|
अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियम।

वर्षाका कारण इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको फाइनल खेल अवरुद्ध बनेको छ।

अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा हुन लागेको गुजरात टाइटन्स र चेन्नई सुपर किङ्गसबीचको फाइनलमा खेल वर्षाका कारण टससमेत हुन नसकेपछि अवरुद्ध बनेको हो।अहिले राति ९ बजेसम्म पनि वर्षा नरोकिए फाइनल खेल भोलि हुनेछ।

चार पटकको च्याम्पियन चेन्नई आज गुजरातलाई हराउँदै पाँचौं पटक च्याम्पियन बन्ने दाउमा छ। साविक विजेता गुजरात पनि दोस्रो पटक उपाधि उचाल्ने योजनामा छ। 

फाइनल खेल हेर्न ७६ हजार दर्शक मैदानमा पुगेका छन्। १ लाख दर्शक क्षमता भएको रंगाशाला भरिभराउ हुने अनुमान गरिएको छ। 

गत वर्ष गुजरातले फाइनलमा राजस्थान रोयल्सलाई ८ विकेटले हराउँदै उपाधि कब्जा गरेको थियो। 

सन् २०१० र ११ मा लगातार दुई वर्ष उपाधि जितेको चेन्नईले तेस्रो पटक उपाधि जित्न ७ वर्ष पर्खनु परेको थियो। चेन्नईले सन् २०१८ मा सनराइजर्स हैदराबादलाई ८ विकेटले हराउँदै तेस्रो पटक उपाधि जितेको थियो।

त्यसपछि २ वर्षसम्म उपाधिविहीन बनेको चेन्नईले सन् २०२१ मा कोलकाता नाइट राइडर्सलाई ८ विकेटले हराउँदै चौथो पटक उपाधि जितेको थियो। 

यस पटकको उपाधि विजेताले २० करोड भारतीय रुपैयाँ पाउनेछ भने उपविजेताले १३ करोड भारतीय रुपैयाँ पाउनेछ। तेस्रो स्थानको मुम्बई इण्डियन्सले ७ करोड तथा चौथो स्थानको लखनऊ सुपर जायन्ट्सले ६ करोड ५० लाख रुपैयाँ पाउनेछ।

भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)ले यस सिजनको आइपिएलका लागि ४६ करोड ५० लाख रुपैयाँ बजेट छुट्याएको थियो।

यसैबीच चेन्नई सुपर किंग्सका खेलाडी अम्बाती रायडुले सन्यासको घोषणा गरेका छन्। आजको फाइनल खेलपछि उनले संन्यास लिने बताएका छन्। सामाजिक सञ्जालमा लेख्दै उनले अब यो निर्णयबाट आफूले यू-टर्न नलिने बताउँदै संन्यासको घोषणा गरेका हुन्।

भारतीय क्रिकेट टोलीका पूर्वकप्तान महेन्द्रसिंह ढोनीले पनि संन्यास लिने घोषणा गर्नसक्ने अनुमान गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.