|

म्याग्दी : नीलगिरि खोलामा निर्माणाधीन दुईवटा जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेका छन्।

जिल्लाको अन्नपूर्ण गाउँपालिका– ४ नारच्याङस्थित नीलगिरि खोलामा ११० मेगावाट क्षमताका दुई वटा जलविद्युत आयोजना निर्माणको ८० प्रतिशत काम सकिएपछि अन्तिम चरणमा प्रवेश गरेका हुन्।

अन्नपूर्ण र नीलगिरि हिमालबाट बगेर आउने नीलगिरि खोलामा ३८ मेगावाट क्षमताको नीलगिरि पहिलो र ७१ मेगावाट क्षमताको नीलगिरि दोस्रो जलविद्युत आयोजना निर्माणाधीन छन्। २०७६ देखि शुरु भएको दुई वटै आयोजनाको प्रवर्धक कम्पनी नीलगिरि हाइड्रोपावरले संरचना निर्माण अन्तिम चरणमा पुगेको जनाएको छ।

नीलगिरि हाइड्रोपावरका इन्जिनियर रत्न बमजन तामाङले सुरुङ, विद्युतगृह, बाँध र प्रशारण लाईन निर्माणलाई पूर्णता दिन धमाधम काम भइरहेको जानकारी दिए। ‘दुवै आयोजनाको बाँधस्थल, सुरुङ खन्ने र विद्युत् गृह निर्माणको काम सकिएको छ,’ उनले भने ‘भौतिक संरचनालाई अन्तिम रूप दिनेसँगै इलोक्ट्रोमेकानिकलको काममा केन्द्रित भएका छौँ।’

नीलगिरि पहिलोको दुई हजार मिटर र दोस्रोको चार हजार २०० मिटर सुरुङ खन्ने काम सकिएर ढलान भइरहेको छ। पेनस्टक टनेल खन्ने काम सकिएर पहिलोको आठ सय मिटर र दोस्रोको १५ सय मिटर पेनस्टक पाइप जडानको काम थालिएको तामाङले जानकारी दिए। नीलगिरि पहिलोको विद्युत् गृहबाट निस्कने पानीलाई बाँध बनाएर नीलगिरि क्यासकेडको सुरुङमा हाल्न मिल्ने गरी संरचना निर्माण गरिएको छ। 

नीलगिरि पहिलोको हुमखोलामा बाँध र छोटेपामा विद्युतगृह निर्माण गरिएको छ। क्यासकेडको विद्युतगृह दोभानदेखि नीलगिरि पहिलोको बाँध हुमखोलासम्म अक्करे पहाड र विकट क्षेत्रमा दुई वर्ष लगाएर १४ किलोमिटर पहुँचमार्ग निर्माण गरिएको थियो। आगामी छ महिनाभित्रमा दुवै आयोजना एकसाथ सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको आयोजनाका इञ्जिनियर केशव वाग्लेले बताए।

‘हिमालको फेदीमा आयोजना निर्माण गर्नु हाम्रा सामु ठुलो चुनौती थियो,‘ उनले भने ‘सबै चुनौती र समस्यासँग जुधेर आयोजना निर्माण करिब अन्तिम चरणमा पुर्याउन सफल भएका छौँ।’

आयोजनामा हाल पाँच सय जना प्राविधिक जनशक्ति र मजदुर परिचालन भएका छन्। यी दुई आयोजना नारच्याङको दुर्गम भेगमा पर्छन्। कठिन भीरपहरा छिचोलेर आयोजनाको निर्माणस्थलसम्म पुग्न सडक निर्माण गरिएको छ। भौगोलिक विकटता, हिउँद याममा हिमपात हुँदा काम गर्न नसक्नु र कोरोना महामारी यो आयोजना निर्माणमा देखिएका चुनौती हुन्।

निजी क्षेत्रको लगानीबाट निर्माण गरिएको यो म्याग्दी जिल्लाकै ठुलो आयोजना हो। पहाडको खोचमा आयोजनाका संरचना निर्माण भएका छन्। करिब १६ अर्ब लागत अनुमान गरिएका दुवै आयोजना ‘रन अफ द रिभर’ प्रकृतिका हुन्।

नीलगिरि खोलाबाट उत्पादन भएको बिजुली २२० केभीए क्षमताको दाना सब स्टेसनबाट केन्द्रीय ग्रिडमा जोडिने छ। छोटेपा–दोबिल्ला हुँदै दाना सब–स्टेशन जोड्ने ८.५ किलोमिटर दूरीको २२० केभी क्षमताको प्रसारण लाइन निर्माणका लागि २४ मध्ये २३ वटा टावर निर्माण गरी तार तान्ने काम सकिएकोे छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.