|

काठमाडौं : नेपाल सरकारबाट सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नेको सङ्ख्या बढेको छ। चालु आर्थिक वर्ष २०७९/८० पहिलो आठ महिनासम्म सरकारबाट मासिक भत्ता प्राप्त गर्नेको संख्या ३६ लाख ८३ हजार ६५८ छ। 

सोमबारको गोरखापत्रमा समाचार छ, सरकारले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षण अनुसार चालु आर्थिक वर्षमा सामाजिक सुरक्षा भत्ता लिनेको सङ्ख्या गत आर्थिक वर्ष २०७८/७९ को भन्दा ८१ हजार जना बढी हो। गत आर्थिक वर्षमा ३६ लाख दुई हजार ७०५ जनाले मासिकरूपमा सामाजिक सुरक्षा भत्ता प्राप्त गरेका थिए।

राष्ट्रिय योजना आयोगका अनुसार २०६८/६९ मा सङ्क्रमणकालीन  अवधिमा मानिसमा गएको सामाजिक सुरक्षाको रकम २० लाख मात्रै थियो। आर्थिक वर्ष २०७१/७२ मा २१ लाख ३३ हजार मासिक लाभान्वित भएका थिए। 

१५ औँ आवधिक योजना पहिलो वर्ष २८ लाख लाभान्वित भएकामा २०७९/८० को फागुनसम्म लाभ लिनेको सङ्ख्या ३७ लाखको हाराहारीमा पुगेको छ। 

कुल जनसङ्ख्याको ३० प्रतिशतलाई सामाजिक सुरक्षा सामाजिक सुरक्षाको कर्भेजमा नेपालले कुल जनसङ्ख्याको ३० प्रतिशत उपलब्धि प्राप्त गरेको छ। आयोगले १५ औँ आवधिक योजनामा सामाजिक सुरक्षा कर्भेजको अवस्था ६० प्रतिशत पुर्‍याउने लक्ष्य लिएकामा एक वर्ष बाँकी रहँदा ३० प्रतिशत पुर्‍याएको हो। जब कि १५ औँ आवधिक योजनाको प्रथम वर्षमा हुँदा नेपाल सामाजिक सुरक्षा कर्भेजको अवस्था १७ प्रतिशत मात्रै थियो। 

आयोगका अनुसार सामाजिक सुरक्षाका लागि चालु आर्थिक वर्ष २०७९/८० मा सामाजिक सुरक्षा अन्तर्गत हुने खर्च दुई खर्ब ४९ अर्ब ८१ करोड रुपियाँ छ। यो रकम भनेको कुल राष्ट्रिय बजेटको १३।९ प्रतिशत हो। देशको कुल गार्हस्थ उत्पादन (जीडीपी) को ४।७ प्रतिशत रहेको छ। १५ औँ आवधिक सामाजिक सुरक्षा कर्भेजको अवस्था हेर्दा थोरै भए पनि दक्षिण एसियाली मुलुकुको तुलना गरेर हेर्दा बंगलादेश, श्रीलंकाबाहेक नेपाल अगाडि भएको अर्थविद्ले बताउँदै आएका छन्। 

१० वर्षअगाडि कुल बजेटको सात प्रतिशत सामाजिक सुरक्षामा खर्च भएकामा अहिले बढेर झन्डै १४ पुगेकाले यसलाई दिगो अर्थतन्त्रको क्षमता र आवश्यकताका आधारमा नगद वितरणमुखी नभएर सेवामुखी बनाइनुपर्ने कुरा उठ्दै आएको छ। 

चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रतिवेदनमा सामाजिक सुरक्षाको कर्भेज दिगो र शतप्रतिशतमा पुर्‍याउन योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक मलाई व्यापक विस्तार गर्नुपर्ने आवश्यकता औँल्याइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.