|

काठमाडौं : सञ्चालन नहुँदै बिग्रिएपछि निर्माण कम्पनीले वीर अस्पताललाई अर्को टोमोथेरापी मेसिन पठाएको छ। क्यान्सरका बिरामीलाई सरकारी अस्पतालमा नै सर्वसुलभ उपचार गर्ने भन्दै २०७५ सालमा ३९ करोड ९० लाखमा मेसिन किनिएको थियो।

वीर अस्पतालमा मेसिन राख्ने स्थान नै नभएपछि सशस्त्र अस्पताल राखिएको थियो। हाल यो मेसिन अस्पतालको चौरमा बेवारिसे रहेको थियो। उक्त मेसिन नखोल्दै प्रयोग गर्न नमिल्ने गरी बिग्रिएपछि निर्माण कम्पनी अकुरे (अमेरिकी)ले नयाँ टोमोथेरापीमेसिन पठाएको हो।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का निमित्त  उपकुलपति प्राडा भूपेन्द्रकुमार बस्नेतका अनुसार बलम्बुस्थित सशस्त्र अस्पतालको चौरमा राखिएको उक्त मेसिनमा कन्टेनरबाट पानी चुहिएपछि खोल्दै नखोली प्रयोग गर्न नमिल्ने भएको थियो। बिग्रिएको मेसिन फिर्ता लगेर नयाँ पठाउन वीरले गरेको आग्रह कम्पनीले स्वीकार गरेको हो।

‘पहिला ल्याएको मेसिन बिग्रिएपछि हामीले कम्पनीलाई अर्को मेसिन ल्याउन भन्यौँ। कम्पनी राजी भयो’, उनले भने, ‘उक्त मेसिन समुद्री मार्ग हुँदै अमेरिकाबाट आइरहेको छ ५ जुनमा कोलकाता आइपुग्ने जानकारी हामीले पाएका छौँ।’

निमित्त उपकुलपति बस्नेतका अनुसार अब एक महिनाभित्र नयाँ मेसिन काठमाडौं आइपुग्ने छ। दुई महिना भित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ।

वीर अस्पतालमा मेसिन जडानका लागि उपयुक्त स्थान (बंकर) निर्माण भइसकेको छ। वीरमा विगतमा कोबाल्ट मेसिन रहेको स्थानमा नै टोमोथेरापी मेसिन जडान गर्ने गरी बंकर बनाइएको छ।

किन प्रयोग गर्न नमिल्ने गरी बिग्रियो त ल्याइसकेको टोमोथेरापी मेसिन

अस्पतालमा रहेको कोबाल्ट ६० मेसिन २०७२ सालतिर कामै नलाग्ने गरी बिग्रिएपछि नयाँ मेसिन किन्ने प्रक्रिया अगाडि बढाएको थियो। २० वर्षअघि ल्याइएको कोबाल्ट मेसिन ०७२ मा बिग्रिएपछि वीरमा क्यान्सर रोगीको 'रेडियोथेरापी' सेवा पूर्ण रूपमा बन्द भएको थियो।

तत्कालीन स्वास्थ्यमन्त्री गगन थापाको पालामा  तत्कालीन चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति डा. गणेश गुरुङ र  वीर अस्पतालका निर्देशक डा. बस्नेतले उक्त मेसिन खरिद गर्ने निर्णय गरेका थिए। ‘लाइफलाइन ट्रेड इन्टरनेसनल प्रालि’ ले ल्याएको हो।

मेसिन खरिद प्रक्रिया अगाडि बढेसँगै मेसिन राख्नका लागि स्थान खाली गर्ने काम पनि अगाडि बढाइएको थियो। तर प्राविधिक र प्रशासिनक कारण टोमोथेरापी राख्ने स्थान (बंकर) तयार हुन सकेको थिएन।

वीर अस्पताल स्रोतका अनुसार यो टोमोथेरापी मेसिन भने क्यान्सरको उपचारका लागि नेपालमा नै पहिलोपटक ल्याइएको अत्याधुनिक मेसिन हो। हाल क्यान्सरको उपचार गरिरहेका निजी स्वास्थ्य संस्थाले टोमोभन्दा एक स्तर कम मानिने लिनियाक रेडिएसन मेसिनबाट सेवा दिइरहेका छन्। यो सेवा दिँदा निजी स्वास्थ्य संस्थाले  डेढ लाख रुपैयाँसम्म शुल्क लिने गरेको बताइन्छ।

