'पूर्वराजाका गतिविधिलाई सकारात्मक रूपमा लिनुपर्छ'
'पूर्वराजाका गतिविधिलाई सकारात्मक रूपमा लिनुपर्छ'
काठमाडौं : नेपालमा गणतन्त्र स्थापना भएको १५ वर्ष पुग्यो। २०६५ जेठ १५ गते राजतन्त्रको अन्त्य गर्दै मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा प्रवेश गरेको थियो।
१० वर्षे जनयुद्ध र २०६२।०६३ सालको जनआन्दोलनले २४० वर्षे शाहवंशीय राजतन्त्र फाल्दै मुलुक गणतन्त्रमा प्रवेश गर्यो। त्योसँगै मुलुकले संविधानसभाबाट नयाँ संविधान पाएर तीन तहको सरकार समेत बनेको अवस्था छ। राजनीतिक दलहरूले १५ वर्षअघि मृत घोषणा गरेको राजतन्त्र सल्बलाउन थालेको टिप्प्णी गर्ने गरेका छन्। उनीहरू पूर्वराजा ज्ञानेन्द्र शाह वा राजसंस्थाको पुनरागमन हुनसक्नेतर्फ सशंकित र आक्रोशित देखिन्छन्।
पूर्वराजा शाह नागरिक अभिनन्दनमा देश दौडाहामा छन्। उनले ती कार्यक्रममा अहिलेको व्यवस्थाबाट जनतामा निराशा छाएको अभिव्यक्ति दिँदै आइरहेका छन्। सोही अभिव्यक्तिलाई लिएर राजनीतिक दलहरू खुलमखुला पार्टी खोलेर आउन चेतावनी दिन्छन्।
एमाले सांसद रघुजी पन्तले राजतन्त्र फर्किने संकेत स्वरूप पूर्वराजालाई चेतावनी दिँदै तेस्रोपटक राजा हुने प्रयत्न नगर्न भने।
उनले भने, ‘ज्ञानेन्द्र दुईचोटि राजा हुनुभयो‚ पुग्यो अब तेस्रोचोटि राजा हुने प्रयत्न नगर्नुस्। जनताको चाहनाअनुसार राजतन्त्र बिदा गरिएको हो। धेरै ठाउँमा क्रान्ति भएको ठाउँमा राजतन्त्र समूल विनाश भएका छन्। राजालाई पूर्वराष्ट्राध्यक्षको रूपमा देशले सम्मान र सुरक्षा दिएको छ। त्यसको राजाले कदर गर्नुपर्यो। राजनीति गर्न मन लाग्छ भने संविधानले रोकेको छैन, पार्टी खोल्नुस्।’
त्यस्तै नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटा पूर्वराजाको सक्रियताबाट तर्सिनु नपर्ने दाबी गर्छन्। दलहरूको बीचमा विवाद भएकै कारण राजतन्त्र नफर्किने उनले स्पष्ट पारे। गणतन्त्रात्मक व्यवस्था फेल नभएको भन्दै उनले राजतन्त्र नफर्किने बताए।
नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा पूर्वराजा संविधानको दायरामा रहेर घुम्दैमा लोकतन्त्र समाप्त नहुने टिप्पणी गर्छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झाले राजनीतिक उपलब्धिलाई संस्थागत गर्न नसक्दा र दलहरूमा कमजोरी रहेसम्म केही तत्त्व सलबलाइरहने टिप्पणी गरे।
नेकपा एमालेका प्रचारविभाग उपप्रमुख विष्णु रिजाल मृत भइसकेको राजतन्त्रसँग दलहरू आत्तिन नहुने बताउँछन्।
गणतन्त्र स्थापनाको १५ वर्षमा आफूहरूले जनतामा डेलिभरी दिन सक्यौं कि सकेनौं त्यसतर्फ दलहरूले आत्मसमीक्षा गर्नुपर्ने उनको भनाइ छ।
‘हामीले ल्याएको व्यवस्थाबाट जनताले के पाए भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। जनतालाई हामीले कतिको डेलिभरी दिन सक्यौं मुख्य विषय यो हो’‚ उनले भने, ‘पूर्वराजाका गतिविधिबाट डराउनेभन्दा पनि यसलाई सकारात्मक रूपमा लिनुपर्छ। किनभने हामीले जनतालाई सन्तुष्ट बनाउन अझै प्रयास गर्नुपर्ने रहेछ भनेर बुझ्नुपर्छ।’
दलमा धङधङी किन ?
