|

काठमाडौं : मीनभवनस्थित निजामती कर्मचारी अस्पताललाई विशिष्टिकृत अस्पताल बनाइने भएको छ। 

निजामती कर्मचारीलाई लक्ष्य गरेर खोलिएको निजामती अस्पतालमा सर्वसाधारणको आकर्षण बढेपछि स्वास्थ्य क्षेत्रको विशिष्टकृत अस्पताल (सुपर स्पेसियालिटी) बनाउन लागिएको अस्पतालका कार्यकारी निर्देशक डा. विधाननिधि पौडेलले बताए।

विशिष्टकृत सेवा दिनका लागि अस्पतालले र रेडियोथेरापी सेवा सञ्चालनको तयारी रहेको छ। सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममा पनि अस्पताललाई विशिष्टिकृत अस्पतालको रुपमा विकास गरिने उल्लेख छ।

उच्च प्रविधिको एमआरआई यसै हप्तादेखि सञ्चालन हुनेछ र रेडियोथेपारी आगामी २ महिनाभित्र सञ्चालनको तयारी गरिएको छ। सम्मेलनमा अस्पतालका निर्देशक डा पौडेलले अस्पताललाई विशिष्टिकृत सेवा दिएपछि अस्पताल ‘रिफर अस्पताल’ का रूपमा मात्र हुनेसमेत बताए।

निर्देशक डा पौडेलले अस्पतालमा आएका बिरामी कुनै पनि विशिष्टिकृत स्वास्थ्योपचारबाट वञ्चित हुन नपरोस् भनेर विशिष्टिकृत अस्पताल बनाउन थालिएको बताए।

अस्पतालको सेवा सुविधालाई सातवटै प्रदेशमा विस्तार गरेर निजामती अस्पताललाई रिफर अस्पतालका रूपमा विकास गर्ने तयारी रहेको छ। उनका अनुसार प्रदेशमा रहेका संघ र प्रदेशस्तरीय अस्पतालसँग सम्झौता गर्ने र त्यसपछि निजामती कर्मचारी अस्पतालको जस्तै विशिष्टिकृत सेवा उपलब्ध गराउने छ।

डा पौडेलका अनुसार भविष्यमा अस्पतालले सातवटै प्रदेश तहमा नै निजामती कर्मचारी र सर्वसाधारणलाई उपचारको व्यवस्था गर्ने र त्यहाँ उपचार हुन नसकेका बिरामीको उपचार मात्र निजामती अस्पतालमा गर्ने बताए।

प्रदेश तहकै अस्पतालले निजामती कर्मचारी अस्पतालजस्तो सेवा सुविधा उपलब्ध गराउने भएपछि कर्मचारी र सर्वसाधारणलाई काठमाडौं आउन झन्झट हट्ने उनको भनाइ छ। क्यान्सर, मिर्गौलाजस्ता अतिविशिष्टकृत सेवा भने निजामती अस्पतालले उपलब्ध गराउने छ।

यहाँ उपचार गर्दा निजामती सेवाका नायब सुब्बाभन्दा मुनिका कर्मचारीले ५० प्रतिशत र अधिकृतदेखि माथिका कर्मचारीले ४० प्रतिशत छुट पाउँछन्। अहिले अस्पतालमा ४० प्रतिशत जति निजामती र ६० प्रतिशत जति सर्वसाधारण उपचार गर्न आउँछन्।

सबै किसिमको विशेषज्ञ सेवासहितको अस्पताल बनाउन क्षमता पनि विस्तार गरी एक हजार शय्या पुर्‍याइने लक्ष्य लिइएको छ। हाल अस्पतालले निजामती कर्मचारीदेखि सर्वसाधारणलाई साधारण उपचारदेखि विशेषज्ञ सेवा सर्वसुलभ रूपमा उपलब्ध गराउँदै आइरहेको छ।

अस्पतालमा हाल १३२ शय्या भएकामा निकट भविष्यमा २५० शय्या थपिनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.