पीडित भन्छन्, बैंककै कर्मचारीले पैसा हिनामिना गरे

|

रौतहट : चन्द्रपुर नगरपालिका वडा नं. ४ स्थित पूर्व पश्चिम राजमार्गमा रहेको माछापुच्छ्रे बैंकबाट ग्राहकको ९ लाख रुपैयाँ गायब भएको छ।

आइतबार चेक साट्न बैंकको चन्द्रपुर शाखा पुगेका वृन्दावन नगरपालिका नं. ३ का रामेश्वर राय यादवको खाताबाट ९ लाख रकम गायब हो।

रहस्यमयरूपमा पैसा गायब भएको भन्दै पीडित पक्षले आइतबार रातिसम्म बैंकको कार्यालय घेराउ गरेका छन्। ​यादवका अनुसार अघिल्लो दिनसम्म उनको खातामा १२ लाख २० हजार रुपैयाँ थियो।

बिहीबार बिहान उनले १२ लाख २० हजार रकम भएको नेपाल बैंक लिमिटेडको चेक नम्बर ०१२७६४९९७३ को ९ लाख, सोही बैंकको चेक नम्बर ०१२७६४९९७४ बाट दुई लाख २० हजार र ग्लोबल आईएमई बैंकको ००५८०१६७५२ नम्बर चेकको एक लाखको भौचर भरेर माछापुच्छ्रे बैंकमा जम्मा गर्न (क्लिरियन्समा) दिएका थिए।

उनका अनुसार शुक्रबार दिउँसो ३ बजे उनको खाता नम्बर ७५००६५३८२८०००१४ मा पैसा जम्मा भएको मोबाइलमा म्यासेजसमेत आएको थियो। आइतबार आठ लाख रुपैयाँको चेक लिएर साट्न पुग्दा उनले खाताबाट ९ लाख पैसा गायब भएको थाहा पाएका थिए। 

त्यसपछि उनले बैंकको शाखा प्रमुख रामजी दासलाई भेटर खाताबाट पैसा कसरी गायब भयो भनेर सोधे। प्रमुख दासले ‘ह्याकरले पैसा लगेको हुनसक्ने’ जवाफ दिए। यादवका अनुसार दासले यसमा आफूहरूले केही गर्न नसक्ने बताए।

दासले खातावालालाई ‘आफैँ पत्ता लगाउनु’ भनेपछि बैंकमा पीडितका आफन्तले बिहान साढे ११ बजेतिर घेराउ गरेका हुन् । राति अबेरसम्म पीडितका आफन्तले बैंक घेराउ गरेका थिए।

यससँगै इलाका प्रहरी चन्द्रनिगाहपुरबाट प्रहरीको टोली पुगेपछि घटनाबारे अनुसन्धान थालेको छ। पीडित यादवले बैंककै कर्मचारीले पैसा गायब भएको आरोप लगाएका छन्। 

इलाका प्रहरी चन्द्रनिगाहपुरका डीएसपी एकनारायण कोइरालाले यादवको खाताबाट रकम गायब भएकोबारे अनुसन्धान गरिरहेको बताए।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.