|

सिरहा : जिल्लाको नवराजपुर गाउँपालिकामा सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम प्रभावकारी बनेको छ। प्रसूति गृह (बर्थिङ सेन्टर) मा सुत्केरी गराउन उत्प्रेरित गर्ने उद्देश्यले सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम सञ्चालनमा ल्याएको नवराजपुर गाउँपालिका उपाध्यक्ष पुनमकुमारी यादवले बताइन्।

जनप्रतिनिधि सुत्केरीलाई भेट्न पोषिलो खानेकुरा, बच्चाका लागि कपडा र तीन हजार ५०० लिएर घरघर पग्ने गरेका छन्। ‘सुत्केरी खोज्दै हामी घर घर जाने गरेका छौँ।  घरमै पुगेर सुत्केरीलाई सेवा उपलब्ध गराउँदै आएका छौँ’, उनले भनिन्, ‘यसका लागि स्थानीय स्वास्थ्य स्वयंसेविकालाई परिचालन गरिएकाले सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम प्रभावकारीरूपमा सञ्चालन भइरहेको छ।’

नवराजपुर–३ फूलवरियाकी पुष्पा यादवले ‘सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम’ बच्चालाई कुपोषण हुनबाट कसरी जोगाउन सकिन्छ भन्ने जानकारी पनि प्राप्त हुने हुँदा कार्यक्रम उपलब्धिमूलक भएको बताइन्। नवराजपुर–१ देवीनगरकी गनिताकुमारी दासले कार्यक्रमबाट बच्चाका लागि कपडा र रकम पाएपछि खुशी लागेको सुनाइन्। 

स्वास्थ्यचौकी देवीनगरका प्रमुख सञ्जीव यादवले शिशु अस्पताल वा स्वास्थ्य संस्थाबाट प्राप्त जन्म प्रमाणपत्र वा जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि अधारमा सेवा उपलब्ध गराइरहेको जानकारी दिए। 

ग्रामीण भेगमा अझै पनि महिला घरमै सुत्केरी हुने गरेको पाइन्छ। यसका कारण शिशु मृत्युदर तथा पोषणसमबन्धी जानकारी अभावमा कुपोषित बच्चा जन्म हुने गरेको स्वास्थ्यकर्मी बताउँछन्। नवराजपुर गाउँपालिकाको  वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत सुत्केरीसँग उपाध्यक्ष कार्यक्रमका लागि आर्थिक वर्ष २०७९/८० का लगि १० लाख रुपैयाँ विनियोजन गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.