समेत गरेको छ।

पोखराबाट–पामे–भदौरे–राम्जा–आर्थर–कार्किनेटा–लुंखु–उरामपोखरा–सेतीवेणी–रिडी पुग्ने सडक ५६ किलोमिटर लामो छ। सडकको अधिकांश भागमा ट्र्याक खुलिसकेको छ भने केही भागमा स्थानीय सरकारले कालोपत्रे समेत गरेका छन्।

पोखराबाट उत्कृष्ट पर्यटकीय गन्तव्यमा परेका पर्वतका पञ्चासे, महाशिला, सेतीवेणी हुँदै रिडीसम्मको सडकलाई वैकल्पिक राष्ट्रिय राजमार्गको रूपमा आर्थिक वर्ष २०७७।०७८ को बजेटमा समेत समेटिएपछि अहिले काम भइरहेको छ। चालू आर्थिक वर्षमा पनि सडक डिभिजन पोखरामार्फत दुई करोड बजेट विनियोजन भएको छ।

पामेदेखि पोखरा खण्ड र पर्वतको महाशिला गाउँपालिकामा काम भइरहेको सडक डिभिजन कार्यालय पोखराका इन्जिनियर उज्ज्वल शर्माले बताए।

सडक डिभिजन पोखराका अनुसार यो सडक नाली सहित नौ मिटर चौडा हुने छ भने सडकलाई ५ मिटर चौडाइ मात्रै कालोपत्रे गरी दुवैतर्फ एक-एक मिटरको साइकल लेन बनाउने तयारी छ। यो सडकमा १० देखि २० मिटर लम्बाइका साना पुल १४ वटा बनाउनुपर्ने छ भने दुईदेखि ६ मिटरसम्मका आरसिसी स्लाब ११ वटा बनाउनुपर्छ। सबै सडकमा ह्युमपाइप कल्भर्ट २१४ ओटा बनाउनुपर्ने छ।

पोखराबाट डाँडैडाडा सेतीवेणीदेखि पोखरासम्म बन्ने भएकाले ठूला पुल तथा धेरै कल्भर्ट नपर्ने हुँदा यो सडक तुलनात्मक रूपमा सस्तो समेत पर्ने सडक डिभिजन पोखराले जनाएको छ।

सडक निर्माणका लागि रूससँग सम्झौता भएमा पोखराबाट डाँडैडाडा सेतीवेणी हुँदै रिडीसम्म पक्की सडकमा पुग्ने पर्वतवासी र पर्यटकको चाहनाले मूर्त रूप लिनेछ।

राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले रिडीदेखि पोखरासम्म दुई प्रदेश जोड्ने राष्ट्रिय राजमार्ग निर्माणको काम गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गर्दै आएका थिए। २०७० सालको संविधानसभा निर्वाचनमा समेत अध्यक्ष तिमिल्सिना पर्वतबाट उम्मेदवार हुँदा उक्त सडक पहिलो प्राथमिकतामा राखेर प्रतिबद्धतापत्र प्रकाशित गरेका थिए।

सेतीवेणीदेखि पोखरासम्म डाँडैडाडा सडक बनाउँदा पुल बनाउन नपर्ने र रिडी, शालिग्राम, महाशिला, डहरे, पञ्चासे र पोखरा जस्ता धार्मिक र पर्यटकीय क्षेत्र समेत पक्की सडक सञ्जालमा जोडिने भएकाले यसलाई पर्यटकीय सडकको रूपमा समेत विकास गर्न सकिनेछ।

पर्वतको सुदूर दक्षिणबाट मध्य भाग हुँदै उत्तर पूर्वी क्षेत्र जोड्ने सडक पर्वतको मेरुदण्ड समेत बन्नेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.