यस्तो अवस्थामा सरकारी स्तरबाटै टोमोथेरापी सेवा शुरु गर्दा क्यान्सारका धेरै बिरामी वीरमा आउने र निजीमा नजाने अवस्था भएकाले सञ्चालनमा अवरोध गर्न एक समूह लागेको वीर अस्पतालका एक अधिकारी बताउँछन्। त्यसैले मेसिन सञ्चालनमा ढिलाइ भइरहेको उनको भनाइ छ।  ‘वीरमा टोमोथेरापी मेसिन सुरु हुने बित्तिकै धेरै बिरामी यही आउने र निजी स्वास्थ्य संस्थामा नजाने डरले एक समूहले खरिद गर्ने समयदेखि नै अवरोध गर्दै आएको छ’, ती अधिकारीले भने।  

पहिलो पटक २०७६ सालमै ल्याइएको उक्त मेसिन ल्याएर सशस्त्र अस्पतालको चौरमा राखिएको थियो। केही समय अघि मेसिन उत्पादक अमेरिकी कम्पनी एकुरेका प्रतिनिधि नेपाल आएका थिए। उनीहरुले बलम्बु स्थित मेसिन राखिएको ठाउँमा पुगेर अवलोकन गरे। मेसिनको  पाटपूर्जामा नै खिया लागेपछि उत्पादक कम्पनी एकुरेका प्रतिनिधि मेसिन जडान गरि प्रयोग गर्न नमिल्ने गरी बिग्रिएको भन्दै फर्किएको थियो।  

के हो 'टेमोथेरापी' मेसिन?

टेमोथेरापी मेसिन क्यान्सरको बिरामीको उपचार गर्न विकसित गरिएको नयाँ प्रविधि हो। क्यान्सर भएको शरीरको भागमा मात्रै यो मेसिन प्रयोग गर्न सकिन्छ। यो प्रविधिबाट उपचार गर्दा शरीरको अन्य भागमा असर गर्ने सम्भावना कम हुन्छ। वीरले ल्याएको टोमोथेरापी मेसिन अमेरिकी एकुरे कम्पनीसँग मात्रै रहेकाले त्यहीँबाट खरिद गरिएको थियो।

यो मेसिन भारतमा पनि प्रमुख तीन अस्पताल मेदान्त, कोलकाता टाटा मेमोरियल र मुम्बई टाटा मेमोरियलमा मात्रै रहेको बताइन्छ। नेपालमा यो मेसिन पहिलोपटक २०७६ सालमा भित्र्याएको थियो। तर सञ्चालनमा नआउदै बिग्रिएको भन्दै पुन: अर्को ल्याउन लागिएको छ।

नेपालमा हाल काठमाडौं क्यान्सर सेन्टर, नेपाल क्यान्सर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र भरतपुर क्यान्सर अस्पतालमा मात्र रेडियोथेरापी सेवा उपलब्ध छ।

नयाँ मेसिन सञ्चालनमा ल्याएपछि दैनिक ६० देखि ७० जना क्यान्सरका बिरामीले सेवा पाउने अस्पतालले जनाएको छ। वीर अस्पतालमा दैनिक ५० जना जति क्यान्सरका बिरामी आउने र उनीहरूलाई रेडियोथेरापीमार्फत उपचार गर्ने गरिएको थियो। तर यो सेवा बन्द भएपछि हाल क्यान्सरका बिरामीले निजी स्वास्थ्य संस्थामा रेडियोथेरापी गर्दा डेढदेखि दुई लाख रुपैयाँसम्म खर्च गर्नुपर्छ। वीर अस्पतालले यो सेवा १० हजार रुपैयाँमै दिने तयारी गरेको छ। यो मेसिन  सञ्चालनमा आएपछि दैनिक दुई सिफ्टमा सञ्चालन गरेर बिरामीलाई सेवा दिने तयारी भइरहेको बस्नेतले जानकारी दिए।​

टोमोथेरापीबाट रेडिएसन अंकोलोजिस्टले धेरै प्रकारका क्यान्सर मस्तिष्क क्यान्सर र सामान्य ब्रेन ट्युमर,  टाउको, घाँटी र मुखको क्यान्सर,  ब्रेस्ट क्यान्सर (दुख्ने र सुन्निने ब्रेस्ट क्यान्सर समेत) र फोक्सोको क्यान्सरमा उपचारमा प्रयोग हुन्छ। छालामा हुने क्यान्सर, प्रोस्टेट क्यान्सर भोजन नली र पाचन प्रणालीका क्यान्सर, सर्भाइकल, ओभ्यारियन, भेजिनल तथा भल्भ र गर्भासय क्यान्सर, कोलोन, पेट, रेक्टल र एनल क्यान्सर, कलेजो र फियो क्यान्सर, ल्युकेमिया लगायतको उपचारमा समेत यसको प्रयोग हुन्छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.