सात दिन लागेको थियो घटनाको अनुसन्धान

|

विराटनगर : सुनचाँदी चोरीमा संलग्न तीनजनालाई मोरङ प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।

सुनचाँदी चोरीमा संलग्न तीनजनालाई प्रहरीले पक्राउ गरी आज (बिहीवार) जिल्ला प्रहरी कार्यालय मोरङले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा विराटनगर–१२ का २१ वर्षीय राजकुमार कामत, १९ वर्षीय विवेक कामत र २२ वर्षीय श्रीकान्त दास रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता रञ्जनकुमार दाहालले जानकारी दिए। 

डिएसपी दाहालका अनुसार पक्राउ पर्ने व्यक्तिमध्ये विवेक कामत चोरी मुद्दामा ९ महिनाको सजाय भुक्तान गरी वैशाख २८ गते छुटेका थिए। यसैगरी श्रीकान्त दास डाँका चोरी मुद्दामा २०७७ पुस २९ गतेदेखि करिब २० महिनाको सजाय भुक्तान गरेर २०७९ असोज ३ गते छुटेको डिएसपी दाहालले जानकारी दिए।

भएको के थियो ?

प्रवक्ता दाहालका अनुसार जेठ ३ गते विराटनगर–३ पिपलचौकस्थित जयकिशोर चौधरीको घर चोरी भएको सूचना आएको र सोही बेलुका जिल्ला प्रहरी कार्यालय मोरङको १०० नम्बरमा जानकारी प्राप्त भएको थियो।

प्रहरीलाई जानकारी हुनेबित्तिकै सादा पोशाकमा तथा घटनास्थल मुचुल्का लगायत प्रारम्भिक अनुसन्धानका लागि तत्कालै प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोलीे परिचालन गरिएको उनले बताए।​

पीडितका अनुसार उनको घरबाट २० तोला सुन (अन्दाजी मूल्य २० लाख) र ३६ केजी चाँदी (अन्दाजी मूल्य ४१ लाख) जम्मा ६१ लाख बराबरको चोरी भएको जानकारी प्राप्त भएको मोरङ प्रहरीले जनाएको छ।​

जयकिशोर चौधरी र खाँ ज्वेलर्सका सञ्चालक ज्योतिप्रसाद खाँ सुनचाँदीको कारोवार साझेदारीमा गर्ने गरेको र सोही कारणले ती सामान जयकिशोरको घरमा राख्ने गरेको बुझिएको डिएसपी दाहाले बताए।

‘चोरीको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङबाट छुट्टै ८ जनाको टोली परिचालनमा रहेको थियो’, उनले भने, ‘उक्त टोलीले विगत ७ दिनदेखि यो चोरीको घटनालाई सूक्ष्म तवरले अनुसन्धान गर्दै आएको थियो र सूचना संकलन गर्ने तथा निगरानी गर्ने काम गर्दै आएको थियो।’

कारागार कार्यालय मोरङ र बाल सुधार गृह मोरङबाट कैद भुक्तान गरेका तथा छुटेका प्रत्येक व्यक्तिको सूक्ष्म तरिकाले अनुसन्धान गरिएको बताउँदै उनले पक्राउ परेका तीनैजना छिमेकी रहेको प्रहरीले जनाएको छ।

‘उनीहरूले पहिलेदेखि नै चोरी गर्दै आएको, पटक–पटक चोरी मुद्दामा समेत पक्राउ परेको र योजना बनाएअनुरूप नै जेठ ३ गते पीडितको घरमा प्रतिवादीहरूमध्ये २ जना कामत र श्रीकान्त दास चोरी गर्न गएका थिए’, उनले भने, ‘लगातार ७ दिनको अनुसन्धान र निगरानीको माध्यमबाट जेठ १० गते रातको अन्दाजी १:०० बजे बिराटनगर महानगरपालिका–१२ कोशी प्रोजेक्टस्थित सडक खण्डमा पक्राउ गर्न सफल भएका हौं।’

भारततिर जाँदै थिए

दुईवटा कालो झोलामा चाँदीका सामानसहित भारततर्फ जाने क्रममा पक्राउ परेका उनीहरूले चोरीका सामग्री भारतको जोगबनीमा लगेर बेच्ने गरेको अनुसन्धानमा खुलेको छ। उनीहरूले चोरी गरेको सुन भारतको जोगवनीमा ७ लाखमा बेचेको कुरा अनुसन्धानबाट खुल्न आएको डिएसपी दाहालले जानकारी दिए।

उनका अनुसार उनीहरू चोरीपछि हाटखोलास्थित दिव्यरत्न होटेलमा ३ दिन बसेको र त्यसपछि भारततिर गएको अनुसन्धानबाट खुलेको छ।

विगतमा समेत चोरीको मुद्दामा सलंग्न रहेकाले हाल अन्य घरमा चोरी भएका घटनाको सम्बन्धमा समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

‘विवेक कामतको प्रारम्भिक बयानबाट हालसम्म यस्तै प्रकृतिका अन्य घरमा समेत चोरी गरिसकेको बताएकाले थप अनुसन्धान भइरहेको छ’, उनले भने।

कसैले थाहा नपाउने गरी डुल्दै हिँड्थे

चोरी गरे पनि बाटोमा कसैले थाहा नपाउने गरी डुल्दै हिँड्ने गरेको र डुल्ने क्रममा उनीहरूको मुख्य निशाना ताल्चा लगाएको घरमा रहने गरेको डिएसी दाहालले जानकारी दिए।

बाहिरबाट ताल्चा लगाएको घरमा कुनै माध्यमबाट पर्खाल नाघेर छिर्ने गरेको र १ जना घर बाहिरको अवस्था बुझ्न बस्ने गरेको समेत पाइएको उनले बताए।

‘रड वा कुनै गह्रौँ वस्तुले ताल्चा फोड्ने गरेको पाइएको छ’, उनले भने, ‘घरका सम्पूर्ण कोठा राम्ररी खोजतलास गरी सुनचाँदी गरगहना तथा नगद मात्र लिने काम गरेको छ।’ चोरीका क्रममा कोठामा रहेका विद्युतीय सामग्री उनीहरूले चलाउने नगरेको समेत उनले बताए।

चोरीको सामानको राख्न कोठाभाडामा

चोरीका सामान व्यवस्थापन गर्न कोठा भाडा खोजेर राख्ने गरेको समेत अनुसन्धानमा खेलेको छ।

होटेलको रुम लिएर २,३ दिन लुकेर बस्ने र घटना अलि साम्य भएपछि मात्र निस्किने गरेको समेत पाइएको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.