|

रौतहट : रौतहटको चन्द्रनिगाहपुर–गैँडाटार जोड्ने चाँदी नदीको पुल निर्माणमा ढिलाइ भएको भन्दै स्थानीय बासिन्दा आइतवारदेखि रिले अनशन बसेका छन्। 

ठेक्का कबुल गरेको तीन वर्षमा बन्नुपर्ने पुल ७ वर्षसम्म पनि नबनेपछि स्थानीय अनशन बसेका हुन्।

उक्त पुल समयमा बनाउन माग राख्दै रौतहट क्षेत्र नं–४ का संघीय सांसद देवप्रसाद तिमल्सिनाले पटक–पटक संसद्‌मा कुरा उठाउँदै आएका छन्। समयमा काम नगर्ने ठेकेदारलाई सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले पटक–पटक म्याद थपेकाले ठेकेदारको मनोमानी बढेको चन्द्रपुर–३ का वडाध्यक्ष बोधनाथ देवकोटाको भनाइ छ।

उक्त पुल निर्माणको जिम्मा पप्पु शिवशंकर जेभीले पाएको थियो। उक्त पुल ४६९ मिटर लम्बाइ र साढे ७ मिटर चौडाइ रहेको छ। ११ ओटा स्पाम रहेको पुल दुईपटक म्याद थप गरेर २०७६ असारमा सम्पन्न गर्ने सम्झौता थियो। पहिलो चरणमा डेढ वर्ष तथा पछिल्लो समयमा ६ महिनाका लागि म्याद थप भएको हो।

पटक–पटक म्याद थप भए पनि पुल बन्न सकेको छैन। निर्माण कम्पनीको चरम लापरबाहीले समयमा पुल निर्माण सम्पन्न हुन नसकेको गैँडाटारका लालबहादुर दोङले बताए। निर्माण कम्पनीले प्रतिबद्धतानुसार काम नगरेको र अझै चारवटा स्पाम ढलान बाँकी रहेको उनले बताए।

निर्माण कम्पनी तथा डिभिजन सडक कार्यालयलाई पटक–पटक ताकेता गरेपछि काम सुरु गरे पनि सुस्त गतिमा भइरहेको चन्द्रपुर नगरपालिका–३ का गोविन्द तिमल्सिनाले बताए।

पप्पु शिवशंकर जेभीले २२ करोड ४४ लाख रुपैयाँमा पुल निर्माणको जिम्मा पाएर २०७३ पुसदेखि काम शुरु गरेको निर्माण कम्पनीका ठेकेदार दयारामप्रसाद साहले बताए। कोरोना, निर्माण सामग्रीको अभाव, बजेट जस्ता विविध कारणले निर्माणमा ढिलाइ भएको साहले बताए। पुलको काम हालसम्म करिब ७० प्रतिशत मात्र सम्पन्न भएको छ।

पुल नबन्दा चाँदी खोलाले बगाएर मान्छेको ज्यान जाने गरेको छ। ‘वर्षाको समय आयो पुल बनेन। त्यसैले हामीले रिले अनशन थालेका हौँ’, गोविन्द तिमल्सिनाले भने।

स्थानीयले ठेकेदारसँग मिलेमतो गर्ने चन्द्रनिगाहपुरस्थित सडक डिभिजन कार्यालयका प्रमुख र साइड इन्जिनियरको सरुवाको माग गरेका छन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.