|

विराटनगर : औद्योगिक, व्यापारिक साथै राजनीतिक विरासत बोकेको विराटनगर कोशी प्रदेशको राजनधानीसमेत हो।

भारतीय सीमानाका जोगबनीसँग जोडिएको विराटनगर व्यवसाय र व्यापार‚ शैक्षिक र स्वास्थ्योपचारको हबको रुपमा पनि लिइन्छ। तर यहाँ  सार्वजनिक शौचालयको अभाव हुँदा सर्वसाधारणले सास्ती खेप्नुपरेको छ। 

विराटनगर महानगरपालिकाभित्र हाल जम्माजम्मी ८ वटा सार्वजनिक शौचालय छन् तर सर्वसाधारणले झट्टै देख्न सक्ने ठाउँमा छैनन्। 

भएका शौचालय पनि सरसफाइ, व्यवस्थित छैनन् भने महिलामैत्री र अपांगमैत्री शौचालय पनि सीमित छन्। यसले गर्दा महिला एवम् अपांगता भएकाहरुले कठिनाइ बेहोर्दै आइरहेको गुनासा आउने गर्छन्।

सार्वजनिक शौचालय नहुँदा सास्ती

बुढीगंगा गाँउपालिका–१ का अभिषेक फुँयाल किनमेलका लागि विराटनगरआउँदा सार्वजनिक शौचालय कहाँ छ भन्ने थाहा नहुँदा निक्कै सास्ती बेहोर्नु परेको बताउँछन्।

उनले  प्रदेशको राजधानी विराटनगर महानगरपालिकाभित्रै  शौचालय अभाव हुनु त्यसमा पनि भएका शौचालय अव्यवस्थित हुँदा प्रयोग गर्न नै असहज हुने गरेको बताए। 

‘सार्वजनिक शौचालय त छ भन्छन् तर कहाँ छ थाहा छैन।  ट्राफिक चोकमा एक ठाउँ देखेँ त्यो पनि फोहोर रहेछ प्रयोग गरिनँ,’उनले भने, ‘असहज भएपछि भाटभाटेनी या सेन्ट्रल मलको शौचालय प्रयोग गर्न बाध्य हुनु परेको छु।’

यता,  विराटनगर–२ की हेमा राईले हाटखोला चोकको सार्वजनिक शौचालयबाहेक अन्त महिलामैत्री नभएको बताइन्। त्यसमा पनि सरसफाइ र अव्यवस्थित भएकाले सार्वजनिक शौचालय प्रयोग गर्न असहज हुने हुँदा कार्यालय या आफ्नै घर पुग्ने गरेको उनले सुनाइन्। 

कोशी प्रदेशका पूर्व सांसद सूर्यमाराज राईले विराटनगर महानगरपालिकामा शौचालय अभावको विषयमा सामाजिक सञ्जालमा आफ्नो धारणा व्यक्त गरेका छन्।

उनले महानगरपालिकाले यथाशीघ्र चाँडै निश्चित क्षेत्रमा १० देखि १५ वटा सार्वजनिक शौचालय निर्माण गर्नुपर्ने सुझाव दिएका छन्।

बाहिरबाट आएका सेवाग्राहीलाई दिसापिसाबका लागि पर्ने अप्ठयारोले विराटनगर एक किसिमले लज्जित हुनुपर्ने परिस्थिति रहेको बताउँदै उनले समग्र विराटनगरको सौन्दर्य र अहमलाई धुलिसात गरेको बताए।

उनले लेखेका छन्, ‘विराटनगर ब्युँझोस् र आफूलाई यो लज्जाबाट बाहिर निस्किन तत्पर होस्, मेरो शुभेच्छा छ।’ महानगरले यस्ता दिनदैनिकी, मानवीय आवश्यकता, सामाजिक दुष्प्रभाव, सभ्यताविरोधी कार्यहरु, महानगरको प्रतिष्ठालार्ई हदैसम्म बेवास्ता गरेको उनले बताए।

उनले भने, ‘भ्युटावर, फ्लाइङ ब्रिज, सपिङ सेन्टरहरुमा महानगर  दौडिरहेको छ।’ त्यसो त आफ्नै पनि  शौचालय कहाँ छ भन्ने पत्ता नहुँदा घर या कार्यालयको शौचालय प्रयोग गर्न बाध्य बनेका उनले अनुभव सुनाए।

के भन्छ महानगर?

यता, विराटनगर महानगरपालिकाका सरसफाइ व्यवस्थापन शाखा प्रमुख पुनमकुमार दाहालले महानगरभित्र सुविधासम्पन्न एवन–एवन सार्वजनिक शौचालय रहेको दाबी गरे।

उनले महानगरपालिकाभित्र ८ वटा सार्वजनिक शौचालय रहेको बताउँदै पुष्पलाल चोक, विष्णुमाया पुस्तकालय, खेलकुद विकास समिति, हस्पिटल, दुर्गा चोक, सि प्लटमाथि हाटखोला, ट्राफिक चोक, हाटखोला चोकलगायत स्थानमा शौचालय रहेको बताए। 

उनले  शौचालय प्रयोग गर्दा लाग्ने रकम मान्छेले नतिर्ने र खुल्ला क्षेत्र प्रयोग गर्ने गरेको आरोप लगाए। यसका लागि उनले  पत्रपत्रिकामा सार्वजनिक शौचालयको विषयमा सूचनासमेत जारी गरेको दाबी गरे। 

त्यसो त तत्कालीन प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारी हुँदै विराटनगर महानगरपालिकाभित्र २० वटा सार्वजनिक शौचालय निर्माण गरिने बताएका थिए। 

त्यो समय महानगरपालिकाले शौचालयका लागि ७५ लाख बजेट विनियोजनसमेत गरेको थियो तर ८ वटा शौचालयमा सीमित रहेको महानगरले जोगबनी भन्सारछेउमा तेश्रो लिङ्गीले समेत प्रयोग गर्न हुनेगरी शौचालय निर्माण गर्ने तयारीमा रहेको दाहालले बताए।

उनले जिपिएस ट्र्याकिङ सिस्टम राख्न नसक्दा पनि कमीकमजोरी भएको उनले स्विकार गरे। यसबारे अपडेट असार मसान्तभित्र जिपिएस सिस्टम बनाउने तयारी रहेको उनले जानकारी दिए।

इन्टरनेटको पहुँचमा नपुग्नेका लागि सार्वज्निक शौचालय भएको जानकारी दिने, कलर जोन हुन आवश्यक रहेको समेत उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.