|

पाल्पा : प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरले महिला जनप्रतिनिधिले गरेका काममा बढी राजनीतीकरण हुने बताएकी छन्।

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् पाल्पाले शनिबार तानसेनमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा उनले महिला जनप्रतिनिधिले गरेका काममा बढी राजनीतीकरण हुँदा काम गर्न कठिन भइरहेको गुनासो गरिन्। धेरै महिला जनप्रतिनिधिले आफूसँग गुनासो गरिरहेको उनले सुनाइन्।

‘मन्त्री, संसद्, स्थानीय तहका प्रमुख जुन पदमा भएका महिलाले आफ्नै योजना र विवेकले काम गर्न पाउँदैनन्’, उनले भनिन्, ‘पुरुषले कहीँ न कहीँ हस्तक्षेप गरिरहेका हुन्छन्। उनीहरूले गरिरहेका काममाथि बढी राजनीति नै हुन्छ।’

सरकारले गरेका गल्ती सच्याइदिने काम आमनागरिक वा विपक्षी दलको दायित्व हो। खुट्टा तान्ने प्रवृत्तिले मुलुकको विकास हुन नसकेको उनले बताइन्। मुलुकको विकास र हितका निम्ति राजनीतीकरण गर्न हुँदैन। अझै दुःखको कुरा, ठूला नेता, व्यक्ति र परिवारवादमा फसेर इमानदार काम गरिरहेका छैनन्।

विकास निर्माण लगायत राज्यका हरेक निकायमा आर्थिक मात्र हैन। समयको पनि भ्रष्टाचार भइरहेको छ। नेताहरू निदाउने वेला छैन। विकासको फड्को मार्न जनताले नेतालाई खबरदारी गरिरहनुपर्नेमा जोड दिइन्।

बालबालिकाको अधिकारमा सरकार उदासीन रहेको उनले आरोप लगाइन्। अझै पनि केही बालबालिका कुपोषणको शिकार बनिरहेका छन्। कारागारमा बस्न बाध्य बालबालिकालाई दिइने सुविधा बढाउन उनले माग गरिन्।

आफू मगर समुदायको नागरिक भएका कारण उपसभामुख बन्ने मौका पाएको राना मगरले बताइन्। समय परिस्थितिले नेता बन्ने मौका आउँदो रहेछ। आदिवासी जनजाति एक भएर अगाडि बढ्नुपर्ने उनले आग्रह गरिन्।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.