|

काठमाडौं : सरकारले अबदेखि सामुदायिक अस्पतालको बहिरंग सेवा बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म अनिवार्य सञ्चालन गर्ने नीति लिएको छ।

शुक्रबार सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०।०८१ को नीति तथा कार्यक्रममा अबदेखि  सामुदायिक अस्पतालको बहिरंग सेवा बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म अनिवार्य सञ्चालन गर्ने बताएको छ।

शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्का दुवै सदनको संयुक्त बैठकमा सार्वजनिक गरेको नीति तथा कार्यक्रममा भनिएको छ‚ ‘ सामुदायिक अस्पतालमा एक चिकित्सक एक अस्पतालको व्यवस्था सुनिश्‍चित गरिनुका साथै बहिरङ्‍ग सेवा बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म अनिवार्य सञ्‍चालन हुने व्यवस्था मिलाइनेछ।‘

यसरी हेर्दा सार्वजनिक नीति तथा कार्यक्रममा ‘सामुदायिक अस्पतालहरूमा एक चिकित्सक एक अस्पताल कार्यक्रम’ यसअघि  कार्यान्वयन हुन नसकेको कार्यक्रम हो।

अस्पतालको बहिरंग सेवा १२ घण्टा सञ्चालन गर्ने सरकारको नीति नयाँ भए पनि अस्पतालहरूमा एक चिकित्सक एक अस्पतालको नीति भने नयाँ होइन। यसअघि सरकारले आर्थिक वर्ष २०७७।०७८ को बजेट तथा कार्यक्रममा पनि एक चिकित्सक एक स्वास्थ्य संस्था कार्यक्रम लागू गर्ने घोषणा गरेको थियो तर कार्यान्वयनमा असफल भएको हो।

‘एक चिकित्सक/स्वास्थ्यकर्मी, एक स्वास्थ्य संस्था’ कार्यक्रम यसअघि यो कार्यक्रम स्वास्थ्य मन्त्रालयले आर्थिक वर्ष २०७७।०७८ मा लागू गर्न देशभरका १० वटा अस्पताल (प्यूठान अस्पताल, गोरखा अस्पताल, नुवाकोट अस्पताल, गजेन्द्रनारायणसिंह अस्पताल र पाँचथर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, भरतपुर अस्पताल, डडेल्धुरा अस्पताल, दैलेख अस्पताल)मा बजेट विनियोजन भई कार्यक्रम लागू भएको घोषणा गरिए पनि कार्यान्वयन हुन सकेको थिएन।

यी अस्पतालमा असफल भएको यो कार्यक्रम गत फागुन १ गतेदेखि यो कार्यक्रम उपत्यकाका तीन ठूला संघीय सरकारी अस्पताल वीर अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल र कान्ति बाल अस्पतालमा सञ्चालन गर्ने घोषणा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरे पनि प्रभावकारी बनेको छैन। ‘एक चिकित्सक/स्वास्थ्यकर्मी, एक स्वास्थ्य संस्था’कार्यक्रम सफल नभए पनि यो हरेक वर्ष सरकारको नीति तथा कार्यक्रममा समेटिदै आएको छ।

स्वास्थ्य सेवातर्फ यसअघि नै नीति तथा कार्यक्रममा समेटिएका कार्यक्रम सफल कार्यान्वयन नभएका वेला शुक्रबार मात्रै सरकारी अस्पतालको बहिरंग (ओपीडी) सेवा बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म अनिवार्य सञ्‍चालन गर्ने नीति सरकारले सार्वजनिक गरेको हो। अहिले सरकारी अस्पतालमा बिहान १० देखि २ बजेसम्म बहिरंग चलेका छन् । अब बिहान ८ देखि बेलुकी ८ बजेसम्म समय बढाउने सरकारले नीति लिएको छ।

यो कार्यक्रम पनि सरकारले सफल रूपमा कार्यान्वयन गर्नुभन्दा पनि पूर्ण तयारीबिनै सस्तो लोकप्रियताका लागि ल्याएको चिकित्सकहरूले बताएका छन्। नेपाल चिकित्सक संघका महासचिव डा. सञ्जीव तिवारी जनताको सेवाका लागि सरकारले ल्याएको बिहान ८ देखि बेलुकी ८ बजेसम्म ओपीडी सञ्चालन गर्ने नीति राम्रो भए पनि कार्यान्वयनमा भने समस्या हुने बताउँछन्। उनका अनुसार बिहान ८ देखि बेलुकी ८ सञ्चालन गर्न हाल भइरहेको चिकित्सक सहितको जनशक्ति तथा उपकरणले नधान्ने हुँदा पहिला जनशक्ति थप्नतिर लाग्नुपर्ने बताउँछन्। ‘जनताको सेवाका लागि सरकारले लिएको नीति राम्रो भए पनि कार्यान्वयनमा समस्या छ किनभने अहिलेकै जनशक्ति तथा स्वास्थ्य संस्थाको उपकरणले सेवा धान्न सकेको छैन‚ झन् सेवाको समय बढाउँदा समस्या हुनसक्छ। त्यसैले पहिला स्रोत साधन सुनिश्चत गरेर मात्रै यो कार्यक्रम ल्याउनुपर्थ्यो’‚ डा तिवारीले भने।

चिकित्सक डा. छवि पन्थी पनि सरकारले हाल भएको दरबन्दीले अहिलेकै सेवा समयमा बिरामी धान्न नसकेका वेला समय बढाउन खोज्नु राम्रो नभएको बताँउछन्। डा पन्थीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्‚ ‘चानचुन चौध सय डाक्टर राखेर नेपाल सरकार बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म बिरामी हेराउँछु भन्छ, के डाक्टर मसिन हो ? दरबन्दी बढाउनु पर्दैन? लोकसेवा खोल्न पर्दैन ?  ए भुसुक्कै भुलेछु मैले,  यो देशलाई त डाक्टर नै चाहिंदैन क्यारे ! हली प्रथा, मुक्त कमैया प्रथा जस्तै चिकित्सा पेशामा हाल करारी प्रथा र ज्यालादारी प्रथा चलेकै छ, मोज छ, देशमा रामराज्य छ, मैले पत्याएँ, तपाईंंले पनि पत्याइदिनुस् बालै फरर।‘

यस्तै ८ बजेदेखि बेलुका ८ बजेसम्म ओपीडी सेवा बढाउनुअघि सरकारले चिकित्सकसहितका अन्य स्वास्थ्यकर्मीको दरबन्दी बढाउनुपर्ने बताउँछन्‚ नुवाकोटस्थित त्रिशूली अस्पतालका निर्देशक डा. दीपेन्द्र पाण्डे। ‘सरकारी सेवामा अहिले नै चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीको दरबन्दी एकदमै न्यून छ। यही अस्थामा बहिरंग सेवा बढाउनु भन्नु सरकारको सस्तो लोकप्रियता मात्रै हो, पक्कै पनि बिहान ८ देखि साँझ ८ बजेसम्म ओपीडी समय बढाउँदा दुई सिफ्टमा सेवा दिनुपर्ने हुन्छ। यस्तो वेला अहिलेको दरबन्दीमा पनि दोब्बर स्वास्थ्यकर्मीको संख्या बढाउनु पर्छ’‚ डा पाण्डेले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.