|

काठमाडौं : सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदमा सम्बोधन गरेर आफ्नो पीडा र व्यथा मात्रै पोखेको टिप्पणी गरेका छन्।

अध्यक्ष ओलीको नामै नलिई उनले आफ्नो पीडा र व्यथा पोखेर मात्रै केही नहुने बताए। आइतबार ओलीले सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रम स्वीकार गर्न नसकिने अडानसहितको धारणा राखेका थिए।

सोमबार (आज) अध्यक्ष नेपालले ओलीको सो अभिव्यक्ति अरुलाई खोचपेज हुने गरी आएको भन्दै आलोचना गरे। उनले सरकारमा रहन नसक्नुको कारणबारे पनि अरुलाई दोष नदिन ओलीलाई सचेत गराए।

अध्यक्ष नेपालले ओलीले आफ्नो सम्बोधनमा अरूलाई सत्तोसराप गरेको र आफ्नो कमजोरी भने स्वीकार नगरेको आरोपसमेत लगाए।

ओलीमा व्यक्तिवाद रहेको र त्यो सबैभन्दा ठूलो समस्या रहेको पनि उनले दोहोर्‍याए। अध्यक्ष नेपालले भ्रष्टचारको जालोलाई तोड्ने काम गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई सुझाव दिए।

उनले भने, ‘यो देशलाई बनाउन सकिन्छ। त्यसका लागि हामीहरुबीच सहकार्यको आवश्यक्ता छ। एकले अर्कालाई घोचपेच गरेर मात्रै हुँदैन। आफ्नो पीडा, व्यथा पोखेर मात्रै हुँदैन। सरकारमा बस्न सकिएन। त्यो बेग्लै कुरा हो। किन बस्न सकिएन, त्यसको पछाडि पनि अरुलाई दोष दिएर हुँदैन। बनिसकेको सरकार किन आफ्नो हातबाट फुत्कियो ? त्यसको निम्ति अरुलाई सत्तोसराप गरेर पनि हुँदैन। त्यसो हुनाले सबभन्दा ठूलो समस्या के छ भने आफू भित्र के कमीकमजोरी रहेँ। त्यसको हामी सबैले समीक्षा गरौँ। कमीकमजारी भएका छन भने ती कमीकमजोरीको पहिचान गरौं। त्यसलाई सुधार गरौं। अहिले म समस्या देखिराखेको छु। हामी कहाँ सबभन्दा ठूलो समस्या यो व्यक्तिवादको रोग हो। र, दोस्रो भनेको आफूलाई सर्वज्ञानी ठान्ने प्रवृत्ति हो। अनि, तेस्रो अरुलाई अवमूल्यन गर्ने प्रवृत्ति हो। अरुको ज्ञान, अरुको बुद्धि र सबैको साथ लिनेभन्दा पनि अनि आफ्नो पाराले चल्ने प्रवृत्ति पनि हो।'

अध्यक्ष नेपालले सरकारले ल्याएको नीति तथा कार्यक्रम सकारात्मक रहेको उल्लेख गर्दै त्यसको कार्यान्वयनमा जोड दिनुपर्ने पनि बताए। आइतबारको संसद् बैठकमा अध्यक्ष ओलीले सरकारको नीति तथा कार्यक्रममाथि रहेर करिब दुई घण्टा आफ्नो बोलेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.