|

काठमाडौं : जापानको मध्य प्रान्त नागानोमा हतियारधारी एक व्यक्तिले छुरा प्रहार गरी गोली चलाउँदा चार जनाको ज्यान गएको छ। मृत्यु हुनेमा दुई प्रहरी अधिकारी पनि छन्। 

आक्रमणकारी नगरसभा सभामुखको छोरा भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन्। उनलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। संदिग्ध ३१ वर्षीय मसानोरी आओकी नगर सभाका सभामुख मासामिची आओकीको जेठा छोरा भएको प्रहरी अधिकारीले जनाएका छन्। उनले आमालाई पनि आक्रमणको प्रयास गरेपछि भागेर ज्यान बचाएकी थिइन्।   

आक्रमणकारीले सुरुमा एक जना महिलालाई छुरा प्रहार गरेर हत्या गरेको र उनले आफैले प्रहरी बोलाएर घटनास्थलमा लगेको र प्रहरीमाथि गोली चलाएको जापानी सञ्चारमाध्यम क्योदोले जनाएको छ। 

उनले ६६ वर्षीय वृद्धलाई छुरा प्रहार गरि गम्भीर घाइते बनाएपछि प्रहरीलाई बोलाएको र प्रहरी घटनास्थलमा पुगेर गाडी पार्किङ गर्ने बेलामा उनले गोली हानेको प्रत्यक्षदर्शीलाई उदृत गर्दै क्योदोले जनाएको छ। मृत्यु हुनेमा ६६ वर्षीय मुराकामी, ४६ वर्षीया प्रहरी इन्सपेक्टर योशिकी तामाई र ६१ वर्षीय ताकुओ इकेउची रहेका छन्। एक महिलाको भने पहिचान खुलेको छैन। 

घटनामा थप एक जना मारिएको कुरा पछि पुष्टि भएको थियो। चौथो व्यक्ति एक जना वृद्ध महिला भएको र उनी कसरी मारिइन भन्ने कुरा भने स्पष्ट नभएको जनाइएको छ। उनलाई पनि छुरा प्रहार भएको प्रहरीले अनुमान गरेको छ। प्रहरीले थप अनुसन्धान गरिरहेको छ।  

स्थानीय समयअनुसार बिहीबार साँझ करिब साढे ६ बजे प्रहरीले एक जना व्यक्तिले एउटा महिलालाई छुरा हानेको घटनाबारे सूचना आएको प्रहरीले जनाएको छ। 

आक्रमणकारीले सैनिकले लगाउने जस्तो पोसाक लगाएको र पक्राउ पर्नुअघि आफ्नो बुवाको घरभित्र घण्टौँ लुकेर बसेको प्रहरीले बताएको छ। 

जापानमा पूर्वप्रधानमन्त्री सिन्जो आबेको गोली प्रहार गरी हत्या भए पनि जापानमा बन्दुक हिंसाको घटना विरलै हुने गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.