|

जनकपुरधाम : मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मंगलबार मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्।

नेपाली कांग्रेसलाई विकासे मन्त्रालयमा शपथ खुवाउँदा जनमतलाई भने विना विभागीय मन्त्री बनाइदिएपछि जनमत असन्तुष्ट बनेको छ।

माओवादीले पनि गठबन्धनको मर्मअनुसार नचलेको भन्दै मन्त्री फिर्ताको निर्णय गरेको छ भने लोसपा सरकारमा अटाउन नसक्दा मुख्यमन्त्रीको टाउको दुखाइ बनेको हो।​

कांग्रेसबाट मधेश प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद यादवलाई भौतिक पूर्वाधार विकास, मधेश प्रदेशका उपसभापति समेत रहेका सांसद वीरेन्द्रकुमार सिंहलाई स्वास्थ्य तथा जनसंख्या र नेकपा समाजवादीका संसदीय दल नेता गोविन्दबहादुर न्यौपानेलाई भूमि व्यवस्था‚ कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारी सहित पद तथा गोपनीयताको शपथ गराए।

प्रदेश प्रमुख हरिशंकर मिश्रले नवनियुक्त तीनैजना मन्त्रीलाई नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्।

मुख्यमन्त्री यादवले गृह सञ्चार तथा कानुन मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र श्रम तथा यातायात मन्त्रालय आफूसँगै राखेका छन्।

कृषि र शिक्षा सहितका मन्त्रालय खोसेर आफ्नो दलका एक मन्त्री र एक राज्यमन्त्रीलाई मन्त्रालयविहीन बनाइदिएको भन्दै जनमत मुख्यमन्त्रीसँग चिढिएको छ। गठबन्धनको मर्मअनुसार आफूहरूसँग कुनै सल्लाह नगरी कांग्रेस र नेकपा समाजवादीका मन्त्रीहरूको शपथ ग्रहण राखेको भन्दै माओवादी संसदीय दलको निर्णयले मन्त्री फिर्ता बोलाउने निर्णय समेत गरिएपछि मुख्यमन्त्री तनावमा छन्।

आफूहरूले मन्त्रीलाई फिर्ता बोलाएको माओवादी संसदीय दलका नेता भरतप्रसाद साहले बताए पनि मुख्यमन्त्री यादवले  माओवादी सरकारमै रहेको दावी गर्छन्। मुख्यमन्त्री यादव लोसपा अध्यक्ष महन्थ ठाकुरसँग बिहानै कुराकानी भएको र आजै शपथ ग्रहण गराउन आफू तयार रहे पनि लोसपाले मन्त्रीको नाम दिन नसकेको मुख्यमन्त्री यादवले बताए।

मुख्यमन्त्री यादवले जनमत मात्र नभई जसपाबाट मन्त्री बनेकी सुरिता साहलाई पनि बिनाविभागीय बनाइएको बताउँदै पछि सहमति गरेर टुङ्गो लगाइने  बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.