|

पाल्पा : तानसेन नगरपालिकाले ट्रयाक्टरलाई कारबाही गर्दा ४२ लाख ४६ हजार ३०४ रुपैयाँ राजस्व उठेको छ।

निर्वाचित भएको एक वर्षमा भएका कार्य प्रगति सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म ४ हजार ७५२ वटा ट्रयाक्टर कारबाहीमा परेको नगरप्रमुख सन्तोषलाल श्रेष्ठले बताए।

तानसेन नगरपालिका–१४ अर्गलीस्थित कालीगण्डकी नदीबाट नदीजन्य पदार्थ चोरी निकासी गरिरहेका ट्रयाक्टरलाई कारबाही गरिएको हो।

यस्तै श्रीनगरडाँडा क्षेत्रबाट २७ लाख ७३ हजार ४३८ रुपैयाँ राजस्व संकलन भएको छ। पर्यटकीय स्थलका रूपमा रहेको श्रीनगरडाँडामा आन्तरिक तथा बाह्य पर्यटक घुम्न आउँछन्। यहाँ आएका पर्यटकबाट राजस्व संकलन भएको छ।

रानीमहल क्षेत्रबाट ४७ लाख १३ हजार राजस्व संकलन भएको छ। वैशाख मसान्तसम्म ४ करोड ९२ लाख ४३ हजार रुपैयाँ राजस्व संकलन भएको छ। चालू आर्थिक वर्षमा ८ करोड राजस्व संकलन गर्ने तानसेन नगरपालिकाको लक्ष्य रहेको उनले बताए।

पाल्पा दरबार परिसरका घरटहरा भत्काउने र हटाउने कार्यलाई मुख्य प्रगतिको रूपमा उल्लेख गरिएको छ। पाल्पा दरबार परिसरलाई विश्व सम्पदा सूचीमा पार्ने योजनासहित ५७ घर टहरा हटाएको श्रेष्ठले दाबी गरे।

यस क्षेत्रको व्यवस्थापनका लागि बजेट विनियोजन गरी टेण्डर प्रक्रिया अगाडि बढेको छ। यहाँका टहरामा पसल गरेका व्यापारीबाट ४० लाखभन्दा बढी भाडा उठाउन बाँकी रहेको उनले सुनाए।

१ लाख ६७ हजार १७१ रुपैयाँ बहालविटौरी कर संकलन गरेको छ। तानसेन नगरपालिकाले बहालविटौरा कर कानून पास गरेको छ। घरहरूको अभिलेखीकरणबाट ५२ लाख राजस्व संकलन भएको छ।

नगरभित्रका १४ वटा विद्यालयमा समायोजन, एकीकरण, कक्षा कटौती र दरबन्दी मिलान गरिएको छ। उनी भन्छन्, ‘कमजोर भौतिक पूर्वाधार र न्यून शैक्षिक उपलब्धिबीच सेवा दिइरहेका विद्यालयलाई गाभेर सुविधा सम्पन्न र गुणस्तरीय शैक्षिक संस्था निर्माण गर्न विशेष ध्यान दिएका छौं।’

नगरका १४ वटा वडामा ४८५ योजना सञ्चालनमा छन्। हालसम्म २५० वटा योजना सम्पन्न भइसकेका योजना शाखा प्रमुख विष्णु पौडेलले बताए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.