|

सुर्खेत : भेरी करिडोरको जाजरकोटको पासागाडदेखि रिम्नासम्मको पिच अन्तिम चरणमा पुगेको छ। १६ किलोमिटर पिचको काम असार मसान्तसम्म पूरा हुने यती बिल्डर्सका अध्यक्ष भीमराज केसीले जानकारी दिए।

पासागाड–रिम्ना सडकको अर्को आर्थिक वर्षभित्र ५६ किलोमिटर सडक पिच गर्ने लक्ष्य रहेको छ। अर्को रिम्नादेखि तल्लुसम्मको ४० किलोमिटर सडकमा समेत काम जारी छ। सडकको वरीपरी ढल निकास, फराकिलो बनाउने र वालको काम जारी छ।

आगामी आर्थिक वर्षभित्र ५६ किलोमिटर पिच गरिसक्ने अध्यक्ष केसीले बताए। यस खण्डमा भ्याटसहित १ अर्ब ८ करोड रकम खर्च हुनेछ। यही सडकको बीचमा रहेका साना खोला तथा भेरी नदीमा पुल निर्माणको काम भइरहेको छ।

क्याराभान निर्माण प्रालिले लिएका पक्की ठूला पुलका काम भने अझै सुचारु गरेको छैन। बेलिब्रिजको काम जारी छ। भेरी करिडोर जाजरकोटदेखि डोल्पा सदरमुकामसम्मको कुल लम्बाइ ११८ किलोमिटर छ भने भेरी करिडोरको पूरै लम्बाइ ३१० किलोमिटर रहेको छ।

डक डिभिजन चौरजहारीसँग रहेको यो सडकलाई एक महिनाअघि मात्र अलग बनाई भेरी करिडोर आयोजना बनाएर डोल्पाको सदरमुकाम दुनैमा कार्यालय राखेर काम भइरहेको छ। यसबीचमा रहेका पुल समेत भेरी करिडोरकै मातहत आइसकेका छन्।

खलंगादेखि रिम्नासम्मको सडक डिल्पीले निर्माण गरी केही मुआब्जा लिएको भेटिएकाले क्षतिपूर्तिको विषयमा छलफल भइरहेको आयोजनाका दत्त लामाले जानकारी दिए। भेरी नगरपालिका–१ पिपे र रावतगाउँमा यो समस्या देखिएको उनले बताए।

जाजरकोट खलंगादेखि डोल्पाको दुनैसम्म पक्की पुल निर्माणका लागि ठेक्का लागेको एक वर्ष भए पनि काम अझै सुचारु हुन नसकेको लामाले बताए।

मध्य पहाडी लोकमार्ग, लुम्बिनी-रारा सडकलाई समेत छुन्छ। त्यस्तै जुम्ला डोल्पा हुँदै मुस्ताङ जोड्ने सडकको समेत बीचमा पर्दछ। चीन र भारतसँग सिधा जोड्ने सडक समेत यही रहेको छ। नलगाडको झुर्मेखोला, नलगाड नदी, त्रात्रगाड, चौखास्थित ताँसुगाड, तल्लु भेरी पुलमा पक्की पुलका लागि ठेक्का भएको वर्ष दिन बिते पनि काम भएको छैन।

यसैगरी यातायात व्यवस्था कार्यालयले भेरी करिडोरमा चल्ने सवारीसाधनको रुट पास भए नभएको बारे निगरानी कडा बनाएको छ। कार्यालय प्रमुख आनन्द चपाईं आफैँ सडकमा पुगी सवारीसाधन जाँच गर्न थालेका छन्। आज भेरी नगरपालिका-१ रिम्नामा जाँच गर्दा दुई दर्जन सवारीसाधनले रुट अनुमति नलिएर चलाएको पाइएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.