उनीसँगै सहकारीका ६ पदाधिकारी बेपत्ता

|
फाइल फोटो

बागलुङ : पाँच दिनदेखि बेपत्ता रहेका ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली अझै सम्पर्कमा आएका छैनन्। इमेज बचत तथा ऋण सहकारी संस्थाको संस्थापक अध्यक्ष रहेका उनीमाथि बचतकर्ताको करोडौँ रकम हिनामिना गरेको आरोप छ।

नगरप्रमुख नेपाली नगर उपप्रमुख धनबहादुर कायत (कल्याण) लाई कार्यवाहक दिएर पाँच दिनअघि सम्पर्कविहीन भएका थिए। उनी परिवारसहित बेपत्ता भएको बताइएको छ।

वैशाख ५ गते लेखेको कार्यवाहकको पत्र आफ्नो टेबलमा फेला परेको उपप्रमुख कायतले बताए। उनले एक सातादेखि नेपालीसँग आफ्नो सम्पर्क नभएको बताए। ‘मेरो टेबलमा ६ गते मात्रै कार्यवाहको पत्र आएको छ। उहाँ कहाँ हुनुहुन्छ भन्ने थाहा छैन’, उनले भने। 

बागलुङकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले इमेज सहकारीका बचतकर्ताले हाम्रो बचत डुब्ने भयो भन्दै अध्यक्षलाई खोज्न निवेदन दिएको बताइन्। उनले उनको खोजीका लागि निर्देशन दिइसकेको बताइन्।

‘सर्वसाधारणको निवेदन आएपछि हामीले उहाँसँग धेरैपटक सम्पर्क गर्न खोज्यौँ। तर सम्पर्क हुन सकेन’, सम्भावित दुर्घटना रोक्नका लागि तालुकवाला निकायमा पनि खबर गरेका छौँ। हामी पनि खोजीमा जुटेका छौँ।’ सहकारीमा बचत फिर्ता माग्नेको भिड छ।

नेपाली मात्र नभई सहकारीका अन्य ६ पदाधिकारी पनि सम्पर्कमा छैनन्। उनीसँगै कार्यवाहक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनिल नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन, सञ्चालक चित्रबहादुर भण्डारी, सदस्य रूपा विक र सदस्य झगबहादुर शाही पनि बेपत्ता छन्।

जिम्मेवार व्यक्ति सम्पर्कविहीन भएपछि बचतकर्ता तनावमा छन्। नेपाली फरार भएपछि बचतकर्ताले जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय बागलुङ आइतबार रातिसम्म धर्ना दिएका थिए। 

रकम हिनामिना भएको थाहा पाएपछि वैशाख पहिलो साता नै बचतकर्ताले सहकारीमा धर्ना दिएका थिए। त्यस वेला संस्थापक अध्यक्ष नेपालीले आफ्नो सम्पत्ति बेचेर भए पनि रकम फिर्ता गर्ने बताएका थिए।     

नेपाली सम्पर्कविहीन भएपछि उनीसहित सात सञ्चालकको यात्रा रद्द गर्न गृह मन्त्रालय सीमा तथा अध्यागमन शाखाले पत्राचार गरेको छ। ​बचतकर्ताले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएपछि जिल्ला प्रशासन कार्यालय बागलुङको आग्रहपछि अध्यागमन विभागले नेपालीसहित सातैजनाको यात्रा रद्द गर्न सबै निकायलाई पत्राचार गरेको हो। 

इमेज सहकारीको वित्तीय अवस्थाको यथार्थ जानकारी लिई बचतकर्ताको रकम फिर्ताका लागि पहल गर्न सहकारी रजिष्ट्रारको कार्यालयले पोखराले सोमबारदेखि काम थालेको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.