गत वैशाख १४ गते नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भनेका थिए, ‘ज्ञानेन्द्र शाहलाई भनिदिन्छु, बढ्ता फुरफुर नगर। हिसाब किताब गर्न नपरोस्, छोराबुहारी अगाडि सारेर बढ्ता फुरफुर नगर।’
वैशाख १८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजालाई ‘कुँडा कर्कटामा मिल्काइएका सामन्तका छाउरा’ को संज्ञा दिएका थिए।
‘हिजो इतिहासमा कुँडा कर्कटामा मिल्काइएको सामन्तका छाउराहरू बाहिर आएका छन्। नेपाली जनताले फोहोर फाल्ने ठाउँमा फालिसकेकाहरू पनि उठ्न थालेका छन्’‚ उनले भनेका थिए।
यसरी बहालवाला प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरूले १५ वर्षअघि नै मृत घोषणा गरेको राजतन्त्रविरुद्ध पटकपटक अभिव्यक्ति दिनु आफूले ल्याएको व्यवस्था नै कमजोर रहेको संकेत गरेको छ।
राजनीतिक विश्लेषक डा. डम्बर खतिवडा जनताले राजा छ भन्ने कुरा बिर्सिसकेको अवस्थामा १५ वर्षअगाडि हटिसकेको राजतन्त्रको विषयमा किन कुरा उठ्छ भन्नेमा आफू अचम्म हुने गरेको बताउँछन्। मुलुकमा भएका सानातिना असन्तुष्टिलाई राजतन्त्रसँग जोडेर हेर्न नहुने बताउँदै उनले लोकतन्त्रमा देखिएका समस्यालाई परिष्कृत ढंगले समाधान गर्नुपर्ने बताए।
‘गणतान्त्रिक मुलुकमा नपाएको पगरी पूर्वराजाले पनि गुथ्नु हुँदैन। अहिलेको संकटलाई लोकतान्त्रिक विधिबाट हल गर्नुपर्छ। गणतन्त्र आएको १५ वर्ष भयो। यसलाई परिपक्व र परिष्कृत बनाउँदै लैजाने हो। १५ वर्षअघि फालिसकेको राजालाई अहिले किन दलहरूले उच्चारण गर्छन्‚ मैले बुझेको छैन’‚ खतिवडाले भने।
उनले हटिसकेका पूर्वराजाविरुद्ध नेताहरूका अभिव्यक्तिलाई केलाउनुभन्दा नक्कली भुटानी शरणार्थी प्रकरण र देशको अर्थतन्त्रलाई हेरे पुग्ने बताउँछन्। खतिवडाले गणतान्त्रिक मुलुक श्रीलंका, फ्रान्स, पाकिस्तान लगायतका देशमा क्रान्ति भइरहने उल्लेख गर्दै नेपालमा अहिलेको राजनीति समस्याग्रस्त रहेको बताए।
पूर्वराजा शाहका संवाद सचिव डा. फणिराज पाठक राजनीतिक दलहरूसँग जनतामा चरम निराशा छाएकाले राजतन्त्र फर्किने विश्वास व्यक्त गर्छन्।
राजनीतिक दलका नेताहरूले नै भेटेर अहिलेको संकट समाधानका लागि भूमिका खेल्न आग्रह गरिरहेको दाबी गर्दै उनले अहिलेका दलहरूले जनतालाई डेलिभरी दिन नसकेको बताउँछन्।
‘अहिलेको व्यवस्थाले अवस्था परिवर्तन नपरेपछि राजा नआएर के गर्ने त? उहाँलाई जनता र दलभित्रका मान्छेको पनि साथ छ। नेताहरू आएर पूर्वराजासँग हामीलाई अप्ठ्यारो पर्यो भनिरहेका छन्। नेपाली कांग्रेसका नेताहरू नै यसो भनिरहेका छन्। जनताको मर्कामा उहाँ सहभागी हुनुभएको हो। जनतालाई डेलिभरी दिन सकेका छैनन्। नेता कमाउ धन्दामा लागेका छन्’, उनले भने।
पूर्वराजाले के भनेका थिए?
सोमबार पूर्वराजा शाह धनगढीमा नागरिक अभिनन्दनमा सहभागी भए। उक्त कार्यक्रममा सम्बोधन गर्दै शाहले उच्च तहका नेताहरूले नक्कली भुटानी शरणार्थी प्रकरणले सोझासाझा जनतालाई मूर्ख भन्दै तिनलाई झुक्याउँदै आफ्नो स्वार्थसिद्ध गर्ने प्रपञ्च भएको बताए। उनले नेताहरूको यस्तो हर्कतले देशको इज्जत र गौरव लोप भएको बताए।
उनले भनेका थिए– नेपाली जनतालाई आफ्नो भू-भाग र आफ्नो राष्ट्रिय अस्तित्व हुँदाहुँदै शरणार्थी बनाएर अर्काको देशमा श्रम पसिना बगाउन पठाएर आज जे हर्कत गरिरहेका छन्, त्यसबाट हाम्रो इज्जत र गौरव सबै लोप भएर गएको छ। देशभित्रै बसौं, देशमै पसिना बगाऔं र आफ्नो पौरखले आफ्नै देश सपारौं भन्ने भावना हराउँदै गएको छ। के अग्रगामी भनेको परावलम्बी नेपाल हो? के नेपालको आफ्नो अस्तित्व छैन? हामी वीर परिश्रमी र स्वाभिमानी नेपाली तर आज हाम्रो वीरता र हाम्रो स्वाभिमान हाम्रो श्रम सीप सबैथोक खोसिएको त छैन? यस्तो दारुण दृश्य देख्दा हामी सबैको आँखा रसाउँदै गएको छ। आजको टड्कारो अवस्थालाई देखेको र नबुझेजस्तो गरेर कुरा बटारेर अरूलाई अलमल्याएर कोठे र ओठे जवाफ फर्काएर नेपाल र नेपालीको भविष्य सप्रिँदैन। भोलिको सपनालाई साकार बनाउन नेपाली मनोभावनाअनुसार नेपाली जनतालाई जिम्मा दिऊँ। यसैमा हाम्रो कल्याण छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।