|
फाइल फोटो

बर्दिबास : महोत्तरी जिल्लाको बर्दिबास नगरपालिकाको एउटै वडामा १५० बढी गाईगोरुमा ‘लम्पी स्किन रोग’ देखा परेको छ। 

बर्दिबास–१० खयरमारामा स्थानीयले पालेका गाईगोरुमा लम्पी स्किन रोग देखिएको स्थानीय पशुपालक कृष्णबहादुर थापाले बताए।

उनका अनुसार विगत १०–१५ दिनदेखि गाउँमा  रोगले समस्या हुँदै गएको र अहिलेसम्म १० पशु मरिसकेको छन्। केही दिनदेखि पशुको छालामा अचानक नयाँ खालको सङ्क्रमण देखिन थालेको, जीउभरि गिर्खा आउन थालेको, घाउजस्तो भएर पिप बग्न थालेको, उच्च ज्वरोलगायतका लक्षण देखिएको र अहिलेसम्म १० पशु मरिसकेको स्थानीय पशुपालक वीरेन्द्र थापाले जानकारी दिए।

बर्दिबास नगर प्रमुख प्रल्हदकुमार क्षेत्रीले खयरमाराका पशुमा लम्पी स्किन देखिएको र यसको रोकथाम र उपचारका लागि पशु चिकित्सकसँग परामर्श सहित आवश्यक औषधिको व्यवस्थापन गर्न लागेको बताए।

महोत्तरीमा रहेको १५ स्थानीय तहमध्ये अधिकांश स्थानीय तहमा लम्पी स्किन रोग फैलिएको जनाइएको छ।  जिल्लाभर यो रोगबाट अहिलेसम्म करिब २० गाईगोरु मरेका छन्।

लम्पी स्किन रोग जिल्लाभरि फैलिँदासमेत भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र महोत्तरीले चासो नदेखाएको गुनासो पशुपालकले गरेका छन्।

लम्पी स्किन सङ्क्रमित पशुको शरीरका भागमा गिर्खा आउने, घाउ हुने पाक्ने, पिप बग्ने, उच्च ज्वरो आउने लक्षण देखिएको छ भने लम्पी स्किन रोगले सबैभन्दा बढी दुधालु गाईलाई प्रभावित पार्ने गरेको जनाइएको छ। 

 पशुसेवा विज्ञ केन्द्रका सूचना अधिकारी सूर्यदेव यादवले रोग नियन्त्रणका लागि  आवश्यक प्रयास भइरहेको बताए।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.