|

काठमाडौं : नेकपा एमालले दुई दिन स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिँदैछ। 

स्थानीय तहमा बजेट निर्माण गर्ने समय भइरहँदा नेकपा एमालेले पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूका लागि दुई दिने अनुशिक्षण कार्यक्रम आयोजना गरेको हो।

एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा आज र भोलि हुने अनुशिक्षणमा पार्टीका नेताहरू र  विभिन्न विषयविज्ञबाट प्रशिक्षण दिन लागेको हो। 

पार्टीको केन्द्रीय स्कूल विभाग र स्थानीय विकास विभागको संयुक्त आयोजनामा तुल्सीलाल स्मृति प्रतिष्ठानको सभाहल, च्यासल, ललितपुरमा आज विहान साढे १० बजे हुने अनुशिक्षणमा नेकपा (एमाले) बाट स्थानीय तहमा निर्वाचित पालिका प्रमुख र उपप्रमुख गरी करीब चार सयजनाको सहभागिता रहने छ। 

अनुशिक्षणको उद्घाटन सत्रमा अध्यक्ष ओलीले सम्बोधन र दिशानिर्देश गर्नेछन्।  समापनमा महासचिव शंकर पोखरेलले समसामयिक राजनीतिक परिवेश र स्थानीय तहका जनप्रतिनिधिहरूबाट पार्टीको भूमिका विषयमा सम्बोधन गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ। 

जनप्रतिनिधिहरूलाई स्थानीय तहको ठाडो र तेर्सो अन्तर सम्बन्ध, समन्वय र साझेदारी तथा पार्टीको भूमिका विषयमा उपमहासचिव तथा स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीले प्रशिक्षित गर्नेछन भने स्थानीय तहमा रोजगारी, श्रम र उत्पादनशीलता विषयमा स्थायी कमिटी सदस्य डाक्टर विन्दा पाण्डे र स्थानीय तह सञ्चालन सम्बन्धी निर्देशिका र अन्य कार्ययोजनाका विषयमा पोलिटव्युरो सदस्य देवेन्द्र दाहालले प्रशिक्षण दिनेछन्। 

त्यसैगरी, अनुशिक्षणमा स्थानीय तहको कार्यक्षेत्र, कार्यक्रमहरूको प्राथमिकीकरण र बजेट तर्जुमा विषयमा नेपाल सरकारका पूर्व सचिव शिशिरकुमार ढुङ्गाना, स्थानीय तहको स्रोत परिचालन, वैकल्पिक लगानी र विकास व्यवस्थापन विषयमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पूर्व कार्यकारी अधिकृत सुशील ज्ञवाली र स्थानीय तहमा सुशासन, सेवा प्रवाह र जनशक्ति व्यवस्थापन विषयमा गाउँपालिका राष्ट्रिय महासंघ नेपालका पूर्व कार्यकारी निर्देशक विमल पोखरेलले प्रशिक्षण दिनेछन्। 

त्यस्तै, स्थानीय तहमा सूचना प्रविधिको प्रयोग र प्रचार प्रसार विषयमा अस्गर अलि र उनको टिमको प्रस्तुति रहने छ भने अनुशिक्षण सबै प्रशिक्षक र विषयविज्ञसँग सहभागीहरूको अन्तर्क्रियात्मक हुने गरी कार्यक्रम बनाइएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.