|

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले संघीय शिक्षा ऐन जारी भएपछि स्थानीय तहमा अन्य शिक्षकहरूको जस्तै मातृभाषा पढाउने शिक्षकको दरबन्दी सिर्जना हुने बताएका छन्।

बुधबार किरात राई यायोक्खाले मातृभाषाको शिक्षक दरबन्दी र पाठ्यपुस्तक छपाइ सम्बन्धमा ज्ञापनपत्र बुझाएपछि मन्त्री राईले यस्तो बताएका हुन्।

किरात राईभित्रका विभिन्न भाषागत संगठनसहितले बुझाएको ज्ञापनपत्रमा मातृभाषामा शिक्षा पाउने व्यवस्था संविधानमै रहेकाले मातृभाषा शिक्षकहरूको तलब अन्य विषयको शिक्षकहरूको जस्तै संघ वा प्रदेशको सशर्त अनुदानबाट व्यवस्था गरी उनीहरूको व्यावसायिक सुरक्षा गर्नुपर्ने माग छ।

विभिन्न विषयका पाठ्यपुस्तक जनक शिक्षा सामग्रीले छापिरहेको र आगामी वर्षहरूमा मातृभाषाका पाठ्यपुस्तक पनि प्रकाशन हुने व्यवस्था गर्नुपर्ने उनीहरूले माग गरेका छन्।

यस्तै, पाठ्यक्रम, पाठ्यपुस्तक लेखन तथा सम्पादन तालिमको व्यवस्था गर्न, मातृभाषा शिक्षणका लागि दक्ष शिक्षकको व्यवस्था गर्न र एकरूपतासहित मातृभाषा पाठ्यपुस्तक छपाइको व्यवस्था गर्न यायोक्खाले माग गरेको छ।

ज्ञापनपत्र बुझेपछि शिक्षामन्त्री राईले यसका लागि सक्दो व्यवस्था गर्ने प्रतिबद्धता जनाए। ‘मातृभाषा पुस्तक छपाइमा धेरै सुधार गर्नुपर्ने देखिएकाले सुधार गर्नु भनेको छु, अहिलेको क्षमताले कति गर्न सकिन्छ त्यो क्षमता अधिकतम प्रयोग गरेर अगाडि जानुपर्छ। शिक्षक दरबन्दीको सवालमा अहिले आउने नयाँ शिक्षा ऐनले माध्यमिक शिक्षाको दरबन्दी नयाँ सिर्जना गर्दा प्रदेश र पालिका मिलेर गर्ने खालको सोच ल्याइएको छ।’

मातृभाषाबाट शिक्षा दिनुपर्ने राज्यको पनि दायित्व रहेको उनले बताए। ‘तपाईंहरूको पनि सहयोग चाहिन्छ, आमाले सिकाउनु भएको मातृभाषाको रिन तिर्ने अवसर छ,’ उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.