|

काठमाडौं : सांसदहरूले आगामी आर्थिक वर्षको बजेटमा पुँजीगत खर्च गर्ने मन्त्रालयहरूको सिलिङ घटाएर सरकार उल्टो बाटोमा गएको बताएका छन्।

आइतबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै सांसदहरूले सरकारले पुँजीगत खर्च गर्न नसकी रहेको अवस्थामा सबै भन्दा बढी पुँजीगत खर्च गर्ने मन्त्रालयहरूलको बजेट सिलिङ घटाएर उल्टोबाटोमा सरकार जान लागेको आरोप लगाएका हुन्।

उनीहरूले योजना आयोगले बजेट निर्माण गर्दा सरकारलाई दिने योजनाहरू वास्तविकतामा आधारित भएर दिन आवश्यक रहेको बताए। उनीहरूले योजना आयोग अब केन्द्रमा मात्रै नभएर ७७ जिल्लामा बिस्तार गरी स्थानीय आवश्यकताका आधारमा आयोजनाहरू छनोट गर्न आवश्यक रहेको बताए। त्यस्तै,सांसदहरूले मुलुक आर्थिक रुपमा संकटग्रस्त अवस्थामा रहेको भन्दै धेरै उद्योगीहरू सडकमा आउन लागेको बताए।

बैठकमा बोल्दै अर्थसमिति सदस्य सूर्यबहादुर थापाले अहिले सबै भन्दा बढी दबाब भौतिक पूर्वाधारमा भएपनि योजना आयोगले ३२ प्रतिशत बजेटको सिलिङ घटाउनु राम्रो नभएको बताए। उनले भौतिक मन्त्रालयको १ खर्ब ६६ अर्बबाट १४ अर्ब सिलिङ घटाएको भन्दै पुँजीगत खर्च भएन भन्ने पनि छ तर उपचार पुँजीगत खर्च गर्ने मन्त्रालयको बजेट घटाएर सरकार एनजीओ बेसिसमा सरकार जान खोजेको बताए।  उनले सरकारले पुँजीगत खर्च बढाउने उपचार एकातिर गर्नु पर्ने भएपनि उपचार विधि अर्कोतिर गर्न उल्टोमति भएको बताए।

त्यस्तै,अर्को सांसद पूर्णबहादुर तामाङले राष्ट्रिय योजना आयोग ७७ जिल्लामा शाखा बिस्तार गरी खानी तथा जलविद्युतको सम्भावनाको विषयमा अनुसन्धान गर्न आवश्यक रहेको जिकिर गरे। उनले स्थलगत रुपमा अनुसन्धान गरी आयोजनाहरूको निर्माणको विषयमा योजना बनाउन आवश्यक रहेको बताए। उनले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्षलाई संसद विकास कोष हटाउन लगाएर ७७ जिल्लाकै विकासलाई मार्ने काम नगर्न चेतावनी दिए। उनले देश विकास गर्ने कोषको विरोध नगर्न आयोगलाई चेतावनी दिए। उनले कन्द्रमा ७ अर्बमा सर्वोच्चको भवन बनिरहेको तर जिल्लाका न्यायाधीश बस्ने घर भाडामा रहेको बताए।

त्यस्तै,सांसद मेटमणि चौधरीले मुलुक दुई÷तीन महिनापछि आर्थिक रुपमा टाट पल्टने अवस्था देखिएको बताए। उनले आर्थिक मन्दीको कारण धेरै उद्योगीहरू सडकमा आउन थालेको बताए।

उनले धेरै उद्योगीहरूको सम्पती बैंकले लिलाम गर्ने प्रक्रियामा पुगेको उल्लेख गरे। उनले यस्तो अवस्थाको विषयमा राष्ट्रिय योजना आयोगले सरकारलाई सुझाव दिने विषयमा के सोचेको छ ? भन्दै जवाफ माग गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.